अविरल बर्षा सँगै पहिरो झर्न थालेपछि पुर्तिघाट बजारमा जोखिम, रातभरि निदाएनन् बजारबासी
हरि कुमार केसी
गुल्मी, २४ असार २०७८ ।
बुधबार बेलुकी देखि परेको अविरल बर्षा सँगैको पहिरोले गुल्मीको पुर्तिघाट बजार मा ४ घर उच्च जोखिममा परेका छन् ।कालीगण्डकी गाउँपालिकाको केन्द्र समेत रहेको पुर्तिघाट बजारमा पहिरोको जोखिम बढेपछि स्थानीयहरु जाग्राम बसेका हुन् ।
असारको पहिलो हप्ता परेको पानीले पुर्तिघाट बजारको माथिल्लो भू–भागबाट पहिरो झरेको थियो । सो पहिरोले २ घर परिवारलाई विस्थापित गरेको थियो भने अन्य ३ घर उच्च जोखिममा परेको थियो । सोही दिन कालीगण्डकी नदीमा आएको बाढीले बजारमा रहेको कालीगण्डकी पाउरोटी उद्योगमा पनि क्षति पुगेको थियो ।
पुराना घटनाले तर्सित बनेका पुर्तिघाट बजार बासी बुधबार राती १२ बजे देखि जाग्राम बसेर रात कटाए । भिषण वर्षाले असारको पहिलो हप्ता झरेको पहिरो फेरि झर्न थालेको छ । जसले गर्दा कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटका सुर्य बहादुर श्रेष्ठ, कमल राना, सुजन श्रेष्ठ र जीत बहादुर नेपाली को घर उच्च जोखिममा रहेको वडा सदस्य टुक बहादुर सार्कीले जानकारी दिनुभयो ।
पहिरो सँगैको लेदो पस्दा सँगै रहेको राज मोटरसाइकल वर्कशप, दाजुभाइ मिट मार्ट, साइमन एण्ड समीप इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ । क्षति पुगेका पसल र जोखिममा रहेका पसलका सामानहरू सुरक्षित स्थानमा सारिएको छ भने जोखिममा रहेका परिवार सुरक्षित स्थानमा सरेको वडा सदस्य सार्कीले बताउनुभयो ।
इजरायल द्वारा २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग,सामग्री काठमाडौं आइपुग्याे
काठमाडौं, २४ असार २०७८ ।
इजरायलले नेपाललाई २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
इजरायलकाे सहयाेग स्वरूप २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेकाे हाे । ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले बताउनुभयाे ।
नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौं ल्याइएको छ । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गर्नुभएकाे छ ।
काेराेना भाइरस कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत आफ्नै पहलमा पठाएको राजदूत शाक्यकाे भनाइ छ ।
नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका बताइएकाे छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कडा नियम कागजमा मात्रै,झण्डै ८७ लाख पुगे प्रयाेगकर्ता
काठमाडौं, २४ असार २०७८ ।
सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कागजमै सीमित देखिएकाे छ ।
सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण गर्ने उद्देश्यले कानुन बनाइए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ भने सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढिरहेकाे छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन सकेकाे छैन ।
सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुने भनेर सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ मा उल्लेख छ । तर उक्त प्रावधानविपरीत सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरु प्रशस्त देखिन्छन् भने उनीहरुमाथि कारवाहीका लागि प्रभावकारी संयन्त्रको विकाससमेत हुन सकेको छैन । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई हालसम्म उक्त ऐनअनुसार सम्बन्धित निकायले कारवाही गरेकाे छैन । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्न नदिनका लागि भन्दै कानुन बनाइए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ ।
नियन्त्रण तथा नियमनको अभावमा उक्त ऐन प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजार जनाको मृत्यु हुनेगर्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि कर वृद्धि गर्नुपर्ने सरोकारवालाको भनाइ छ । सरकारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थबाट ३६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्दै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट नसर्ने रोगहरुको जोखिम झन् बढ्दै गएको छ । मिर्गौला, मुटु, कलेजो, मधुमेह आदि नसर्ने रोगका बिरामी बढ्दै गइरहेको धिमाल बताउनुहुन्छ ।
वार्षिक एक खर्ब ९ अर्ब रुपैयाँ सुर्तीजन्य पदार्थमा खर्च
वार्षिक रुपमा सुर्तीजन्य पदार्थको प्रयोगमा १ खर्ब ९ अर्ब रुपैयाँ खर्च हुने गर्छ । परिषद्को अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको एकजना प्रयोगकर्ताले मासिक सरदर १ हजार ५० रुपैयाँ खर्च गर्ने गर्छ । अर्थात् एक वर्षमा सुर्तीजन्य पदार्थको एक प्रयोगकर्ताले औसत १२ हजार ६ सय रुपैयाँ खर्च गर्दछ ।
वार्षिक ५० अर्बभन्दा बढी उपचारमा खर्चः सुर्तीजन्य पदार्थ प्रयोगका कारण निम्तिने रोगको उपचारका लागि वार्षिक ५० अर्बभन्दा बढी खर्च हुने गर्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालको कुल जनसंख्याको २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । करिब ८६ लाख ७० हजारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशतमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्युः विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ । सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ भने सँगै बस्ने मानिसले सेवन गरेको चुरोटको धुवाँकै असरका कारण निम्तिने रोगबाट बर्सेनि १२ लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि यस्तो छ ऐनमा व्यवस्थाः
– सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन । यदि नियम उल्लंघन गरेमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुनसक्छ ।
– कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइँदैन, यदि नियम उल्लंघन गरेको खण्डमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
– १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन् । यदि त्यसो गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइँदैन । यदि यो नियम उल्लंघन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पाइँदैन । यदि त्यसरी विक्री गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– निःशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइँदैन । यदि यस्तो गरेको खण्डमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।
चितवन, २४ असार २०७८ ।
चितवनका बस्तीमा बाढी पसेकाे छ ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी आउँदा चितवनको माडीमा नजिकका बस्तीमा बाढी पसेकाे हाे । बाढी पसे पछि बस्तीहरू डुबानमा परेका छन् । बाढीले रौतने खोला छेउको ड्याम कटान गरे पछि माडी-३ मलाहीटोल डुबानमा परेको छ । डुबान भएसँगै त्यहाँका घरहरूमा पानी पस्न थालेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती पनि डुबानमा परेको छ । डांग्रेखोलामा आएको बाढीले सुकुमबासी बस्ती डुबानमा परेको हाे ।
साथै माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती पनि डुबानमा परेको छ । मगइ खोलामा बाढी आउँदा बिजुलीका पाेल समेत बगाएकाे छ । पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको छ ।
यस्तै रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् । पानीको सतह बढेर खोलाले कटान गर्दा जिल्लाकाे सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ ।
सुजन प्रेमी
बागलुङ, २३ असार २०७८ ।
जैमिनीमा भेरोसेल खोपको दोश्रो मात्रा लगाइएको छ । बुधबार जैमिनीका ४ सय २२ जनालाई कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइएको हो ।
पहिलो डोज लगाएका ५ सय २३ जनामध्ये बुधबार २ सय २४ महिला र १ सय ९८ जना पुरुष गरी ४ सय २२ जनाले खोप लगाएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । संख्या अनुसारको खोप मगाएको भएपनि झण्डै एकसय जना खोप लगाउन नआएकाले बिहिबार पनि खोप कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाई छ ।
खोपको पहिलो मात्रा लगाएर अन्यत्रबाट जैमिनीमा आएकाहरुले खोपको कार्ड देखाएमा दोश्रो मात्रा लगाउन पाउनेछन् । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको खोपकार्ड अनिवार्य लैजानुपर्नेछ ।
काठमाडौँ, २३ असार २०७८ ।
जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको हो ।
आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका छन् । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । सोअनुसार गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख दुई हजार ५१६ आवेदकले शेयर पाएनन् ।
कम्पनीले रु. एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये जारी पुँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
तर सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट नखुल्दा धेरै नागरिकहरू समस्यामा परेका छन् । सर्भरमा लाेड भएकाे भन्दै अर्काे वेवसाइट खाेलेकाे सिडिएसले बनाएकाे सबडाेमेन पनि नखुल्ने समस्या देखिएकाे छ ।
तनहुँ, २३ असार २०७८ ।
पृथ्वीराज मार्गमा पर्ने डुम्रे आँबुखैरेनी खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ । दुर्घटनामा मोटरसाईकल चालक आँबुखैरेनी गाउँपालिका–.२ मार्कीचोक बस्ने बर्ष ३१ को दुर्गा भुजेलको घटना स्थलमा मृत्यु भएको, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
पछाडी सवार सोही ठाउँका बर्ष १७ को साजन भुजेलको दायाँ खुट्टामा चोट लागेको र उहाँको आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो २ः४५ बजे आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ना ६ ख ६११८ न.को ट्रकको दायाँ साईडमा विपरीत दिशाबाट आउदै गरेको लु ८ प ८३५३ न.को मोटरसाईकल ठोकिन गई उक्त मोटरसाईकल अनियन्त्रित भई पछाडीबाट आउदै गरेको ना.६ ख ४४४७ न.को ट्रकमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित बासिन्दाले दुई घण्टा पृथ्वीराजमार्ग अबरुद्ध पारेका थिए ।
अबरुद्ध राजमार्ग साँझ ५ बजेबाट सुचारु भएको छ । घटनामा सलग्न दुवै ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेमा राखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टमो लागि शवलाई दमौली अस्पतालमा ल्याईएको छ ।
काठमाडौँ, २२ असार २०७८ ।
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बिहीबार पनि यही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौँमा २८ मिलिमिटर वर्षामापन गरिएको छ ।
काठमाण्डाै, २२ असार २०७८ ।
युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो । खेल इङ्ग्ल्यान्डको वेम्बली मैदानमा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।
इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ ।
भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै
काठमाडौं, २२ असार२०७८ ।
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
जसअन्तर्गत काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।