लोक सेवाका स्थगित परीक्षा साउनदेखि हुने, आयोगकाे खिचातानीले लाखाैँकाे भविष्यमा खेलवाड
सविता शर्मा
काठमाडौँ, १६ असार २०७८ ।
लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।
पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको छ । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।
लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ । प्रवक्ता सुवेदीले रोकिएका परीक्षालाई छिटो गर्नका लागि दुईदेखि तीन सिफ्टमा जाँच गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो ।
प्रवक्ता सुवेदीले अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनगणना साउनदेखि असोजभित्र सम्पन्न गर्ने तयारी, यस्ताे छ कार्यक्रम तालिका
छेटु शेर्पा
काठमाडौं, १५ असार २०७८ ।
दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएकाे तथ्याङ्क विभागले जनाएको छ । कोरोना महामारीका कारण स्थगित भएको जनगणना कार्यक्रम साउन, भदौ र असोजभित्रमा सम्पन्न गर्ने गरी प्रस्ताव सरकार समक्ष लाग्ने तयारी भएको तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो तर कोरोनाको सङ्क्रमणकाे दाेस्राे लहर बढेसँगै गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउनदेखि असोजभित्रसम्म सम्पन्न गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव समितिले मन्त्रिपरिषदमा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषदबाट प्रस्ताव पास हुनासाथ कार्यक्रम तालिका बनाएर तीन महिनाभित्रमा गणना सम्पन्न गर्ने विभागले तयारी शुरु गरेको शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने जनगणनाका लागि आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ । राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारी तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक प्रशिक्षण, स्थानीय जनगणना अधिकारी तालिम सम्पन्न भइसकेको छ ।
विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि तालिम केन्द्र र प्रशिक्षण सामग्री तयार गरी सबै तालिम केन्द्र र जिल्लामा यसअघि नै पठाइसकेको थियो । सरकारले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरेकाे र जनगणनाका लागि एक अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
दश/दश वर्षमा गरिने राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ । विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने सरकारको तयारी छ ।
काठमाडौँ, १५ असार २०७८ ।
बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप प¥यो ।
आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ ।
कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार ५.११ बिन्दुले बढेर नेप्से दुई हजार ८७५.४९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ बिन्दुले बढेर ५३३.५७ मा पुगेको छ । कूल २१९ कम्पनीको एक करोढ ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु सात अर्ब ७२ करोड ५छ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए । सोमबारको कारोवार पछि बजार पूँजीकरण रु ३९ खर्ब ९४ अर्ब ७५ करोड ९५ लाख ८३ हजार ८७ बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.९५, होटल तथा पर्यटन २०.२७, लघुवित्र ११४.४, जीवन बीमा १४.०६, सामूहिक लगानी कोष ०.०२ र लगानी २.३५ बिन्दुले उकालो लाग्यो । यस्तै, व्यापार ३२.३२, विकास बैंक ७०.५८, जलविद्युत् ६५.९५, वित्त ५६.७, निर्जीवन बीमा ३७.२७, उत्पादन १२.४८ र अन्य उपसमूहको शेयर ३.९ बिन्दुले ओरालो लाग्यो ।
कारोवारका आधारमा नेपाल इन्स्योरेन्स रु ५२ करोड २४ लाख ८४ हजार ३५९, राधी विद्युत् कम्पनी रु ५२ करोड सात लाख ५९ हजार ९९१, एनआइसि एशिया बैंक रु ५० करोड २५ लाख १७ हजार ६१३ र सेञ्चुरी बैंक रु २८ करोड ६१ लाख ३४ हजार ९९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
लगानीकर्ताको आकर्षण देखिएको लघुवित्त उपसमूहकै सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१७ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त ८.०७, एचआइडिसिएल ७.६३, सिटिजन म्युअल फण्ड ४.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.६९ प्रतिशतले कमाए । त्यस्तै, वेष्ट फाइनान्स ५.४८, रिलायन्स फाइनान्स ४.९८, राधी विद्युत् कम्पनी ४.६८, आइसिएफसी फाइनान्स ४.५३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
काठमाडों, १५ असार २०७८ ।
विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो ।
विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ ।
गत महिनामात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताउनु भएको थियो ।
यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।
तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ । ती पुस्तक पहिले नै छापिएका र स्टक हुनसक्छन्, केन्द्रका निर्देशक गणेश भट्टराइले भन्नुभयो, `ती फिर्ता हुन्छन् ।`
अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।
इमेज खबरबाट
शिक्षामा बरेङको अनुकरणीय कार्य: विद्यार्थी देखि अविभावक सम्मलाई पुरस्कार र सम्मान
सुजन प्रेमी
बागलुङ, १४ असार २०७८ ।
बरेङ गाउँपालिकाले उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बागलुङको बरेङ गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय मुल्यांकन परिक्षामा प्रथम द्धित्तिय र तृतीय हुनेलाई पुरस्कृत गरेको हो ।
गाउँपालिकाले गत चैत १४ गते वडास्तरीय केन्द्र बनाएर सञ्चालन गरेको कक्षा ४, कक्षा ७ र कक्षा ९ का बिद्यार्थी, उनिहरुका अविभावक र बिषयगत शिक्षकहरुलाई आइतबार पुरस्कार वितरण गरिएको बरेङ गाउँपालिकाका शिक्षा शाखा संयोजक सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।
पालिकाले अंग्रेजी, गणित र नेपाली विषयको परिक्षा लिएकोमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको उहाँको भनाई छ ।
शिक्षा क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने हेतुले नमूनाको रुपमा पालिका स्तरीय परिक्षा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । नमूनाको रुपमा लिइएको यस परिक्षाको नम्बर नियमित परिक्षामा समावेश नगरिने उहाँको भनाई छ ।
