घामपानी दुबैमा नारायणगढ-मुग्लिन सडक जोखिमः जीवन धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता
चितवन, ३० असार २०७८ ।
पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन ।
धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । यसवर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुबैमा पहिरो खसेर दुःख दिएको छ । वर्षासँगै सेती दोभान र कालीखोलामा नयाँ पहिरो झरेका हुन भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन् ।
सेतीदोभान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ । विगत ६ वर्ष देखि सो सडक हेर्दै आउन भएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटरमाथिसम्म पहाड छ । सोही पहाडबाट पहिरो झर्ने गरेको छ ।
माथिल्लो ६ मिटर लगभग ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्र्यान र चट्टान रहेको छ । बीचमा पानीको मुहान भएको उहाँले जानकारी दिनुभयो ।
चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ । त्यो भन्दा माथिबाट पहिरो झरेको उहाँले जानकारी दिनुभयो । त्यहाँ फुटेका चट्टान थुप्रिएका छन् । पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ ।
कालीखोला नजिकै पहिलो पटक पहिरो खसेको हो । पहिरो रोकिएका सामग्रीसहित रुख बिरुवा पहिरोसँगै झरेका हुन । त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ ।
नयाँ पहिरो झरेका दुबै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ । पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुख्खा पहिरो झर्ने गरेको छ । खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिँदा पहिरो खस्ने गरेको छ ।
जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो । यो सडक हुँदै १० हजार हाराहारी सवारीसाधन दैनिक गुड्ने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रुपमा यसलाई लिइन्छ ।
अर्थमन्त्री शर्माद्वारा काेराेना विरूद्धकाे खोप खरिदका लागि पाँच अर्बको सहमति प्रदान
काठमाडौँ, ३० असार २०७८ ।
सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । खोपको पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित भएको छ । मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गर्नुभएको छ । जसअन्तर्गत सङ्घीय अस्पतालका लागि रु. ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रु. ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।
सरकारी तथा निजी अस्पतालमा एचडियू, भेन्टिलेटर, आइसियूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि सङ्घीय तथा निजी अस्पताललाई रु. ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रु. ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो ।
पदवाहालीपछि उहाँले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा राखेको छ । गरीब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । पदवहाली अघि अर्थमन्त्री शर्माले पार्टी मुख्यालय पेरिसडाँडास्थित शहीदस्तम्भमा पुगेर शहीदप्रति माल्र्यार्पण गर्नुभएको थियो ।
म्याग्दी, ३० असार २०७८ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताउनुभयो ।
“आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”, उहाँले भन्नुभयो, “बर्खामा पानी पर्दा भवनभित्रै छाता ओढेर सेवा दिने गरेका छौँ ।” भवन अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।
स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । “छानोबाट पानी चुहिन्छ, प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिङ्गो स्वास्थ्यचौकी दुईवटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको छ”, जनस्वास्थ्य निरीक्षक शाहले भन्नुभयो ।
एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् । स्वास्थ्यचौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव गरिएको बताउनुभयो ।
स्थानीयवासी पृथीलाल खत्रीको परिवारले आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । यसअघि तीन रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप पाँच रोपनी उपलब्ध गराएको हो । नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र सङ्घ सरकारका निकायमा प्रस्ताव गरिने बताउनुभयो ।
मन्त्रिपरिषद्काे पहिलाे बैठकको निर्णय: सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने
काठमाडौँ, ३० असार २०७८ ।
सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताका रुपमा मन्त्री कार्कीलाई तोकेको छ ।
बरेङमा ३१ गते सार्वजनिक सुनुवाई: चालु बर्षकाे कार्यक्रम समिक्षा र आगामी बर्षकाे सार्वजनिक हुने
बागलुङ, २९ असार २०७८ ।
