धादिङ, १९ असार २०७८ ।
अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकावडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ ।
पहिराले क्षति पुरयाएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
जैमिनीमा शिक्षकहरूद्वारा आन्दोलन परिचालन समिति गठन, समितिकाे तर्फबाट माग पत्र पेश
बागलुङ, १९ असार २०७८ ।
जैमिनीमा नेपाल शिक्षक महासंघको आन्दोलन परिचालन समिति गठन भएको छ । नेपाल शिक्षक महासंघले थालेको चौथो चरणको आन्दोलन सफल बनाउन नगर स्तरीय आन्दोलन परिचालन समिति गठन गरिएको हो ।
शिक्षक टेकनारायाण आचार्यको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय आन्दोलन परिचालन समितिमा चन्द्रकान्त आचार्य सचिव र नारायण आचार्य, प्रेम सापकोटा, डिलमाया बहिक पुन, बुद्धि पौडेल, नारायण चालिसे, नविन राना, गोविन्द शर्मा, खगराज शर्मा र महेन्द्र शर्मा सदस्य रहनुभएको छ ।
समितिको सल्लाहकारमा झपिन्द्र बहादुर क्षेत्री र शिलशिला केसी रहनुभएको समितिका संयोजक टेकनारायण आचार्यले जानकारी दिनुभयो । समितिमा सबै पेशागत संगठनका शिक्षकहरु रहेका छन् ।
कमिटिको तर्फबाट महासंघको चरणबद्ध आन्दोलन अनुसार शुक्रबार नगरपालिकामा मागपत्र समेत बुझाइएको छ ।
नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलन अन्तरगत ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महास.घका स.स्थापक सदस्य शिक्षक झपेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पत्र मार्फत शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अविभावकहरुलाई यथाशीघ्र खोपको व्यवस्था हुनुपर्ने, शिक्षकहरुलाई राष्ट्रसेवक कर्मचारी सरहको सेवा सुविधा दिनुपर्ने, शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, नेपाल शिक्षक महासंघसँग गरिएको ३० बुँदे सभmौता पुरा गर्न माग गरिएको छ ।
पत्र बुझ्दै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले शिक्षकहरुको माग जायज भएकाले मागपत्र छिटोभन्दा छिटो सम्बन्धित निकायमा पुराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षकहरुले शनिवार पालिकाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग महासंघको माग र आन्दोलनबारे छलफल गर्ने कार्यतालिका छ ।
काठमाडौँ, १९ असार २०७८ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।
समितिको बैठकले पुनःनिर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ । प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनःनिर्माण गर्न लाभग्राही मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ । बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डबमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।
यस्ता घरका लागि लाभग्राहीले अनुदानको किस्ता लिइसकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ । अनुदान लिएर घरमा आवश्यक सुधार गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कारवाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ ।
कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनःनिर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिद सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका तीनै किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ ।
यसअघि २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो । उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।
बिहीबारसम्म आठ लाख ५८ हजार २८२ पुनःनिर्माण लाभग्राही निक्र्योल भएका छन् । तीमध्ये ९५.३७ प्रतिशत अर्थात आठ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी आठ लाख १६ हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी सात लाख २७ हजार ३२८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी छ लाख ६५ हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।
अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात छ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनःनिर्माण सम्पन्न गरिसकेका छन् । पुनःनिर्माण गरिरहेका लाभग्राहीको सङ्ख्या एक लाख ४६ हजार १५३ रहेको प्राधिकरणले जनाएको छ । यो अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो । घर पुनःनिर्माण शुरु गरेका कुल लाभग्राहीको सङ्ख्या सात लाख ५७ हजार ३९४ पुगेको छ । यो अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत हो ।
