सकियो कोरोना बीमा अवधि: सरकारले सात अर्ब दिन बाँकी, बीमितले लामाे समय पैसा पाएनन्
राधा चालिसे
काठमाडौँ, ३ साउन २०७८ ।
२०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ ।
कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो । आर्थिक वर्ष २०७७÷७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेर प्रतिव्यक्ति ५० हजार र एक लाख गरी दुई किसिमको बीमा लेखमार्फत बीमा गर्न सुरु गरेको थियो ।
यसरी गरिएको बीमाको दायित्व बेहोर्न एक अर्ब रुपियाँसम्मको दायित्व बीमकले, एक अर्बदेखि दुई अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले, दुई अर्बदेखि साढे दुई अर्ब रुपियाँसम्म बीमकको महाविपत्ति पुलबाट बेहोर्ने व्यवस्था गरेको थियो । त्यस्तै साढे दुई अर्बदेखि साढे तीन अर्ब रुपियाँसम्म बीमा समितिले र साढे तीन अर्ब रुपियाँभन्दा माथिको हकमा नेपाल सरकारले बेहोर्ने उल्लेख छ ।
हालसम्म बीमक, नेपाल पुनर्बीमा कम्पनी, बीमकको महाविपत्ति पुल र बीमा समितिले बेहोर्ने बीमा दाबी रकमको दायित्व पूरा भइसकेको र नेपाल सरकारको दायित्व बाँकी रहेको बीमा समितिले जनाएको छ । उक्त दायित्व बेहोर्न समितिले सरकारलाई पटकपटक अनुरोध गर्दै आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सरकारले सात अर्ब रुपियाँभन्दा बढी भुक्तान गर्न बाँकी छ । उहाँ भन्नुहुन्छ, “हामीले सरकारलाई पटकपटक अनुुरोध गरेका छौँ । भुक्तानीको प्रक्रियामा रहेको छ । केही दिनमा भुक्तानी होला । ”
बीमा गर्न अनुदान उपलब्ध गराउँदा सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने तर सरकारी कर्मचारीको भने शतप्रतिशत बीमा शुल्क अनुदान सरकारले नै उपलब्ध गराउने कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख गरिएको थियो ।
बीमा समितिले २०७७ चैत ३० गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९१ हजार ६७३ जनाको बीमा दाबी भुक्तानीको फाइल परीक्षण पूरा भएको छ । त्यसमध्ये ६० हजार ५८७ जनाले पाँच अर्ब ८५ करोड १५ लाख रुपियाँ प्राप्त गरिसकेका छन् ।
चैत पछाडिको विवरण भने समितिले सार्वजनिक गर्न सकेको छैन । शनिबारको तथ्याङ्कअनुसार नेपालमा २५ हजार ९२५ कोरोनाका सङ्क्रमित देखिएका छन् भने नौ हजार ५२७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै छ लाख ३० हजार ४०७ जना कोरोनाका बिरामी निको भएका छन् । गाेरखापत्र अनलाइनबाट
सुजन प्रेमी
बागलुङ, ३ साउन २०७८ ।
बागलुङकाे कुश्मिसेरा बजारको पिच सडकको काम समयमा नसकिँदा समस्या भएको छ । जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा बर्खा नलाग्दै गर्नुपर्ने काम ढिलाई हुँदा ओहोरदोहोरमा समस्या परेको हो ।
असार मसान्तसम्म काम सक्नेगरी बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का लिएको कुश्मिसेरा उपल्लोबजारको सडक कालोपत्रे नहुँदा झन् हिलाम्य बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
बजार वारपार गर्नै नसकिने गरी हिलाम्य सडकका कारण यो बर्खा पनि उपल्लो बजारवासी समस्यामा परेको उनिहरुको गुनासो छ ।
ठेकेदार कम्पनीले समयमा काम नसकेकाले सर्त सहित तीन महिना म्याद थप्ने तयारी भैरहेको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।
केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेपनि समयमा काम सम्पन्न नहुँदा म्याद थप्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
“५० प्रतिशत काम सम्पन्न भैसकेको छ, ठेकेदारले निरन्तर काम गरे धेरै समय लाग्दैन” उहाँले जिल्लाखबर डटकमसँग भन्नुभयो “ठेकेदार कम्पनीले पुरा भुक्तानी पाएको छैन, असोज मसान्तसम्म काम सक्नेगरी ठेकेदारसँग म्याद थप गर्नेछौँ”
२७ लाख भुक्तानी लगेको ठेकेदार कम्पनीले असोजससम्मा काम सम्पन्न गर्नेगरी म्याद थप गर्न आग्रह गरेको छ । कोरोना महामारी र बजारमा केहि समस्याका कारण कार्य सम्पन्न गर्न ठिलाई भएको भन्दै कम्पनीले तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको ईन्जिनियर सापकोटाले बताउनुभयो ।
