जैमिनीको बजेट बाँडफाँड: १३ वटा दिगो सडक प्राथमिकतामा, बजे सहित ऐन सुझाव सहित पारित
सुजन प्रेमी
बागलुङ, २७ असार २०७८ ।
जैमिनी नगरपालिकाको नवौँ नगरसभाको तेश्रो बैठक आइतबार सम्पन्न भएको छ । असार १० गते प्रस्तुत गरिएको बजेटको सिलिङ तथा आइतबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमको पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।
नगरपालिकाले ल्याएको ६४ करोड १३ लाख ७४ हजार रुपैयाँको बजेटलाई वडागत तथा योजनागत रुपमा बाँडफाँड गरिएको छ ।
नगर उप प्रमुख लिला रानाले प्रस्तुत गर्नु भएको बजेटमा नगरपालिकाको बिभिन्न शिर्षकमा खर्च हुने चालु खर्चका लागि ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ भने वडागत बजेट ३० लाख रुपैयाँका दरले १० वटा वडामा ३ करोड रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले विनियोजन गरेको बजेटमा अधिकांश वडाको मोटरवाटोहरु नै प्राथमिकतामा परेका छन् ।
नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि २२ लाख रुपैयाँ र वडा नं १ देखि ९ सम्म पर्यटन प्रवद्र्धनका लागि ९ लाख रुपैयाँ छुट्याएको छ ।
नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा दिगो सडक विकास कार्यक्रमका लागि १ करोड ३० लाख रुपैयाँ उल्लेख गरिएको छ जसमा नगरपालिकाका १० वटै वडाका १३ वटा दिगो सडकहरु परेका छन् ।
आइतबारको नगरसभामा नगर उप प्रमुखले पेश गर्नुभएको विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८, आर्थिक बर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम र असार १० गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८÷७९ को बजेट बक्तव्य सभाबाट सुझाव सहित सर्वसम्मत पारित भएको छ ।
कार्यक्रमकाे प्रत्यक्ष प्रशारण हेर्नुहाेस् ।
सडेको अवस्थामा २६ वर्षीया युवतीको शव फेला
महाेत्तरी, २७ असार २०७८ ।
गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेको अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।
सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतीराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको प्रहरीले जानकारी दिएकाे छ । गत जेठ २० गते देवर रुपेश ठाकुर, ससुरा पतीराम, पति मुकेश ठाकुरसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा शवलाई पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।
घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद्य, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो ।
शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
मंगलबार सम्म देशभर भारी वर्षाकाे सम्भावना देखिएकाे छ ।
मनसुनी वायुको प्रभावका कारण मंगलबार सम्मनै देशभर भारी वर्षाकाे सम्भावना देखिएकाे हाे । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएकाे छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
भेलि अर्थात सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीमाभने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
अहिले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको समेत सम्भावना देखिएकाे र पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै दैनिककि र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।
सुजन प्रेमी