प्रबलीकरण लाभग्राहीमध्ये कैयौँ पुनःनिर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राहीको सङ्ख्या ५३ हजार ९५८ कायम भएको छ । तीमध्ये ८४.९१ प्रतिशत अर्थात ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।
काठमाडौं, १८ असार २०७८ ।
नेपालमा थप २ हजार २ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । ६ हजार ५ सय ६६ नमुनाकाे पीसीआर परीक्षणमा १ हजार ३ सय ९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी कुल जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या ६ लाख ३ हजार ६ सय पुगेको मन्त्रालयले जनाएकाे छ ।
देशभरका विभिन्न स्थानमा गरी थप ३४ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ७९ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३ सय १६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बरेङ बजारको कालोपत्रे बाटो ६ महिनामै बिग्रियो, स्थानीयको लापरवाही र सरोकारवालाको बेवास्ता
दिपेन्द्र परियार
बागलुङ, १८ असार २०७८ ।
बागलुङको बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै बिग्रिएको छ । स्थानीयहरुको लापरवाही र क्षमताभन्दा बढी लोडका सवारी गुडाउँदा एक बर्ष नपुग्दै बाटो बिग्रिएको हो ।
बरेङ बजार भन्दा उत्तरपट्टी पालिका स्तरीय खेल मैदान निर्माणका लागी काटिएको डाँडाको माटो उचित ठाँउमा व्यवस्थापन गर्न नसक्दा करोडौको लागतमा सम्पन्न भएको बजारको पिच बाटो कतै भासिने त कतै कालोपत्र उप्किएर हिलाम्य बन्न थालेको बजारबासीहरुले बताएका छन् ।
बाटोको भार क्षमता भन्दा बढी लोड भएका ठुलागाडीहरु गुडेपछि बाटो ठाँउठाँउमा भासिनुका साथै कालोपत्रे समेत उप्किन थालेको उनिहरुको भनाई छ । अझ कतिपय ठाउँमा स्थानीयहरुले नै निर्माण सामग्री राख्दा समस्या भएको छ ।
लगातारको बर्षा र खेलमैदान निर्माणका लागी डाडाँ काटिएको माटो दैनिक टिप्पर तथा ट्याक्टरमा लोड गरेर भाटि बजारमा फाल्दै गर्दा १ करोड ३९ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको बाटो ६ महिनामै क्षतबिक्षत भएको बरेङ गाँउपालिकाका सब ईन्जिनियर राजन खरेलले जानकारी दिनुभयो ।
“कार्पेट सिस्टम बाट पिच गरिएको बाटोको भार क्षमता १० टन देखि १२ टन हो, हामिले बजारका केहि व्यक्तिहरुलाई बाटोको भार क्षमताको बिषयमा भनेका थियौ तर उहाँहरुले मान्नुभएन” सब ईन्जिनियर खरेलले भन्नुभयो “एकातिर लगातारको बर्षा छ , अर्कोतिर २ पाङ्ग्रे देखि ४ पाङ्ग्रे गाडीहरु मात्रै गुड्ने बाटोमा लोड गरिएका टिप्पर तथा जेसिबिहरु लगातार हिडाउँदा ओभरलोडकै कारण बाटो बिग्रेको होे”
आफुहरुले लाखौँ लगानी गरेर बनाएको घरजग्गा बाटोको लागी त्यागेको स्मरण गर्दै बरेङ बजार ब्यबस्थापन समितिका अध्यक्ष दिलराज पुनले बाटोको भार क्षमताको बिषयमा आफुहरुलाई केहि जानकारी नभएको बताउनुभयो । यो बिषयमा तुरुन्तै बैठक बसेर निर्णय गर्ने उहाँको भनाई छ ।
“हामिले बाटोको लागी ठुलो त्याग गरेका छौँ, आफु बस्ने बास समेत त्यागेर बाटो बनाएका हौँ, यो बाटोको हामी सबैलाई उत्तीकै माया छ” उहाँले भन्नुभयो “तुरुन्तै बजार व्यवस्थापन समितीको बैठक राखेर आवश्यक निर्णय गर्छौ ।”
बाटो संरक्षणमा स्थानीयको समेत बेवास्ता रहेको कतिपयको बुझाई छ । बाटोको भार क्षमता अनुसारको मापदण्ड निर्धारण नगर्नु, स्थानीयले बाटोमै निर्माण सामाग्रीहरु राख्ने, नालीहरु अवरोध गर्ने, पेट्रोल डिजल बाटोमै फाल्ने लगाएतका कार्यहरु गर्नाले पनि बाटो को अबस्था बिग्रिन पुगेको सरोकार वालाहरुको बुझाई छ ।
हिउदमा धुलो तथा बर्खामा हिलाम्मे सडकका कारण सास्ती बेहोर्दै आएका बरेङ बजार बासी नागरिकहरु थोरै भएपनि बजारमा कालो पत्रे हुँदा खुशी भएका थिए तर ६ महिना पनि नबित्दै बाटो पुरानै स्वरुपमा हिलाम्मे हुन थालेपछि स्थानीय चिन्तित भएका छन ।
बरेङमा २० लाखको योजना निर्माणले करोडौको लागतमा सम्पन्न भएको कालोपत्रे मोटरबाटो क्षत बिक्षत हुनु निकै दुःखद भएको सब ईन्जिनियर खरेलको भनाई छ ।
चालु आर्थिक बर्षको अन्त्यमा आएर २० लाखको लागतमा बजार को उत्तर पट्टि रहेको ट्याम्कुली डाँडा काटेर पालिका स्तरीय खेल मैदान निर्माणकार्य भैरहेको छ ।
नेपाल सरकारको समानीकरण अनुदान ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा बरेङ गाँउपालिकाले पालिकाको गौरवको योजनाको रुपमा प्राथमिकतामा राखेर साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाउदै रु १ करोड ४५ लाख ६५ हजार ६ सय २० रुपैया ५८ पैसाको लागतमा एक किलोमिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाई सडक कालोपत्रे गरेको थियो ।
