सप्तरी, २५ असार २०७८ ।
सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीवार राति कुटाकुट भएको हो ।
घटनामा अन्य एक जना घाइते भएका छन् । सप्तरीको राजविराज नगरपालिका –९ जगदरीका एजेन्ट मोहम्मद सनाउल लालपट्टी पुगेकाे माैका छाेपी छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीयवासी मोहम्मद इजराइल र एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मोहम्मद इझारुल मियाँले जानकारी दिनुभयाे ।
विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातिलाई बचाउन पुग्नुभएका सनाउलका हजुरबुबा ७० वर्षीय मोहम्मद दाउन मियाँ चोट लागेर घाइते हुनुभएकाे र उपचारका लागि राजविराजकाे छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताउनुभयो । घटना पछि प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल
बागलुङ, २५ असार २०७८ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगतले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राख्नुभयो ।
“सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानको स्मरण र सम्मान गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बाग्लुङ शाखाको वेबसाइटको समेत उद्घाटन गर्नुभएको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
पर्वत, २५ असार २०७८ ।
पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।
उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङकाे २१ औँ स्थापना दिवस मनाइयाे, महासंघकाे वेवसाइट सार्वजनिक
बागलुङ, २५ असार २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाकाे २१ औँ स्थापना दिवस मनाइएकाे छ । महासंघ स्थापना भएकाे दिनकाे स्मरण गर्दै शुक्रबार भर्चुअल माध्यामबाट स्थापना दिवस मनाइएकाे हाे ।
कार्यक्रमकाे अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले नेपाल पत्रकार महासंघ बागलुङ शाखाकाे वेवसाइट सार्वजनिक गर्नुभएकाे छ । पत्रकार लगाएत आम नागरिकहरूलाई सूचनाकाे पहुँचमा राख्नका लागि निर्मित वेवसाइट सार्वजनिक भएसँगै पत्रकार महासंघका गतिविधि अव विश्वभरबाट हेर्न सकिनेछ ।
महासंघकाे गतिविधिबारे जानकारी लिन www.fnjbaglung.org.np मा लगइन गर्नुपर्नेछ ।
इलाम, २५ असार २०७८ ।
कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।
छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।
इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो ।
Breaking News: बागलुङमा निषेधाज्ञा थपियो: कार्यलयमा समय तालिका लागू, केहि क्षेत्र खुकुलो
सुजन प्रेमी
बागलुङ, २५ असार २०७८ ।
बागलुङमा जारी निषेधाज्ञाको अवधी पुनः थप भएको छ । बिहिबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले साउन ४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको तर नियन्त्रणमा आइनसकेको कारण निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै समय थप गरिएको डिसिएमसीका संयोजक तथा जिल्ला प्रशासन कार्यलय बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो ।
थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधनहरु जिल्लाभित्र सञ्चालन गर्न पाइने नियम बनाइएको छ तर सिट क्षमता भन्दा बढि यात्रु राख्न पाइनेछैन ।
यस्तै जिल्लाका सरकारी कार्यलयहरुमा समयतालिका तोकिएको छ । सदरमूकाम र ईलाका प्रशासन कार्यलय, नापी कार्यलय र मालपोत कार्यलयमा समयतालिका निर्धारण गरिएको हो ।
सदरमूकामको कार्यलयहरुमा आइतबार र बुधबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, सोमबार र बिहिबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका र मंगलबार र शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको कार्य सम्पादन गर्नेगरी समय छुट्याइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।
उता बुर्तिबाङका कार्यलयहरुमा आइतबार र बुधबार ढोरपाटन नगरपालिका, सोमबार र बिहिबार निसीखोला गाउँपालिका र मंगलबार र शुक्रबार बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको प्रशासनिक काम हुनेछ ।
विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गयाे,कुल संक्रमित १९ कराेड नजिक
विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे छ ।
हालसम्मकाे तथ्यांक अनुसार विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे हाे । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा उक्त संख्याको एक तिहाई संख्या अमेरिका, ब्राजिल र भारतका मात्रै छन् । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६ लाख ६० हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छभने ब्राजिलमा ५ लाख २८ हजारभन्दा बढीको र भारतमा करिब ४ लाख ५ हजारको मृत्यु भइसकेकाे छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी छ । अमेरिकामा ३ करोड ३७ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । पछिल्लो समय कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइएका कारण अमेरिका र युरोपमा भने संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ । तर खोप उपलब्ध गराउन समस्या भोगिरहेका इन्डोनेसियालगायतका मुलुकमा भने कोरोना संक्रमण बढिरहेको सीएनएनले उल्लेख गरेको छ ।
पछिल्लो समय कोरोना भाइरसकाेको डेल्टा भेरियन्टका कारण विश्वका विभिन्न मुलुकमा संक्रमण बढिरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा देखिएको नयाँ संक्रमितमध्ये आधा संक्रमितहरूमा डेल्टा भेरियन्टकाे काेराेना देखिएको छ ।
कुनै बेला विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार ७ सयसम्मको मृत्यु भएकोमा पछिल्लो हप्ता भने दैनिक ७ हजार ९ सय जना सम्मकाे मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट २९ जनाको ज्यान गयाेः १८७५ मा संक्रमण पुष्टि,१२८६ संक्रमित निकाेभए
काठमाडौं, २४ असार २०७८ ।
नेपालमा काेराेना संक्रमणबाट २९ जनाकाे ज्यान गएकाे छ ।
गत २४ घण्टामा काेराेना संक्रमणका कारण थप २९ जनाकाे ज्यान गएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ९ हजार ३ सय २० पुगेकाे स्वास्थ्य तथा जनसंख्या कन्त्रालयले जनाएकाे छ ।
साथै पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका विभिन्न प्रयाेगशालामा गरीएकाे ५ हजार ३७४ नमुनाकाे पीसीआर परीक्षणमा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ गरी कुल १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ ।
यस्तै थप १ हजार २ सय ८६ जना काेराेना संक्रमण निकाे भइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेकाे छ । याे निकाेहुने दरकाे ९४.५ प्रतिशत हाे ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । जसमध्ये २३ हजार ६ सए ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमित मध्ये ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
काठमाडाैँ, २४ असार २०७८ ।
युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन भएकाे छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको हाे । कम्पनीले अहिले कायम रहेकाे जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको छ ।
कुल निष्काशन मध्ये५ प्रतिशत अर्थात् तीन लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका लागि छुट्याएकाे छ । सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्यार बाँकी रहेकाे ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
कम्पनीले २०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईपीओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले ट्रिपल बी (बीबीबी) रेटिङ पाएको छ ।
आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् ।
दार्चुला, २४ असार २०७८ ।
दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी तीन महिनाकी नातिनी मन्जरी र नौगाड ३ कै २९ वर्षीय लक्ष्मण सितौली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बाढी र पहिरोले ज्यामिर जलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ । त्यस्तै नौगाड ६ मा खानेपानी आयाेजना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
सदरमुकामबाट ८ घण्टाको पैदल दूरीमा पर्ने सो स्थानमा बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन वटा निर्माणाधीन पक्की पुल, तीन वटा पानि घट्ट पनि बगाएको प्रहरीले बताएको छ ।