देश अहिले संघियतामा गएर कार्यन्वयनमा आएको पनि ४ बर्ष बितिसकेको छ । हिजोको १४ अञ्चल, ७५ जिल्ला र ५ बिकास क्षेत्र अहिले ७ प्रदेश र ७७ जिल्ला भएको छ भने अधिकार स्वयत्तताको हिसाबले ७ सय ५३ स्थानीय तहमा बिभाजन भएको छ ।
हिजोको एकिकृत सरकार अहिले ३ तहमा बिभाजन भएको छ अर्थात हिजो सिंहदवारको सरकार आज गाउँ वा नगरसम्म पुगेको छ । स्थानीय, प्रदेश र केन्द्र भनेर ३ तहमा बिभाजित सरकारले देशलाई कायापलट नै गर्लान् कि भन्ने धेरैको आशा थियो ।
अझ गज्जब त कहाँ भयो भने हामीले हाम्रो सरकार आफैँ छान्न पाएका थियौँ । हामीले सरकार छान्यौँ, सिन्दुरजात्रा गर्यौँ डोली चढाएर गाउँशहर पनि घुमाएयौँ र राजगद्दी सुम्पियौँ । अहिले उनिहरुले राजगद्दी सम्हालेको पनि चारबर्ष बितिसकेको छ । अब उनिहरुको समय एकबर्ष पनि बाँकी छैन ।
हिजो चप्पलमा आएका जनप्रतिनिधिले जनतामा ठुलै बिकासका सपना देखाएका थिए । त्यही गाउँले परिवेशमा हुर्केका जनप्रतिनिधिहरु अहिले चिल्ला गाडी चढेर जनताको मुखभरी छारो (धुलो) पर्नेगरी हुईँकिन्छन् ।
हाम्रो सरकार अर्थात स्थानीय जनप्रतिनिधि । हाम्रो आफ्नै भाई भारद्धार जो हाम्रो राज्यलाई चलाउन चुनिए । आफ्नै ठाउँको मान्छे जसले यो परिवेशलाई मज्जाले नियालेको छ बुझेको छ । यहाँका प्रत्येक जन जनको मनमा छ । भौगोलिक, आर्थिक, सामाजिक लगाएत सबैकुरा उसलाई थाहा छ । उ भनेको हाम्रो जनप्रतिनिधि ।
अब उसलाई यहाँको बिकास गर्न कस्ले छेक्छ र ? उसलाई राजगद्दीमा राज गराएर जनताले के गल्ती गरे ? सायद जनताले यही महुुशुस गरेका थिए । हिजो चप्पलमा आएका जनप्रतिनिधिले जनतामा ठुलै बिकासका सपना देखाएका थिए । त्यही गाउँले परिवेशमा हुर्केका जनप्रतिनिधिहरु अहिले चिल्ला गाडी चढेर जनताको मुखभरी छारो (धुलो) पर्नेगरी हुईँकिन्छन् ।
जनताको लागि विकास गर्न चढेको गाडीले जनतामा ठुलो आशा जाग्छ तर अहिले मोहित भएर चढेको गाडी साँच्चै जनताकै लागि हो त ? छात्तीमा हात राखेर जनप्रतिनिधिहरुको मनले स्विकार्न नसक्ला की जनताको काममा मात्रै गाडीको प्रयोग भएको छ ।
कार्यलयका काम भन्दा बाहेक यता र उता हिड्नका लागि प्रयोग भएको साधन जनताका लागि अत्यावश्यक खाद्यन्न बोकेर गाउँ गाउँका विकट ठाउँ गए जनताले स्थानीय सरकारलाई कत्ति राम्रो मान्थे होला ?
एकाध र अपवाद बाहेक अधिकांश स्थानीय तहको गाडी कार्यलय प्रायोजनका लागि मात्रै प्रयोग नै भएको छैन । कानुनतः हेर्ने हो भने स्थानीय तह वा जो सुकैले प्रयोग गर्ने सवारी कार्यलय प्रयोजनको लागि मात्रै हुनुपर्छ तर पार्टी निकटको कार्यक्रममा रिवन काट्नेदेखि घर आउजाउ गर्नपनि सेतो प्लेटकै सवारी प्रयोग हुन्छ ।
झण्डै एउटा वडाको विकास वजेटजती त सवारीको ईन्धनमा मात्रैै खर्च छुट्याईन्छ प्रायः सरकारी तहमा । यसबाट जनतामा झन् निराशा बढीरहेको छ । ससुराली जानदेखि श्राद्द खानसम्म सरकारी गाडी प्रयोग भएको अधिकांश स्थानीय तहहरु छन् ।
यसबाट जनतामा कस्तो सन्देश जाला ? बिकासको विगुल फुक्नेहरुले नै सरकारी सम्पती र जनताको करलाई यसरी धुँवामा उडाएपछि जनताले अब कसको आशा गर्ने ? रिवन काट्न प्रयोग हुने सरकारी गाडी एम्बुलेन्स् नहुँदा उपचार गर्न नभ्याएर मर्ने जनताका लागि प्रयोग भए कति राहत हुन्थ्यो होला ? कार्यलयका काम भन्दा बाहेक यता र उता हिड्नका लागि प्रयोग भएको साधन जनताका लागि अत्यावश्यक खाद्यन्न बोकेर गाउँ गाउँका विकट ठाउँ गए जनताले स्थानीय सरकारलाई कत्ति राम्रो मान्थे होला ?
