काठमाडौँ, ५ साउन २०७८ ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयसँगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन थालिएको छ ।
पूर्वीय दर्शनका विभिन्न विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण गत वर्षको कोरोना महामारीदेखि नै शुरु गरिएको हो । पतञ्जली योग समितिको बाल संस्कारले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा बालबालिका जम्मा पारेर योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत पूर्वीय दर्शनमा आधारित ज्ञानसँगै चित्रकला, वक्तृत्वकला, वादविवाद, श्लोकान्ताक्षरीलगायत प्रतियोगिता गराइन्छ ।
बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० जनाभन्दा बढी बालबालिका जुम प्रविधिका माध्यमबाट सहभागी हुने गरेको समितिका संयोजक लोकनाथ खनालले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक दिन योग आशन गराइन्छ । योग आशनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क्रियाकलाप पनि तोकिएको छ । जसअनुसार आइतबार कविता, सोमबार योग आसन विशेष, मङ्गलबार वैदिक मन्त्र विशेष, बुधबार चित्रकला, शुक्रबार गीत र शनिबार नृत्य प्रस्तुत गरिन्छ । बिहीबार भने यसबाहेकका अन्य क्रियाकलाप गरिने तालिका बनाइएको छ ।
समितिका प्रशिक्षकले एक घण्टा प्रशिक्षण दिने यो कार्यक्रममा एक घण्टा भने बालबालिकाबीच आन्तरिक अन्तरक्रियासमेत हुने गरेको छ । जसबाट बालबालिकाले जनसम्पर्क गर्ने, निषेधाज्ञाका कारण घरबाट निस्कन नपाएपनि प्रविधिलाई उपयोग गर्दै दौँतरी उमेरकाहरुसँग कुराकानी गर्ने अवसर पाएका छन् । यसले बालबालिकालाई फुर्सदका बेलामा कुलतमा लाग्नबाट समेत जोगाएको छ ।
यो कार्यक्रम गतवर्ष असोजमा एक महिना चलाइएको थियो । दशैँका कारण रोकिएको कार्यक्रम बालबालिकाले नै खोजी गरेपछि मङ्सिर २१ गतेदेखि पुन: बेलुकी पाँच बजेदेखि छ बजेसम्म कार्यक्रमलाई निरन्तरता दिइएको हो । यो कार्यक्रममा सहभागी बालबालिकामा बिहान उठ्ने, पानी खाने, हिँडडुल गर्ने, योग अभ्यास गर्ने, बाआमासँग गर्ने व्यवहार परिवर्तन, बजारको भोजन कम प्रयोग, मोबाइल खेलाउने बानीमा कमी आएको लगायतका सकारात्मक परिवर्तन बालबालिकामा आएपछि अभिभावक पनि खुसी भएका छन् । बालबालिकाको रुचि र अभिभावकको पनि संस्कार सिकाउने चाहनाले कार्यक्रमलाई निरन्तरता दिइएको समिति संयोजक खनालले सुनाउनुभयो ।
कार्यक्रमलाई नयाँ स्वरुपमा निरन्तरता दिन चित्रकला प्रतियोगितालगायत विषयमा भर्चुअल माध्यमबाट नै प्रतियोगिता गरेर पुरस्कृत गरिने तयारीसमेत गरिएको जनाइएको छ । जुमबाट चार वर्षदेखि १४ वर्षसम्मका बालबालिका कार्यक्रममा जोडिने गरेका छन् ।
यिनै बालबालिकाकाबीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा ८५ जना बालबालिकाले भाग लिएका छन् । तीमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको संयोजक खनालले सुनाउनुभयो । पुरस्कृत हुनेमा सिजल पुन, बुद्ध गुरुङ, वाटिका, ओजस्वी, पेरिस पुरी, श्रुति भट्टराई, एनी गुरुङ, जेसिका पोखरेल, इशा र प्रिमोस शिल्पकार पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई मोबाइल रिचार्जको व्यवस्था गरिएको जनाइएको छ ।
बागलुङमा मदिरा पिउँदा चार जनाको मृत्यु, दुई गम्भीर- मदिरा पसल सञ्चालक प्रहरी नियन्त्रणमा
बागलुङ, ५ साउन २०७८ ।
विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।
मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।
मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि. पोखरेलले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुजन प्रेमी
बागलुङ, ५ साउन २०७८ ।
बागलुङको कुश्मिसेरामा कुकुर आतंक बढ्न थालेको छ । जैमिनी नगरपालिकाको केन्द्र समेत रहेको कुश्मिसेरा बजारमा वेवारिसे कुकुरहरुको आतंक बढ्न थालेको हो ।
डुलुवा कुकुरहरुले बच्चाहरुलाई देखे झम्टिने र राति हिँड्दा कुकुरका कारण समस्या परेको स्थानीय त्रिविक्रम शर्माले जानकारी दिनुभयो । मोटरसाइकललाई देखे पनि कुकुरले झम्टिने गरेकाले दुर्घटनाको जोखिम निम्तिन सक्ने उहाँको भनाई छ ।
