सञ्चालनमा आयो माथिल्लो तामाकोशी: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, शेयर मुल्य बढ्न सक्ने
काठमाण्डाै, २२ असार २०७८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको यस आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।
प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा ६ वटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुङ्गासमेत कायम भएको छ । स्वदेशी लगानीको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यु खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत् गृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको दुई सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यु खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।
स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का उत्पन्न भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजनाको उद्घाटन भएपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत उत्पन्न भएकाे छ । सुरुवाती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
सोमबारदेखि माथिल्लो तामाकोशीकाे बिजुली उत्पादन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
काठमाडौँ, २१ असार २०७८ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो । यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।
प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिनुभयो ।
माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।
सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।
आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।
आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।
पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो ।
सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।
कक्षा १२ काे परीक्षा साउन भित्रै गर्न प्रस्ताव,शतप्रतिशत लिखित परीक्षा लिने तयारी
काठमाडाैं, २० असार २०७८ ।
कक्षा १२ काे परीक्षा साउन भित्रै गर्ने प्रस्ताव अघिसारीएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको हाे । साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे ।
कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गर्नुका साथै परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।
शतप्रतिशत लिखित परीक्षा लिने तयारीः राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी समेत गरेको छ ।
गत वर्ष आन्तरिक मूल्यांकनलाई नै अन्तिम मूल्यांकनको आधार बनाइएको थियो । तर याे वर्ष पोहोरको जस्तो नहुने भन्दै शतप्रतिशत लिखित परीक्षानै लिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयाे ।
जिप दुर्घटनाहुँदा २ जनाको ज्यान गयाे,१० जना घाइते
बैतडी, २० असार २०७८ ।
बैतडीमा जिप दुर्घटना भएकाे छ ।
आइतबार बैतडीकाे सिगास गाउँपालिकामा जिप दुर्घटना भएकाे हाे । जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । यस्तै १० जना घाइते भएका छन् । दुर्घटनामा जिप सडकबाट करीव ५० मिटर तल खसेकाे थियाे ।
डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको छ ।
यस्तै घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी, ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद छन् ।
घाइतेमध्ये ४ जनाकाे अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने तयारी,खुकुलाे बनाइ अन्य क्षेत्र पनि खुला गरीने
काठमाडाैं, २० असार २०७८ ।
काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने तयारी गरीएकाे छ ।