अनावश्यक प्रयोग भएका ईन्धनको पैसाले एक छाक टार्न नसक्ने निमुखाको भाँडोमा एक लिटर खाने तेल भरिदिए कस्तो होला ? यो कुरा मेरो सरकारलै खोई सोचेको ? मोहमा लालाहित हुँदा हुँदै आफ्नो कार्यकाल फुस्सै गैसक्छ अनि विकासको नारा लगाउन किनेको विगुल कतिबेला बजाउने ? धेरै लालाहित नबनौँ हिजोपनि गाईगोठबाट उठेर आएका हामी भोली पुग्ने त्यहीँ हो ।
हामी तपाईँलाई देखेर लजाउन चाहँदैनौँ । कृपया यो हर्कत गरेर हामीलाई नै लज्जित बन्ने अवसर नदिनुहोला ।
हेर्नुस् त हाम्रो ठाउँमा विकास गर्न अझ कत्ती काम बाँकी छ ? ठुलो सपना नदेख्नुस्, गरिवले २ छाक आनन्दसंग खान पाओस्, दुई कौडीको भाउमा श्रमबेच्न कसैले नपर्योस्, आधारभुत आवश्यकता अभाव नहोस्, यत्ती सोचे पुग्छ । जनतालाई कडासंग परिचालन गर्नुस् ताकि उनिहरु आँफै आत्मनिर्भर बनुन् । तपाईँलाई उनिहरुले भोट दिएका हुन् पैसाको बिटो होइन । बिकास गर्न पैसा चाहिन्छ भोट मात्रैले पुग्दैन यो कुरा जनतालाई राम्ररी बुझाउनुस् न महाराज ? आफ्नो ठाउँको जनतालाई नै मज्जाले परिचालन गराउनुस् आफ्नो ठाउँ बिकास गर्न जनता पछि पर्दैनन् । तपाईकै महत्वकांक्षी आशाले हो जनता बिग्रको यो तपाईले सोच्नुभयो कहिलै ? अलिकती विकासवादी सोच लिएर अगाडी बढ्न सके ठाउँ बन्ने आफ्नै हो फाईदा आफैलाई हो ।
गाडी चढौँ तर लालाहित नबनौँ । आजको मोहले भोलीलाई हानी गर्नसक्छ । आज सरकारी गाडी जढेर देखाइएको स्टानडर्ड पदच्युत भएपछि पनि बचाउन सकिन्छ होला ? आज चिल्लो गाडीमा सवार मान्छेलाई भोली तनावाला चप्पल र हाफ पाईन्टमा त्यही गाउँको भेलामा देख्न पर्दा तपाईहरुलाई भन्दा बढी जनतालाई नै लाज लाग्छ होला है ? हामी तपाईँलाई देखेर लजाउन चाहँदैनौँ । कृपया यो हर्कत गरेर हामीलाई नै लज्जित बन्ने अवसर नदिनुहोला । किनकि तपाईँले हाम्रो चाहना कहिलै पुरा गर्नुभएको छैन ।
चितवन, २६ असार २०७८ ।
कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो ।
एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहनुभएका फिजिसियन डा भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उहाँको भनाइ छ ।
अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो । पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा अधिकारीका अनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् । कोभिड निको भएपछि खोकी लागिरहने, श्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ ।
उहाँले भन्नुभयो, “कोभिडपछि निमोनिया लामो समयसम्म रहिरहन्छ, छाति सफा हुन समय लाग्छ ।” दमका पुराना बिरामीको पहिलेको भन्दा कोभिडपछि केही जटिल अवस्था हुने गरेको छ । उहाँले भन्नुभयो, “कोभिड पहिले दमको समस्या दुई नम्बर थियो भने कोभिडपछि तीन नम्बर हुने गर्दछ, दम नियन्त्रणमा थियो, त्यही अवस्थामा भएन भनेर परीक्षण गर्न आउने पनि छन् ।”
शरीर गल्ने, आलश्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपयलाई मनोवैज्ञानिक समस्या हुन्छ, कुनै समस्या नभए पनि बिरामी भएको अनुभूति गर्ने गर्दछन् ।”
कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ । कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा अधिकारीको भनाइ छ ।
पोष्ट कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउनुहुन्छ । उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उहाँको भनाइ छ ।
बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उहाँ बताउनुहुन्छ । पोष्ट कोभिडका बिरामीको फोक्सोमा ढुसीको सङ्क्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।
चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्राडा सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउनुहुन्छ । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोष्ट कोभिडका रहेका उहाँको भनाइ छ । ठूला–ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोष्ट कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउनुहुन्छ । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।
