बर्दगोरियामा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई पेशाप्रति गर्व गर्ने बनाउछौ; अध्यक्ष डगौरा गुणस्तरीय शिक्षाप्रति सरोकारवाला निकाएको चासो र चिन्ता
बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले सरकारले अघि सारेको गुणस्तरिय र सर्वसुलभ शिक्षाको नारालाई साकार पार्न छिट्टै नयाँ कार्यनीति तयार पारी अगाडि बढ्ने बताउनुभएको छ । नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँकार्य समिति ,कैलालीले शनिबार बालकन्या मावि कट्टिपुरमा विजया दशमी, शुभ दिपावलि तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डगौराले सो कुरा बताउनुभेको हो ।
आधारभूत र माध्यमिक तहको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहले पाएको भन्दै पालिकामा रहेका सामुदायिक विद्यालयका कर्मचारी, बालबालिका र तिनीहरुको व्यवस्थापनका निम्ति अविलम्ब रूपमा शिक्षा नीति तयार पारी कार्यगर्ने तयारी भएको बताउनुभयो । पालिकाको शिक्षा संयोजक समेत रहेका अध्यक्ष डगौराले बालबालिकाको शैक्षिक गुणस्तर उकास्न, विद्यालयको व्यवस्थापन गर्न, त्यहाँ कार्यरत निजी स्रोत शिक्षक, कर्मचारी, बालबिकास शिक्षक र लेखापालको व्यवस्थापनको लागि नयाँ नीति तयार पारी अगाडि बढ्ने बताउनुभयो । हिजोका दिनमा विद्यालयले आफूखुशी शिक्षक भर्ना गर्ने, स्थानीय तहसंग समन्वय नै नगरी निजि स्रोतमा शिक्षक नियुक्ति गर्ने परिपाटीले अहिले समस्या निम्त्याएको भन्दै त्यसको दिगो समाधानका लागि शैक्षिक नीति लागू गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले नयाँ शिक्षा नितिका साथ आफुहरु अगाडि बढ्ने बताउदै यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक ,कर्मचारीलाई पेशाप्रति गर्व गर्ने वातावरण आफ्नै पालामा सृजना गर्ने दाविसमेत गर्नुभयो । उहाँले पालिकामा शिक्षा समिति गठन भईसकेको बताउदै, यसले शिक्षा शाखा, सरोकारवाला निकाय संगको बहस र छलफल गरि, नयाँ शिक्षा नीति लागू गर्ने बताउनुभयो । कतिपय स्कुलमा विद्यालयको चाप बढी तर शिक्षक सङ्ख्या न्यून अबस्थामा पाइएको ,कतिपय स्कुलमा बालबालिकाको सङ्ख्याको न्यून तर शिक्षकको सङ्ख्या बढी देखिएको हुँदा यो समस्या पनि समाधान गर्न सबैको सहकार्य र आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि कार्यविधिनै आवश्यक रहेको बताउदै शिक्षा बालबालिकाको भविस्यका निम्ति प्राथमिकताको विषय भएकाले यसलाई व्यवस्थित गर्न सबैको सहयोग आवस्यक रहेको बताउनुभयो । उहाँले पालिकाले सरोकारवाला निकायको समन्वयमा तयार पारी लागू गर्ने नयाँ शिक्षाअनुसार अबका दिनमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनमा समेत सुधार ल्याउने बताउनुभयो ।
वडा अध्यक्ष खतिवडाले पछिल्लो समय शिक्षा क्षेत्रमा समेत देखिएको राजनीति भागबन्डाले समेत काममा अवरोध सृजना गर्दै आएकोले शिक्षाका नाममा राजनीति गर्नु उचित नभएको बताउनुभयो । बालबालिकाको भविस्यसंग जोडिएको शिक्षालाई प्रभावकारी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सामुदायिक विद्यालय,त्यहाँ कार्यरत शिक्षक कर्मचारीको अवस्था र गुणस्तरीय शिक्षाबारे चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सेवा निर्वित शिक्षकहरुलाई सम्मानपनि गरिएको थियो । नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँकार्य समितिका अध्यक्ष बलराज भाटको सभाध्यक्षतामा भएको कार्यक्रममा, विभिन्न शिक्षक संघ/संगठनमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
धनुषा । प्रहरीकाअनुसार धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी हुन् ।
धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।
गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनले यस विषयमा थप अनुसन्धान भईरहेको बताए ।
काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन्।
बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन्।
शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए।
गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ। गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए।
अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन्।
बाँके र पर्सासहित चार जिल्लाका सिडिओ हेरफेर
काठमाडौं। गृह मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। बाँके, पर्सा, रौतहट र सुनसरीका सिडिओको सरुवा भएको हो।
पर्सामा उमेश ढकाललाई पठाइएको छ। उनी सुनसरीमा सिडिओका रूपमा कार्यरत थिए। रौतहटमा सिडिओका रूपमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरीको सिडिओ बनाइएको छ। त्यस्तै, बाँकेमा उपसचिव सूर्य खत्रीलाई कामु सिडिओका रूपमा पठाइएको छ। उनी गत महिना मात्र उद्योगबाट गृहमा आएका थिए।
पर्साका सिडिओ पीताम्बर घिमिरे, बाँकेका सिडिओ शिवराम गेलाल गृह मन्त्रालयबाट बाहिरिएका छन्। गृहले गत साता मात्र एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको थियो।