कुश्मिसेराको जिपपार्क, तल्लोबजार आइएमई टोल, उपल्लोबजारमा बढि कुकुरको विगविगी देखिएको छ । गुडिरहेको सवारी साधन झम्टिन जाने, किसानहरुले लगाएको बालिनाली माड्ने, खेतबारीमा गएर कुकुरहरु लड्ने हुँदा कृषकहरुले समेत कुकुरबाट हैरानी खेप्नुपरेको शर्माको गुनासो छ ।
कुकुरका कारण दुर्घटनाको जोखिम बढेको र रेविज रोग समेत फैलिने डर भएकाले कुकुरलाई नियन्त्रण गर्नुपर्ने बजारवासीहरुको माग छ ।
यस्तै बरेङ बजारमा पनि वेवारिसे कुकुरको संख्या बढ्न थालेपछि जोखिम बढेको छ । मोटरसाइकललाई झम्टिने र बिच बाटोमा कुद्ने गर्दा जोखिम बढेको बरेङ बासीहरुको गुनासो छ ।
गत असार ३१ गते साँझ ७ बजे बरेङ बजारमा गुडिरहेकाे माेटरसाइकललाई कुकुरले झम्टिँदा दुर्घटना भएकाे थियाे ।
घरपालुवा कुकुरलाई पनि संरक्षण गरेर नराख्दा थप समस्या निम्तिएको प्रहरीले जनाएको छ । कुनै कुकुरहरुले टोकिहाले रेविज विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
मंगलबार गणेश भगवानकाे एक दर्शनले धनकाे अभाव टरेर जान्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।
वृष
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।
कर्कट
आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
सिंह
शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।
कन्या
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
तुला
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ ।
वृश्चिक
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।
धनु
मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
मकर
पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योग छ ।
कुम्भ
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
मीन
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि बन्नेछ ।
बागलुङ, ५ साउन २०७८ ।
बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।
आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।
करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पु-याएको थियो ।
“दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूलाठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ”, कार्कीले भन्नुभयो, “ठूलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।” करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।
अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो । बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । “खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौं, विकल्प पनि त छैन्”, कार्कीले भन्नुभयो ।
बागलुङ, ४ साउन २०७८ ।
बागलुङको जैमिनीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिका ५ विनामारेमा १४ जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
लक्षण देखिएकाहरुको परिक्षण गर्दा ५० प्रतिशतमा कोरोना पुष्टि भएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । उनिहरु सबै होम आइशोलेसनमा रहेका छन् ।
काठमाडौँ, ४ साउन २०७८ ।
सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।
साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले राससलाई जानकारी दिनुभयो ।
महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु. ५०० देखि रु. एक हजार ५०० सम्म कारबाही भइरहेको छ ।
एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु. पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताउनुभयो । शुक्रबार कारबाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।
बागलुङ, ४ साउन २०७८ ।
अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ ।
उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेशी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ । कोरोना महामारीको समयमा एक दर्जन अत्यावश्यक मुद्दा भर्चुअल माध्यमबाटै बहस भएर छिनोफानो भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार तथा सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।