चितवन मेडिकल कलेजले पोष्ट कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।
गोरखा, २६ असार २०७८ ।
गाेरखाकाे भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्रपसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उहाँले बताउनुभयो । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”, उहाँले भन्नुभयो, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार अझ बढी भएको उहाँको भनाइ छ ।
“शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भन्नुभयो, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताउनुभयो ।
Breaking News: जैमिनीमा कोरोना संक्रमित थपिए, परिक्षण गरिएको ९० प्रतिशतमा कोरोना पुष्टि
बागलुङ, २६ असार २०७८ ।
जैमिनीमा ९ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
असार २३ गते १० जनाको स्वाव संकलन गरी परिक्षण गर्न पठाइएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । ज्वरो र रुघाखोकी सहितका लक्षण भएकाहरुको पीसिआर परिक्षण गरिएको थियो ।
बागलुङ, २६ असार २०७८ ।
बागलुङको बरेङ गाउँपालिकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार वडा नं ३ बाटाकाचौरका ४ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा जन प्रतिनिधि र वडाका कर्मचारी समेत रहेको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु होम आईशोलेसनमा रहेको उहाँको भनाई छ ।
यो सँगै बरेङ गाउँपालिकामा दोस्रो लहरको कोरोना संक्रमितको संख्या १ सय ५१ जना पुगेको छ जसमध्ये १ सय ४८ जना कोरोना संक्रमणबाट मुक्त भैसकेका छन ।
बागलुङ, २६ असार २०७८ ।
समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले जैमिनीको पैयुँथन्थापमा स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका ९ पैयुँथन्थापमा जन्मनुभएका श्रीले आफ्नो जन्मभूमिको लागि स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।
उहाँले पैयुँथन्थाप स्वास्थ्य चौकीका लागि मास्क, सेनिटाइजर, पञ्जा लगाएतका स्वास्थ्य सामग्री सहयोग गर्नुभएको पैयुँथन्थाप स्वास्थ्य चौकीका ईन्चार्ज लक्ष्मी बहादुर क्षेत्रीले जानकारी दिनुभयो । आफ्ना ठाउँका नागरिकहरुको स्वास्थ्य सुरक्षाप्रति चिन्ता गरी श्री ले गर्नुभएको सहयोगप्रति धन्यवाद दिँदै उहाँले सबैको सहयोगले कोरोनाको यो महामारीलाई जित्न सकिने बताउनुभयो ।
सहयोगी श्रीले यस्तो महामारीको बेला आफु बच्ने र अरुलाई पनि बचाउनु मानिस को धर्म भएकाले आफूले स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो । आवश्यक परेमा फेरि पनि सहयोग गर्न आफू तयार रहेको उहाँको भनाई छ ।
सामाजिक तथा कलाकारितामा सक्रिय रहनुभएका श्री ले यस अघि पनि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
बागलुङ, २५ असार २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले नगरपालिकाभित्र कार्यरत दलित समुदायका निजामती कर्मचारीहरुलाई सम्मान गरेको छ । दलित समुदायलाई निजामती सेवामा प्रवेश गर्न प्रोत्साहन गर्दै नगरपालिकाले दलित समुदायका निजामती कर्मचारीहरुलाई सम्मान गरेको हो ।
दलित समुदायका निजामति कर्मचारीहरुलाई प्रोत्साहन गर्न र मनोबल बढाउन जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर बिक सहित वडा सचिव द्धय रुद्र बिक र बिक्रम किसान, महिला विकास शाखाकी देवि सुनार र सब डिभिजन वन कार्यलय कुश्मसेरामा कार्यरत शान्ति देवि सुनारलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
जैमिनी नगरपालिकाले सम्मान व्यक्त गरेको प्रति धन्यवाद दिँदै सम्मानित हुनेहरुले यो सम्मानले थप जिम्मेवार बढाएको बताएका छन् । दलित समुदायका नागरिकहरुलाई सरकारी सेवाप्रति चासो बढाउन यो सम्मान महत्वपूर्ण रहेको उनिहरुको भनाई छ ।
सम्मानित हुनेहरुलाई दोसल्ला ओडाएर प्रमाणपत्र प्रदान गरिएको थियो ।