बागलुङको बरेङ गाउँपालिकाले आगामी ३१ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । पालिकाले चालु आर्थिक बर्षको सम्पादित निति बजेट तथा कार्यक्रमहरुको बार्षिक समिक्षा र आगामी आर्थिक बर्षको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सहित सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
आगामी श्रावण १ बाट नयाँ बजेट, योजना तथा कार्यक्रम लागू गर्नु पर्ने र सर्वसाधारणलाई जानकारी गराउनु पर्ने अनिवार्य दायित्व भएकाले कार्यक्रम गर्न लागिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । “जनतालाई सूचना दिनु हाम्रो दायित्व हो” जिल्लाखबर डटकम सँग अधिकृत थापाले भन्नुभयो “पालिकाका गतिविधिहरु जनताले थाहा पाउनुपर्छ, टिप्पणी गर्ने र सुझाव दिने काम जनताको हो ।”
बरेङ गाउँपालिकाले एक सूचना जारी गर्दै असार ३१ गते बिहिबार बिहान १० बजे गाउँपालिकाको सभाहलमा कार्यक्रम गर्ने जानकारी गराएको छ । सोहि कार्यक्रममा बरेङ गाउँपालिका भित्र रहेका संघ संस्थाहरुले पनि प्रतिवेदन पेश गर्ने सूचनामा जनाइएको छ ।
सार्वजनिक निकायले गरेका काम कारवाहीहरु अनिवार्य जनतालाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान भएपनि बागलुङा कतिपय पालिकाहरुले सार्वजनिक सुनुवाई गर्न सकेका छैनन् ।
काठमाडौँ, २९ असार २०७८ ।
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो । आर्थिक वर्ष २०५१-०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल पश्चात् पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो ।
सो बैठकमा नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव हुँदा पक्षमा ७४ र विपक्षमा ८६ मत परी अस्वीकृत भएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा दिनुका साथै नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा विघटन गरी विसं २०५१ कात्तिक २७ गते आमनिर्वाचनका लागि मिति तोक्न सिफारिस भएबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो ।
विसं २०५१ मङ्सीर १३ गते तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेता मनमोहन अधिकारी सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । विकसित राजनीतिक घटनाक्रमसँगै विसं २०५२ जेठ २६ गते प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजासमक्ष सिफारिस गरेपछि जेठ ३० गते प्रतिनिधिसभा विघटन भएको थियो । तर सर्वोच्च अदालतबाट विसं २०५२ भदौ १२ गते विघटनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो ।
नेपालमा तेस्रोपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५ औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा पुनः विघटन गरी विसं २०५६ वैशाख २० गते निर्वाचनको मिति तोक्ने सिफारिस गर्नुभएको थियो । सो सिफारिसअनुसार तत्कालीन राजाबाट सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।
त्यस्तै विसं २०५४ पुस २४ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा वीरेन्द्र शाहलाई सिफारिस गर्नुभएको थियो । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय माग्दा सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो । तसर्थ प्रतिनिधि सभा विघटनको सिफारिस भयो तर कार्यान्वयन भएन ।
चौथौपटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२ औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्नुभएको भयो । निर्वाचनको लागि मिति तोक्न सिफारिस गरेबमोजिम सोही दिन प्रतिनिधिसभा विघटन समेत भएको थियो । विघटन भएको सो प्रतिनिधि सभा जनआन्दोलनको बलले तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विसं २०६३ वैशाख ११ गते राति ११ बजे पुनःस्थापना भई २०६३ साल १५ गते बैठक बस्ने गरी मितिसमेत तोकिएको थियो ।
पाँचौँ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिससहित नेपालको संविधानबमोजिम र संसदीय प्रणालीको आधारभूत मर्म एवं अभ्यास बमोजिम भन्दै २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरियोस् भनी सिफारिस गर्नुभएको थियो ।
सो सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति समेत तोकिनु भएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि विघटनलाई असंबैधानिक कदम भन्दै २०७७ साल फागुन ११ गते पुनःस्थापना गर्ने फैसला गरेको थियो । फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको थियो । अदालतको फैसलापछि फागुन २३ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक बसेको थियो ।
छैटौ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते पुनः प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । सोहीबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्नु भएको थियो ।