पछिल्लाे पटक थप गरीएकाे निषेधाज्ञा भाेलि अर्थात साेमबार सकिँदै गरेकाे अवस्थामा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको हाे ।
पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा सकिनै लाग्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञा थप गर्ने बारे निर्णय गर्ने तयारी गरेका छन् । सम्भव भए सम्म आज बेलुकीसम्म बैठक बस्ने जनाइएकाे छ । गत सातादेखि नै सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागु गरेर सञ्चालनमा ल्याइएकाे छ । पसलहरू पनि बिहान ६ देखि बेलुकी ७ बजेसम्म खुल्ला भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू अब थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा छन् । आज बेलुकी वा भोलिसम्म बैठक गरेर निषेधाज्ञा बारे अन्तिम निर्णयमा पुगिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयाे ।
काठमाडौं उपत्यकाभित्र गत वैशाख १६ गते देखि लागु गरिएको निषेधाज्ञा हाल सम्म पनि जारी छ ।
भारी वर्षापछि आएको बाढीले दश घर बगायो, बीस जना बेपत्ता
जापान, २० असार २०७८ ।
मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् ।
शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् ।
सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।
काठमाडाैं, २० असार २०७८ ।
काठमाडाैंमा टिपरको ठक्करबाट नुवाकाेट बेलकाेटगढीका दुई जनाको ज्यान गएकाे छ ।
काठमाडाैं स्थित टोखा नगरपालिकामा टिपरको ठक्करबाट नुवाकाेट बेलकाेटगढी नगरपालिका-६ निवासि दुई जनाको ज्यान गएको हाे । शनिबार भएकाे उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।
शनिबार राती करीव पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका हुन् । टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का २६ वर्षका सन्तोष अधिकारी र साेहि स्थानका मोटरसाइकलको पछाडि बसेका २२ वर्षका दिपेश थापाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकाे मोटरसाइकलमा तीन जना सवार थिए । ती मध्ये मोटरसाइकलकै पछाडि बस्ने अर्का ३० वर्षका सागर खतिवडा भने घाइते हुनुभएकाे छ । घाइते भएका खतिवडाकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई भने पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
शक्तिशाली देवी पाथिभराकाे एक दर्शनले भाग्य चम्कन्छ,दर्शनगर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
तपाइँकाे याे हप्ता भरीकाे राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र थप काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्त र प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मंगलवार र बुधवार भने केही विवादास्पद काममा अलमलिनुपर्ला। भौतिक साधन उपयोग गर्दै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अवसरका लागि लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। धेरै दौडधुप हुनेछ र यात्रा खर्चिलो बन्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। वादविवादमा भने अघि नसर्नुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले आयस्राेत सबल बन्नेछ। परिस्थितिवश उठ्नुपर्ने रकम तत्काल हातलागी भने नहुन सक्छ। व्यावहारिक आवश्यकता पूरा नभए पनि दैनिक जीवनमा असर पर्नेछैन। मंगलबारदेखि भने खर्चिलो काम प्रारम्भ हुने देखिन्छ। संवेदनशील काममा विशेष सावधानी अपनाउनुहोला। प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तको सहयोगले स्थितिमा सुधार आउनेछ। रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा केही संघर्ष गर्नुपरे पनि प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेेहरूले दुःख