उत्कृष्ट हुनेलाई बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष डिल कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
परिक्षामा प्रथम हुनेलाई २ हजार ५ सय, द्वित्तीय हुनेलाई १ हजार ५ सय र तृतीय हुने अविभावक, विद्यार्थी र शिक्षकलाई १ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र एक एक सेट उपयोगी पुस्तक प्रदान गरिएको अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
कक्षा ४ को नेपाली विषयमा महेन्द्र माध्यामिक विद्यालय बरेङ ५ का जेमिसन भट्टराई प्रथम, भृकुटी माध्यामिक विद्यालय बरेङ २ की शर्मिला क्षेत्री द्वित्तीय, भृकुटी माध्यामिक विद्यालय बरेङ २ की सोफिया सापकोटा र जनता माध्यामिक विद्यालय बरेङ ३ का विदुर न्यौपाने तृतीय भएका छन् ।
कक्षा ७ को गणित विषयमा धुल्लु लिउँवा माध्यामिक विद्यालय बरेङ १ का सुवास पौडेल प्रथम, शारदा माध्यामिक विद्यालय बरेङ ३ का प्रशान्त पौडेल द्वित्तीय र धुल्लु लिउँवा माध्यामिक विद्यालय बरेङ १ की सफलता ढुङ्गाना तृतीय भएको शिक्षा शाखा संयोजक सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै कक्षा ९ को अंग्रेजी विषयमा महेन्द्र माध्यामिक विद्यालय बरेङ ५ का युसान शर्मा प्रथम, सर्वोदय माध्यामिक विद्यालय बरेङ २ का किशोर पौडेल द्वित्तीय र महेन्द्र माध्यामिक विद्यालय बरेङ ५ की मनिसा बोहोरा तृतीय भएका छन् ।
कार्यक्रममा उत्कृष्ट हुने बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी, शिक्षक तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।
बरेङ गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउँदै गएको छ भने शिक्षामा नविनतम अभ्यास पनि गरिरहेको छ ।
बागलुङ, १२ असार २०७८ ।
जैमिनी नगरपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्माले शनिवार जैमिनीलाई स्वाथ्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
सर्जिकल मास्क २४ प्याकेट, एन ९५ मास्क ५ प्याकेट, फेस सिल्ड ६० वटा, पिपीई ४० थान, लुज सेट १ सय २० थान, पञ्जा २ सय थान, सेनिटाइजर ५ लिटर, डेथ बडी कभर ३ थान लगाएतका सामग्री सहयोग प्राप्त भएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री बुझ्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले सबैको सहयोगले मात्रै कोरोना रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सहयोगी शर्माप्रति धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगमा राजनिति आस्था र विचार नहुने भन्दै उहाँले शर्माले गर्नुभएको सहयोग आफ्ना लागि अमुल्य रहेको बताउनुभयो ।
स्वास्थ्य सामग्री जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नगर उप प्रमुख राना र स्वास्थ्य शाखा संयोजक आचार्यलाई पूर्व मन्त्री शर्मा सहित कानुन व्यवसायी कल्पना शर्माले हस्तान्तरण गर्नुभएको छ ।
यस्तै शर्माले शनिवार नै बरेङ गाउँपालिकाको लागि पनि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । उहाँले बरेङे लागि पपिीई ५० थान, लुज पिपीई १० थान, एन ९५ मास्क २ प्याकेट, सर्जिकल मास्क ५ सय थान, पञ्जा १०० थान, फेस सिल्ड १० थान, डेथ बडी कभर एक थान लगाएतका स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
बरेङको लागि दिइएको सामग्री पनि जैमिनी नगरपालिकामा नै रहेको र बरेङ पठाइने जैमिनी स्वास्थ्य शाखाले जनाएको छ ।
शनिबार संकटाकाे एक दर्शनले आइपरेका कयाैँ संकटहरू हटेर जान्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।
वृष
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।
मिथुन
शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।
कर्कट
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको यात्राको योग छ । ।
शिंह
आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।
कन्या
आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
वृश्चिक
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।
धनु
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मकर
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
कुम्भ
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।
मीन
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।
काठमाडौँ, ११ असार २०७८ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो ।
उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताउनुभयो । “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उहाँले भन्नुभयो, “हामी कुराभन्दा काममा विश्वास गर्दछाँै, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।”
उहाँल खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राख्नुभयो ।
उहाँले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिनुभयो । उहाँले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राख्नुभयो ।
यस्तै उहाँले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गर्नुभएको छ ।
यस्तै उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गर्नुभएको छ ।
पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताउनुभयो । उहाँले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताउनुभयो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र सङ्क्रमण कम गर्न सकिने धारणा राख्नुभएको थियो ।
सर्लाही, ११ असार २०७८ ।
सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभएको हो ।
पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।
सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेको पाइएको छ । नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रु ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो ।
गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ । यस तालमा हंसराज प्रजातिको हाँससमेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगरप्रमुख थापाले बताउनुभयो ।