अहिले बजार क्षेत्रमा पानी पर्दा हिलाम्य हुने गरेका कारण व्यवसायमा समेत प्रभाव परेको व्यापारीहरुको गुनासो छ । ठेकेदार कम्पनीले नालीको काम सम्पन्न गरिसकेको छ भने हिलो पन्छाएर माटो बिछ्याएको छ तर उक्त माटो पनि कतिपय ठाउँमा पानी परेपछि हिलाम्य हुँदा समस्या भएको छ ।
१८ सय भन्दा धेरैमा काेराेना संक्रमणः२१ सय भन्दा धेरै निकाे भए,२१ जनाकाे ज्यान गयाे
काठमाडौं, २ साउन २०७८ ।
नेपालमा थप १८ सय भन्दा धेरैमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । देशभरीका प्रयाेगशालामा कुल १० हजार ६६ नमुना मध्ये ६ हजार ८ सय ५८ नमुनाकाे पीसीआर परीक्षणमा १ हजार ३ सय १० र ३ हजार २ सय ८ नमुनाकाे एन्टिजेन परीक्षणमा ५ सय ६५ गरी कुल १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा २१ सय भन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् । शनिबार २ हजार १ सय ६४ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका मन्त्रालयले जनाएकाे छ । याेसँगै काेराेना संक्रमण निकाे हुनेकाे कुलसंख्या ६ लाख ३० हजार ७ सय ४ पुगेकाे छ ।
यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । शनिबार मात्रै देशभर २१ जनाको मृत्यु भएकाे छ । याेसँगै मृतकको संख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, २ साउन २०७८ ।
यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो ।
विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लम्जुङको दोर्दी खोलामा आएको बाढी तथा पहिराका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
यस्तै २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दी खोलामा समेत क्षति पुगेको छ । विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका कूल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ ।
यस्तै कलङ्गा खोला जलविद्युत् आयोजनामा समेत बाढीका कारण क्षति पुगेको छ । सो आयोजनामा समेत गत जेठ ३१ गते र असार १ गतेको बाढी पहिराले क्षति पु¥याएको हो । सो आयोजनाको क्षमता १५.३३ मेगावाट छ ।
विभागका अनुसार बाढी, पहिराका कारण २४ मेगावाट क्षमताको मादमे खोला, ७.२७ मेगावाट क्षमताको याम्लिङ खोला र ४४ मेगावाट क्षमताको सुपर मादीमा समेत ठूलो क्षति पुगेको छ । सो आयोजनाको निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ ।
यस्तै बाँधस्थल तथा कफर ड्याममा समेत क्षति पुगेको छ । बाढीको पानी निर्माणाधीन विद्युत् गृहमा पसेको थियो भने प्रसारण लाइनमा सामान्य क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले बाढी, पहिराका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पाल्पा, २ साउन २०७८ ।
पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको ज्यान गएकाे छ ।
कच्ची सडकमा फसेको ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको हाे । तिनाउ गाउँपालिका-६ डुम्रेको कच्ची सडकमा फसेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको छ ।
पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । उक्त ट्याक्टर डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा हिलोमा फसेको थियो ।
ट्याक्टर फसेपछि लु १ क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-१ का २० वर्षीय सरोज बुढा घाइते हुनुभएकाे छ ।
घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ ।
१८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने,साउन १५ सम्म ३२ लाख भेरोसेल खाेप नेपाल आइसक्ने
काठमाडौं, २ साउन २०७८ ।
नेपालमा १८ वर्षमाथिका सबै नागरीकलाई कोरोना खोप लगाइने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको हाे । पहिलाे डाेज लगाएकाहरूलाई छिटै दाेस्राे मात्रा दिइने बताउँदै पहिलाे डाेज लगाएका तथा नलगाएका सबैले संयमित भएर खाेपकाे प्रतिक्षा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले अनुराेध गर्नु भएकाे छ ।
खाेप अभियानलाई पुर्लाणता दिनकालागि खोप व्यवस्थापन भइरहेको जनाउँदै यही साउन १५ गतेसम्म ३२ लाख डाेज भेरोसेल खोप नेपाल आइसक्नेछ जानकारी दिनुभयाे । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो ।