दिनेछन् । काममा पनि अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। गोपनीयतामा सजग रहनुहोला। मंगलबारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। सुरुको संघर्षले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अध्ययन तथा लेखाइमा प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्गे धनलाभ हुनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। विभिन्न भौतिक सुखका साधन जुट्नेछन्। तर मनोरञ्जनले अध्ययनमा बाधा पुर्याउन सक्छ। मंगलबारदेखि स्वास्थ्यमा कमजोरी र काममा अवरोध आउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख दिनेछन्। आफ्ना विषयवस्तुमा अरूले हस्तक्षेप गर्नेछन्। परिस्थितिवश संघर्षमा उत्रनुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ र आस मारेको कामले उत्साह जगाउनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विद्यार्थीहरूको शैक्षिक भ्रमण हुन सक्छ। रमाइलो यात्रा, भेटघाट र प्रियजनसँग भेटघाट हुने योग छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यबाधा र घरेलु समस्याले पिरोल्न सक्छ। सहयोगीहरूले समेत साथ दिन छाड्नेछन्।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य समस्याले काममा बाधा पुर्याउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ। अध्ययनको कमीले बौद्धिक प्रतिस्पर्धामा खरो उत्रिन नसकिएला। सहपाठीसँग असमझदारी बढ्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। तापनि ईर्ष्या गर्नेहरूबाट जाेगिएर काम गर्नुहोला। दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सप्ताहान्तमा पेसा–व्यवसायबाट मनग्य आर्जन हुनेछ। रमाइलो भेटघाटले उत्साह जगाउनेछ। दिगो काम सुरु हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नैसँग असमझदारी बढ्नाले आँटेको काम रोकिन सक्छ। साझेदारीमा विवाद हुनेछ भने अवसरवादीहरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। परिस्थितिवश कमजोर व्यक्तिहरू अघि आउनेछन् भने कामबाट फाइदा लिन समय लाग्लेछ। तापनि साताको पछिल्लो समयमा स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउनेछन्। प्रियजनको साथ जुट्नेछ भने दिगो फाइदा हुने काम गर्न सफल भइनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। व्यापारले फाइदा दिनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा हिम्मतले अवसर दिलाउन सक्छ। अप्ठ्यारो परिस्थितिमा सहयोगीहरूले साथ दिनेछन् भने परिश्रमको नतिजा राम्रै आउनेछ। मंगलबारदेखि आफ्नैबाट धोका हुनाले काममा पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। घर–जग्गा विवादले समस्या निम्त्याउन सक्छ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा बिनाकारण साथीभाइ टाढिन सक्छन्। सप्ताहान्तमा अध्ययनतर्फ प्रगति हुनेछ। कामले नाम र दाम पनि दिलाउनेछ। खानपानमा भने सजग रहनुहोला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। सानो कमजोरीले आत्मसम्मानमा ठेस पुर्याउन सक्छ। व्यावहारिक अलमलले अध्ययनमा बाधा पुग्नेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दु:ख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आलोचकहरूले आफ्ना कमजोरी सुधार्ने अवसर प्रदान गर्नेछन्। अवसर पाइनेछ तर अरूको भरपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ।
कमिसनको चक्करमा वर्षेनी नयाँ किताब : अभिभावकलाई आर्थिक भार, बच्चालाई मानसिक तनाव
रूबी रौनियार
काठमाडौँ, १२ असार २०७८ ।
पहिले दिदी–दाइले किताब किनेपछि उसले कक्षा पास गरेपछि उसको भाइ–बहिनीहरुले आफनो दिदी–दाजुकै किताब पढेरअघि बढ्थे। त्यतिखेर अभिभावकहरुमा कुनै आर्थिक बोझ थिएन, भने बच्चालाई अनावश्यक किताब पढ्नु पर्ने मानसिक तनाव थिएन।