सो विघटनका विरुद्धमा परेका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्च अदालतले आज २८ गते संविधानका मूल्य र मान्यता अनुकूल नभएको ठहर गर्दै विघटनको कदमलाई बदर गरिदिएको छ । साथै अदालतले दुईदिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश समेत जारी गरेको छ भने आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउन भनेको छ ।
काठमाडौँ, २८ असार २०७८ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजारभन्दा बढी आवेदकको हात खाली भएका छन् ।
कम्पनीले रु. तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
काठमाडौँ, २८ असार २०७८ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।
अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउनसमेत भनेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।
गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।
सुजन प्रेमी
बागलुङ, २८ असार २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले बााँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि बाँदर नियन्त्रण गर्न भन्दै ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
कृषि र पशु सेवा कार्यक्रमको लागि १ करोड ३४ लाख रुपैयाँ छुट्याएको नगरपालिकाले ७५ लाख कृषि र ५९ लाख पशु कार्यक्रमको लागि विनियोजन भएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले जानकारी दिनुभयो । नगरपालिकाको प्रमुख आर्थिक उपार्जनको श्रोत मानिएको कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले कृषि पशु प्रोफाइल तयार गर्नको लागि २ लाख रुपैयाँ छुट्याएको छ ।
चालु बर्षदेखि सुरु भएको नगर प्रमुख कृषि र पशु परियोजना प्रभावकारी भएकाले आगामी आर्थिक बर्षका लागि पनि निरन्तरता दिइएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले नगर प्रमुख कृषि परियोजना कार्यक्रमको लागि ६ लाख रुपैयाँ विनियोजन गरेको छ जसमा सोहि कार्यक्रमको फलोअप २ भन्दै अर्को २ लाख रुपैयाँ थप गरिएको छ । यो सँगै कृषि परियोजनाको लागि ८ लाख रुपैयाँ बजेट छुट्टिएको छ ।
यस्तै नगर प्रमुख पशु परियोजनाको लागि १८ लाख रुपैयाँ छुट्याइएको छ । यहि कार्यक्रमको फलोअप २ भन्दै दमेक र विनामारेका लागि थप ३ लाख विनियोजन भएको छ ।
जैमिनी नगरपालिकाले कृषि प्रयोगशाला र मोडेल फर्मको अवधारणा ल्याएर बजेट छुट्याएको छ । यसको लागि ३ लाख रुपैयाँ विनियोजन भएको जैमिनी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले युवाहरुलाई कृषि कर्ममा आकर्षित गर्न व्यवसायिक स सामुहिक कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याएको छ ।
कार्यक्रमकाे प्रत्यक्ष प्रशारण हेर्नुहाेस् ।
जैमिनीकाे बजेट: जैमिनीका १३ वटा दिगो सडक कुन कुन हुन् ? कति छुटियो बजेट ? हेर्नुहोस्
सुजन प्रेमी
बागलुङ, २८ असार २०७८ ।
बागलुङकाे जैमिनी नगरपालिकाले दिगो सडक भनेर नगरपालिका भरीका १३ वटा सडकलाई तोकेको छ । नगरपालिकाले १० वटै वडाका १३ वटा सडकलाई दिगो सडकको रुपमा प्राथमिकतामा पारेको हो ।
जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि दिगो सडकको विकास गर्न नगरपालिकाले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले जानकारी दिनुभयो । नवौं नगरसभाको तेस्रो बैठकमा पेस भएको बजेट तथा कार्यक्रममा प्रत्येक सडकका लागि १० लाख रुपैयाँको दरले बजेट व्यवस्था गरिएको छ ।
दिगो सडक अन्तरगत कुश्मिसेरा बजारको उपल्लो छेउदेखि फेदी हुँदै बागलुङ नगरपालिका जोड्ने सडक, दुर्लेवेसी विराउने सुन्तलाचौर पोखरी ३ नं वडाको सिमानासम्मको सडक, वडा नं ३ को सिमाना देखि तागा नेपाने हुँदै गाजादह जाने सडक, कुश्मिसेरा मोटरेवल पुलदेखि मौलाछ सर्कुवा विहारथला सडक र निरिङ्गे कोलडाँडा चनौटे कुश्मिसेरा सडक परेका छन् ।
यस्तै दिगो सडकको रुपमा रहेको कालिगण्डकी कोरिडोर देखि चोखेक वडा नं ६ को सिमानासम्मको सडक, कालिगण्डकी कोरिडोर ढाव सतिढुङ्गा चोखेक सिंगेपोखरी वडा नं ७ को सिमानासम्म सडक स्तरोन्नति गर्नको लागि पनि बजेट छुट्यायएको छ । यो सडकमा प्रदेश सरकारको योजनामा दोहोरो नपर्ने गरी योजना बनाइनेछ ।
दिगो सडक भनि विकास गरिएको सडक अन्तरगत कोरिडोर बाओ धुल्लुनेटा बिहारथला सडक स्तरोन्नति, भुनिया ढाव वडा कार्यलय चाउके बारी मेल पोखरा खाल्टा नाका निर्माण तथा स्तरोन्नति, धुस वडा कार्यलय नेपाने केवै सडक निर्माण, जाडी भानेवन पैञ्युँ ध्युर सहराते सडक, भान्सेडाँडा बिहारथला डाँडाखानी कालाखेत सडक र पाही ओख्ले चिलाउनेखर्क जौवारीखोला जाने सडकको लागि बजेट विनाियोजन भएको छ ।
सबै दिगो सडकका लागि १०÷१० लाखको दरले बजेट छुट्याएको नगरपालिकाले बाहृै महिना चल्नेगरी १३ वटा सडकलाई दिगो सडकको रुपमा लिएर स्तरोन्नति तथा निर्माण गरिरहेको छ ।
कार्यक्रमकाे प्रत्यक्ष प्रशारण हेर्नुहाेस् ।