नन डिस्क्लोजेबल एग्रिमेन्ट अनुसार ८ लाख डोज खोप यस अघिनै नेपाल आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । अब सबैले खोप लगाउन पाउनुका साथै कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति हेर्नुहाेस् ।
मनसुनी वायुको प्रभावः साेमबार सम्म देशभर भारी वर्षा हुने,आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडाैं, २ साउन २०७८ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनी वायुको प्रभावका कारण साेमबार सम्म देशभर भारी वर्षाकाे सम्भावना देखिएकाे हाे । हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
शनिबार अर्थात आज दिउँसो,देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै राती, देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार दिउँसो,देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना देखिएकाे छ ।
यस्तै सोमबार दिउँसो, देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । रातीमा भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ ।
आगामी २४ घण्टामा सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।
शनिबार संकटाकाे एक दर्शनले आइपरेका कयाैँ संकटहरू हटेर जान्छ, दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।
वृष
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मिथुन
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
कर्कट
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
सिंह
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
कन्या
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
तुला
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
मकर
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।
मीन
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
बागलुङ, १ साउन २०७८ ।
जैमिनीमा शुक्रबार ६ सय ५ जनालाई भेरोसेल खोप लगाइएको छ । बागलुङको जैमिनी नगरपालिकाले शुक्रबार ६ सय ५ जनालाई कोरोना विरुद्धको खोप लगाएको हो ।
जैमिनी नगरपालिकाको सर्कुवा, अर्जेवा र राङखानी स्वास्थ्य चौकी बाहेक सबै स्वास्थ्य चोकीबाट ३ सय २ जना महिला र ३ सय ३ जना पुरुषलाई खोप लगाइएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
शुक्रबार कुश्मिसेरामा १ सय १५, दमेकमा २४, नेपानेमा १ सय, विनामारेमा १०, जैदीमा ५४, छिस्तीमा २ सय ५२ र पैञ्युथन्थापमा ५० जनाले खोप लगाएको उहाँको भनाई छ ।
बिहिबारबाट खोप लगाउन सुरु गरिएको भएपनि नेपाने र छिस्तीमा शुक्रबारबाट मात्र खोप लगाउन सुरु भएको छ । बिहिबार नगरपालिका भरी १ हजार ५ सय २८ जनालाई भेरोसेल खोप लगाइएको थियो ।
नेपाल सरकारले प्राथमिकतामा राखेको शिक्षक, विद्यालयका कर्मचारी, चालक, सहचालक, विदेश जाने तयारीका नागरिकहरु र ५५ बर्ष माथिका नागरिकहरुलाई खोप लगाइएको संयोजक आचार्यले बताउनुभयो ।
यस अघि प्राथमिकतामा परेर खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाइएको नगरपालिकाले जनाएको छ । केहि वडाहरुमा खोप सेवा शनिवार पनि निरन्तर हुनेछ ।
बागलुङ, १ साउन २०७८ ।
बागलुङको राङ्खानीका कृषकहरुलाई भैँसी प्रवर्धन कार्यक्रम बापतको अनुदान रकम वितरण गरिएको छ । जैमिनी नगरपालिका १० राङ्खानी स्थित साना किसान कृषि सहकारी संस्थाको सहभागितामा सञ्चालित भैसी प्रवर्धन कार्यक्रम बापतको अनुदान रकम वितरण गरिएको हो ।
जैमिनी नगरपालिका पशु सेवा शाखाको आर्थिक बर्ष २०७७।७८ को शशर्त अनुदान कार्यक्रम अन्तरगत भैँसी प्रवर्धन कार्यक्रममा सहभागी भै उन्नत जातका राँगा तथा भैँसी खरिद गर्ने ५२ जना कृषकलाई अनुदान रकम प्रदान गरिएको संस्थाका प्रवन्धक जमुना थापा श्रीषले जानकारी दिनुभयो ।
भैँसी खरिद गरेका ५० जना कृषकहरुलार्य प्रति कृषक ३४ हजार १ सय ४० रुपैयाँका दरले जम्मा १७ लाख ७ हजार र राँगो खरिद गर्ने २ जना कृषकलाई प्रति कृषक ६५ हजार रुपैयाँका दरले १ लाख ३० हजार रुपैयाँ वितरण गरिएको संस्थाले जनाएको छ ।
एक कार्यक्रमका विच जम्मा १८ लाख ३७ हजार रुपैयाँ कृषकहरुलाई प्रदान गरिएको अध्यक्ष नर्वता श्रीषले जानकारी दिनुभयो । संस्थाले अवका दिनहरुमा दुध संकलन र विक्री गर्ने योजना बनाएको छ ।