तर हाल आएर निजी विद्यालयहरुले जति धेरै किताब लगायो, त्यति राम्रो मानिने कुसंस्कारको विकास हुँदै गएको छ।
सरकारको शिक्षा ऐन नियम मिचेर देशका प्रायः सबै निजी विद्यालयहरुले विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेको भन्दा दोब्बर बढी किताब किन्न लगाउने गरेका छन्। विभिन्न प्रकाशनहरुसँग पाउने मोटो कमिसनको प्रलोभनमा परेर निजी विद्यालयहरुले अभिभावकलाई आर्थिक रुपमा तनाव दिएका छन् भने धेरै किताब पढाएर नानीहरुको कलिलो मस्तिस्कमा मानसिक तनाव दिएको अभिभावकरुको गुनासो छ।
पोखराका एक अभिभावकका अनुसार त्यहाँका एक निजी विद्यालयले कक्षा ८कोलागि १६ वटा किताब किन्न लिस्ट नै उपलब्ध गराएको छ। १६ किताब विभिन्न प्रकाशनको भएकोले बजारमा किताबसमेत पाउन कठिन छ। तर स्कुलले अनलाइन कक्षा चलाउने भएकोले जसरी पनि त्यही किताब ल्याउनु पर्ने दबाब दिइरहेको अभिभावक बताउँछन्।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईका अनुसार कक्षा ८मा नयाँ पाठ्यक्रम परिवर्तन भएको छैन। पुरानै पाठ्यक्रमअनुसार किताब सरकारले पठनपाठन गराउने भनेको छ। जसअनुसार कक्षा ८ को लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, पेसा व्यवसाय र प्रविधि, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरीक शिक्षा र स्थानीय तहले तोकेको एक विषय गरी कुल ९ विषयको लागि ९ वटा किताब पाठ्यक्रमले तोकेको छ ।
विद्यार्थीले यति नै पढ्नु पर्छ। उनले शिक्षा ऐनले नेपाल सरकारले विकास गरेकै किताबहरु देशभरिका विद्यालयले पठनपाठन गराउनु पर्ने कानूनी व्यवस्था रहेको जनाए।
‘शिक्षा ऐनको दफा ८मा उल्लेख भए अनुसार देशभरिका विद्यालयहरुले नेपाल सरकारले विकास गरेको पुस्तक लगाउनुपर्ने कानूनी व्यवस्था छ,’ प्रवक्ता भट्टराईले भने ‘कक्षा ४–१० सम्मका विद्यार्थीले विद्यालयमा साढे चार घण्टा र कक्षा १–३ सम्मका विद्याार्थीले विद्यालयमा चार घण्टा अध्ययन गर्नुपर्छ। त्यही अनुसार पाठ्यक्रम विकास गरी पाठुयपुस्तक सरकारले तयार पारेको हो।’ उनी थप्छन् ‘स्कुलले एउटा मात्र सन्दर्भ सामग्रीको रुपमा किताब पढाउनुपर्ने व्यवस्था छ। त्यो किताब पुस्तकालयमा राख्नुपर्छ। तर सन्दर्भ सामाग्रीको रुपमा स्वीकृति लिएको किताबलाई विद्यालयहरुले अनिवार्य विषयको रुपमा अभिभावकलाई बाध्य पारेर किनाउनु कानूनी विपरित हो।’
तर निजी विद्यालयहरुले शिक्षा ऐनलाई लत्याउँदै बढी कमिसन दिने प्रकाशकहरुको किताब आफू खुसी विद्यालयमा लगाएको खुलेको छ। निजी प्रकाशकहरुले विद्यालयहरुलाई ६० प्रतिशतसम्म कमिसन दिने गरेको स्रोतले बताएको छ।
यतिमात्र होइन, निजी विद्यालयहरुले शिक्षालाई व्यापारीकरण गर्ने र कमिशन पाउने प्रलोभनमा एउटै कक्षामा थरिथरिका निजी प्रकाशनहरुको किताबलाई नै अनिवार्य किताबको रुपमा लगाएका छन्। जसले एकातिर अभिभावकलाई लिस्टअनुसार बजारमा किताब किन्नसमेत भौतारिनु परेको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए।
यतिमात्र होइन पाठ्यक्रमभन्दा दोब्बर किताब किनाएर अभिभावकलाई आर्थिक बोझ थपेका छन् भने बालाबलिकाका कलिला मस्तिष्कमा मानसिक तनाव थपेको अभिभावकहरुको गुनासो छ।