“न्याय सम्पादन छिटोछरितो गराउन सकेमा मात्रै अन्यायमा परेकालाई न्यायको आभाष हुन्छ, अहिले न्यायालय क्रमशः प्रविधिमैत्री बन्दै गएका छन्, मिसिल स्क्यान गरेर कम्प्युटरमा राख्ने गरिएको छ”, सुवेदीले भन्नुभयो, “केही मुद्दा कोरोना महामारीका बीच कानून व्यवसायीले आफ्नो फर्मबाटै भर्चुअल माध्यमबाट बहस गरेर अदालतबाट न्यायाधीशले फैसलासमेत गर्नुभयो, मुद्दाका पक्ष विपक्षले फर्मबाटै फैसला सुने ।” रजिष्ट्रार सुवेदीका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाऊँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको छ ।
अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेशी सूची, साप्ताहिक पेशी सूची, पूरक पेशी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राखिएको छ । अदालतले जनतालाई सरल तरिकाले न्यायसम्पादन गर्नका लागि आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।
मुद्दाको विवरण सफ्टवयरमा भर्ना साथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटको विषयमा अन्तक्र्रिया गरिएको न्यायाधीश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेशीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ ।
“न्यायालयप्रतिको परम्परागत जनधारणा बदल्न आवश्यक ठानेका छौँ, पहिलाजस्तो एउटा मुद्दा वर्षौंसम्म फैसला नहुने भन्ने हुँदैन, हाम्रो अदालतका दुई वर्ष नाघेको मुद्दानै शून्य अवस्थामा छ”, न्यायाधीश जोशीले भन्नुभयो, “न्यायालयसमेत विस्तारै जनमुखी र सेवा प्रवाहमा चुस्तता दिन प्रयास गरिरहेका छन्, जसलाई प्रविधिले सघाउ पु¥याएको छ ।” उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । अदालतमा पाँच हजार १६५ मिसिल कम्प्युटरमा इन्ट्री गरिएको छ । यस्तै ७३८ वटा स्क्यान गरिएका मिसिल राखिएको छ । डिजिटल अभिलेख राख्न अन्य अदालतबाट मिसिल झिकाउँना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीच समेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ ।
उच्च अदालत पोखरा बागलुङ इजलासले आर्थिक वर्ष २०७७/०७८ मा १७७ मुद्दा फछ्र्योट गरेको छ । विसं २०७७/०७८ मा जिम्मेवारी सरेर आएका १४९ मुद्दा र नयाँ दर्ता भएका २०३ मुद्दा गरी ३५२ मुद्दामा जम्मा १७७ मुद्दा फछ्र्योट भएको हो । कोरोनाका कारण अदालतले लक्ष्यअनुरूपको मुद्दा फछ्र्योट गर्न नसकेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ । गत आवमा ५०.२९ मुद्दा फछ्र्योट गरेको छ भने १७५ मुद्दा बाँकी छ । उक्त मुद्दा आव २०७८/७९ मा जिम्मेवारी सरेको छ । अदालतका सेवाग्राहीलाई मद्दत गर्नका लागि ‘के म सहयोग गर्न सक्छु’ भनेर ज्याकेटमा लेखिएको एक जना सहयोगीसमेत खटाइएको छ ।
बागलुङ, ३ साउन २०७८ ।
४ महिनाको भृण जन्माएर हत्या गरेको आरोपमा राङ्खानीकी एक महिला पक्राउ परेकी छन् । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी सिप्रिङमा भृण हत्या गरी गाडेको आरोपमा एक महिलालाई पक्राउ गरिएको हो ।
पुरुषजस्तो देखिने ४ महिनाको भृणलाई रातो टालोमा बेरेर माटोमुनी गाडिएको अवस्थामा फेला पारेपछि प्रहरीले २६ बर्षीय महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी सहायक निरीक्षक अमृत कुँवरको कमाण्डमा गएको पाँच जनाको प्रहरी टोलीले ती महिलाको घर नजिकै भृण फेला पारेको थियो । तर बच्चा कसले गाडेको भन्ने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकी महिलाको श्रीमान विदेशमा रहेको र अवैध सम्बन्धबाट बच्चा बसेपछि उनले औषधि खाएर ४ महिनाको गर्भलाई जन्म दिएर घर देखि करिव ५० मिटरको दुरीमा रहेको आफ्नै बारीमा गाडेको हुनसक्ने भन्दै े प्रहरीमा खबर गरिएकोे बुझिएको छ ।
महिलालाई शनिवार राति जिल्ला प्रहरी कार्यलय बागलुङ लगिएको छ भने भृणबारे थप अनुसन्धान गर्न धौलागिरी अस्पताल बागलुङमा मा राखिएको छ । केहि दिनदेखि अस्वभाविक व्यवहार देखाएकी ती महिलालाई गाउँलेहरुले निगरानी गरिरहेका थिए ।