सडक कालोपत्रे गर्ने कम्पनीलाई बरेङ गाउँपालिकाले गत पुस १२ गते रकम भुक्तानी गरेको थियो ।
Breaking News: जैमिनीमा पिकअप गाडी दुर्घटना
बागलुङ, १८ असार २०७८ ।
बागलुङको सहरातेमा पिकअप गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । जैमिनी नगरपालिका ९ पैयुथन्थापको सहराते पिप्लेमा शुक्रबार बिहान लु २ च २७१० नम्बरको गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।
घाइते जैमिनी नगरपालिका ९ सहरातेकी ५२ बर्षीय टिकादेवि शर्मा र बागलुङ नगरपालिका ११ रायडाँडाका १८ बर्षीय प्रेम थापालाई थप उपचारको लागि बागलुङ पठाइएको कुश्मिसेरा प्रहरी चौकीले जानकारी दिएको छ ।
शर्माको गर्धनमा चोट लागेको र थापाको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
सहरातेबाट बागलुङ जाने क्रममा गाडी चिप्लिएर दुर्घटना भएको पैयुथन्थापका स्थानीय मिना परियारले जानकारी दिनुभयो । गाडी करिव १० मिटर तल खसेर बाँसको झाङमा अल्झिएको थियो ।
गाडीमा चालक सहित ५ जना रहेका थिए । सवारी धनि र चालक आफै रहेका टेकबहादुर थापा सहित अन्य २ जनाको अवस्था सामान्य रहेको छ ।
काठमाडाै, १७ असार २०७८ ।
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।
नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता संकास्पद एकाउन्टहरु बन्द गरिदिएको टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा याे तथ्यांक सार्वजनिक गरेको छ ।
यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । यो भिडियो प्लाटर्फम किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ ।
टिकटकको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ ।
त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको टिकटककाे प्रतिवेदना उल्लेख छ । श्राेतः नेपाली नेटवर्क
सामाजिक विकास तर्फ जैमिनीको २ करोड भन्दा बढि बजेट, यस्ता छन् प्राथमिकताका कार्यक्रमहरू
बागलुङ, १७ असार २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले सामाजिक विकास क्षेत्र तर्फ मनग्य बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि सामाजिक विकास क्षेत्रको लागि २ करोड भन्दा बढि बजेट छुट्याएको हो ।
नवौं नगरसभामा आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले सामाजिक विकास तर्फ २ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले सामाजिक विकास क्षेत्रतर्फ शिक्षालाई बढि प्राथमिकता दिएर बजेट छुट्याएको छ । नगरको बजेटमा बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालयका कर्मचारीहरुको तलव भत्ता सहित ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षको बजेटमा जनस्वास्थ्य तर्फ ३० लाख २८ हजार रुपैयाँ छुट्याइएको छ जसमध्ये महिला स्वयम् सेविकाको लागि ८ लाख २८ हजार खर्च हुनेछ ।
नगरपालिकाले जैमिनीमा जन्मिएर विशिष्टता प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । यसको लागि नगरपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको छ । नगरपालिकाले खानेपानी तथा सरसफाइमा ५ लाख र संस्कृति प्रवद्र्धनका लागि ४ लाख छुट्याएको छ ।
नगरपालिकाले सामाजिक विकास क्षेत्रका अधिकांश क्षेत्रलाई सम्बोधन गरेको नगर उप प्रमुख रानाले बताउनुभयो ।
काठमाडौँ, १७ असार २०७८ ।
सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई हिजाे अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले उक्त निवेदन दायर गनुएभएको हो ।
निवेदनमा शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको स्वरुप परिवर्तन हुने गरी डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्न लागिएको हुँदा उक्त योजना रोक्न आदेशको माग गरिएको छ । निरन्तर प्राकृतिक रुपमा बगिरहेको नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका लाखौं स्थानीय बासिन्दालाई प्रभावित पार्ने जिकिर गरिएको छ ।
बिहिबार गाेरखा मनकामनाकाे दर्शनगरे भाग्याेदय हुन्छ,दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।
वृष
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मिथुन
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
कर्कट
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
सिंह
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
कन्या
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
तुला
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
मकर
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।
मीन
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।