‘मैले कक्षा ८मा पढ्ने छोरीको लागि साथीको छोरीको पुरानो किताब मागेर अनलाइन कक्षामा सहभागिता गराएँ,’ पोखराबाट एक अभिभावकले नागरिकसँग फोनमा दुखेसो गरे ‘तर अनलाइन कक्षामा छोरीले किताबहरु खोलेर बस्दा शिक्षकले कक्षामा सहभागिता नै गराउनु भएन। किनभने स्कुलले दिएको नयाँ प्रकाशकहरुको किताब थिएन।’ ति अभिभावक थप्छन् ‘सरकारले कक्षा ८ को पाठ्यक्रम परिवर्तन गरेकै छैन। तर स्कुलले भने गत वर्षको प्रकाशन परिवर्तन गरेर मोटो कमिशनको प्रलोभनमा परेर हामी अभिावकहरुलाई आर्थिक बोझ थपेको छ।’ ति अभिभावकका अनुसार उक्त निजी विद्यालयले कक्षा ८मा १६ किताब किन्न ९ वटा छुटाछुटै प्रकाशन तोकेको छ। ‘एक त किताब किन्न बजारमा भौतारिनु परेको छ,’ उनले भने‘ अर्को तर्पm पाठ उही भएको तर निजी विद्यालयहरुले प्रकाशक र लेखकमात्र वर्षेनी परिवर्तन गरी नयाँ किताब किन्न लगाएर अभिभावकहरुलाई आर्थिक बोझ थप्दै गएको छ।’
सरकारले अनुगमन गरी यस्ता विद्यालयहरुलाई कानूनी दायराभित्र ल्याउनु पर्ने अभिभावकहरुको माग छ।
तर निजी विद्यालयहरुले उपलब्ध गराएको कक्षा ८ का किताबको सूचीमा नेपाल सरकारको हाम्रो नेपाली किताबको साथै थप दुई किताब अभिभावकले अनिवार्य किन्नु् पर्ने भएको छ। जसअनुसार आरपि भण्डार प्रकाशकको नौलो नेपाली ब्याकरण रचना र अभ्यास तथा एकता प्रकाशनको माध्यमिक नेपाली निबन्ध माला( ८,९र १० ) किन्नुपर्ने छ।
यसैगरी अंग्रेजीमा पनि थप दुई किताब राखेका छन्। नेपाल सरकारको आवर इंग्लिस बाहेक विद्यार्थीले अक्सफोर्डको गाइडेड इंग्लिस र रिडमोर पब्लिकेशनको मेक्सिमम अफ इंग्लिस ग्रामर बुक ८ थप किन्नु र पढ्नुपर्ने बाध्यता छ।
यसैगरी एलाइड प्रकाशनको म्याथ लिंक, विद्यार्थी पुस्तक भण्डारको मोर्डन ग्रेडेड साइन्स, कोशेली प्रकाशनको सोसल स्टडिज र हेल्थ एन्ड फिजिकल इजुकेशन, क्रियाटिभ पब्लिकेशनको कम्प्युटर बुक, विद्यार्थी पब्लिकेशनको परफेक्ट अपसनल म्याथ, कोशेलीको सिभिक्स एन्ड मोरल साइन्स, अक्फोर्डको अक्सफोर्ड एडभान्स लर्नस डिक्सनेरी र एकताको हाइ स्कुल एसे किताबको लिस्ट अभिभावकहरुलाई थमाएका छन् ।
यसैगरी कक्षा १–३ मा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय गरी कूल पाँच विषय पठनपाठन गराउनु पर्ने शिक्षा ऐनमा व्यवस्था छ। तर निजी विद्यालयहरुले पाठ्यक्रमको ठाडो उल्लङ्घन गरी १२ वटासम्म किताबहरु अनिवार्य विषयकै रुपमा किन्न लगाएको गुनासोहरु अभिभावक महासंघमा आएको अध्यक्ष भण्डारी बताउँछन्। ‘कतिपय प्रकाशकहरुले पुरानै किताब लगाएर पाठ्यक्रमको अवज्ञा गरेका छन् भने धेरैले विद्यार्थीलाई पाठ्यक्रमभन्दा बढी किताब किनाएर अभिभावकलाई आर्थिक बोझ र नानीहरुलाई मानसिक तनाव दिएका छन्,’ अध्यक्ष भण्डारी प्रश्न गर्छन् ‘निजी शिक्षा कसले लगाएको छ ? शिक्षा मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र , पाठ्यक्रम विकास केन्द्र तथा स्थानीय सरकारको मातहतमा समेत गरी चार वटा निकायहरु अन्तर्गत अनुगमन समिति छ तर किन कसैले अनुगमन र दोषीलाई कारबाही गर्न सक्दैन ?’
उनले थपे ‘निजी विद्यालयहरु खुला रुपमा सरकारको कानूको ठाडो उल्लङ्घन गरेर निजी प्रकाशकहरुसँग मोटो कमिसनको पाउने लोभमा वर्षेनी नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार नै हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयहरुलाई कानूनी दायराभित्र ल्याउनुपर्छ।’
अध्यक्ष भण्डारीले देशभरिका ठूला र साना सबै निजी विद्यालयहरु विद्यार्थीलाई कोर्षभन्दा बढी किताब किन्न बाध्य बनाएका छन्।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले केन्द्रमा पनि निजी विद्यालयहरुको पाठ्यपुस्तकमा मनोमानी विषयबारे गुनासाहरु आएको बताए। उनले निजी विद्यालयहरुले पाठ्यक्रमभन्दा बढी पुस्तक अभिभावकहरुसँग किन्न लगाउनु गलत भएको बताउँदै यस्ता विद्यालयहरुलाई केन्द्रले अनुगमन गरी कारबाही गर्ने बताए । ‘अभिभावकको ढाड सेक्ने गरी पुस्तक थोपार्ने निजी विद्यालयहरुको काम शिक्षा ऐन विपरित छ,’ महानिर्देशक अर्यालले नागरिकसँग भने ‘केन्द्रीय अनुगमन समितिले यो साता अनुगमन गरी दोषीलाई कारबाही गर्छ।’
नयाँ पत्रिकाबाट