नाेट: घटनाको अनुसन्धान भैरहेको र पुष्टि भै नसकेकाले हामीले महिलाको व्यक्तिगत जीवनको अधिकार प्रयोग गर्दै नाम गोप्य राखेका छौँ । जिल्लाखबर डटकम
पाँचथर, ३ साउन २०७८ ।
कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।
लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेको प्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अठसठ्ठी दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारी साधन सञ्चालनमा कडाइ हुन सकेन । फलतः पाँचथरमा कोरोना सङ्क्रमण दर कम हुनसकेको छैन ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार शुक्रबार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखियो । बिहीबार २६ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै बुधबार ४९ जनाको एन्टिजेन परीक्षणमा २६, मङ्गलबार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१, सोमबार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २१, आइतबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसरी समग्रमा यस हप्ता ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर ३९.६२ प्रतिशत देखिन्छ । समग्र मुलुकभरिमा सङ्क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाख १८ गतेदेखि गत शुक्रबारसम्म छ हजार ८९७ वटा एन्टिजेन र एक हजार ११० वटा पिसिआर गरी कुल आठ हजार सातवटा परीक्षण गरिएको छ । सोमध्ये कुल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ ।
जिल्लामा सङ्क्रमणको अवस्था चुनौतीपूर्ण रहे पनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ । यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ । मानवीय चहलपहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुला छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि मध्याह्न १ बजेसम्म भीडभाड हुने स्थानबाहेक अन्य सेवा सञ्चालन गर्ने भनिए पनि त्यसको पालना हुनसकेको छैन । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्क्रमणदर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्क्रमण झनै फैलने खतरा देखिएको हो ।
निषेधाज्ञा खुकुलो हुनेबित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाड्ने तथा सङ्क्रमण हटेको बुझ्ने प्रवृत्तिले समस्या बढाउँदै लगेको हो । लापरवाहीको परिणाम व्यवहारमा देखिन थालिसकेको छ । तमोर तटीय क्षेत्रमा पर्ने जिल्लाको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाको तीनघरे र निगाले टोलमा बिहीबार र शुक्रबार मात्रै ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्यत्रजस्तै यहाँ पनि टोलका अधिकांश घरमा सङ्क्रमित फेला पर्न थालेका हुन् । जिल्लाको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गएका चार दिनमा ३० जनामा तथा हिलिहाङ–६ भारपामा शनिबार मात्रै छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
“सङ्क्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्लावासीको सबैभन्दा ठूलो भूमिका छ”, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरिदिए मात्रै सहज हुन्छ ।” उपचारात्मक व्यवस्थालाई संवद्र्धन गर्न सरकारी तथा गैरसरकारी निकायले भरमग्दुर प्रयत्न गर्दै आएको उल्लेख गर्दै प्रजिअ ढकालले नागरिकस्तरबाट समेत महामारी नियन्त्रणको अभियानमा उत्तिकै सहयोग हुनुपर्ने बताउनुभयो । निषेधज्ञा खुकुलो भए पनि सङ्क्रमण भने नघटेको कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नादरमुनि सुवेदी क्वारेन्टिन र आइसोलेशनको उपयुक्त प्रबन्ध नहुँदा सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण भएको बताउनुहुन्छ । “सङ्क्रमितलाई होमआइसोलेशनमा राख्ने व्यवस्था प्रभावकारी नहुँदा सङ्क्रमण फैलन मद्दत गरेको पाइन्छ”, शुक्रबार आयोजित एक अन्तक्र्रियामा सुवेदीले भन्नुभयो, “कोभिड–१९ को पहिलो लहरमा जस्तै क्वारेन्टिनको प्रबन्ध गर्न सकिएको भए गाउँगाउँमा सङ्क्रमण फैलने थिएन ।” आर्थिक वर्षको समाप्तिमा बढेको मानवीय गतिविधिले सङ्क्रमणको फैलावटमा झनै वृद्धि गर्ने सरोकारवालाको चिन्ता छ ।