काठमाडौं। दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले सबै सरकारी कर्मचारीहले कोभिड-१९ को खोप अनिवार्य रुपमा लगाउनुपर्ने र, खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नै नपाउने नियम र्निारण गरेको छ ।
एएनआईले जनाएअनुसार संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा भनिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।
‘यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड-१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ-आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,’ वक्तब्यमा भनिएको छ ।
यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड-१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।
नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।
घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।
जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।
यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ । पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।
श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ ।
जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
संघीय निजामती ऐनमा सरकारको बेवास्ता
काठमाडौं । चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि रहँदै आएको सो विधेयक सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले फिर्ता गरिदिएको छ ।
सो विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन ल्याउने विषयमा सरकारले पूर्ण रूपमा बेवास्ता गरेको पाइएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संघीय निजामती सेवा विधेयक–२०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बहुमतले स्वीकृत गरेसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन निर्माणमा अन्योल बढेको हो ।
सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा देशको कर्मचारी प्रशासन २९ वर्ष अघि बनेको निजामती सेवा ऐन र नियमावलीअनुसार सञ्चालन हुन बाध्य छ । केन्द्र सरकारले सो कानुन बनाउन नसक्दा प्रदेशले प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउन सकेका छैनन् ।
प्रतिनिधिसभाका पेस भएको विधेयक फिर्ता गरिएसँगै सरकारले अध्यादेशमार्फत सो कानुन ल्याउने सम्भावना बढेको छ । तर प्रशासकहरूले भने दीर्घकालीन महत्व राख्ने सो कानुन अध्यादेशमार्फत ल्याउन नहुनेमा जोड दिँदै आएका छन् । याे समाचार आजको राजधानी दैनिकमा छ ।
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन। महाशाखाका अनुसार हाल प्रदेश नं १ र बांकी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन २३ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आश्विन २४ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आश्विन २५ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा प्रदर्शन जसपाका कार्यकर्ताद्वारा उपेन्द्र यादवको पुत्ला दहन
वीरगन्ज। पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन्।
सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ वीरगन्जमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कालो नागको संज्ञा दिंदै उनको पुत्ला जलाएका छन्। साँझ घण्टाघर चोकमा भेला भएका सांसद यादवका कार्यकर्ता र शुभचिन्तक युवाले पार्टी कार्यालयको साइन बोर्ड झिकेर आगो लगाएका छन्।
प्रदर्शनमा सहभागीले ‘उपेन्द्र यादव काला नाग मुर्दावाद’, ‘पार्टी कसैको बाउको होइन’, ‘जसपाको शान प्रदीप यादव’, ‘हाम्रो नेता कस्तो होस् प्रदीप यादव जस्तो होस्’ जस्ता नारा पनि लगाएका थिए।
सामाजिक सन्जालमा पनि सांसद यादव निकटका पार्टीका युवा कार्यकर्ताले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी आक्रोश पोखेका छन्। यता सांसद यादवले पनि मधेस आन्दोलनको जननी भूमी पर्सा र वीरगन्ज फेरि ठगिएको गुनासो गरेका छन्।
जसपाले मन्त्री नबनाएपछि शुक्रबार साँझ सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै सांसद यादवले जनधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको बताएका छन्।
फेसबुक पेजमा उनले लेखेका छन्, ‘मधेश आन्दोलनको उद्गम स्थल र बिगुल फुक्ने वीरगन्जलाई नजर अन्दाज र किनारा गरिएको छ, वीरगन्ज आज फेरि ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोशित भएका छन्। यसपटक पक्कै पनि पर्सा र वीरगन्जलाई न्याय र सम्मान गरिने छ भन्ने विश्वास थियो। तर प्रतिफल उल्टो भयो । तर पनि नेतृत्व प्रति मेरो कुनै टिप्पणी छैन। मूल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु।’
यादवले यस परिस्थितिमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासँग अनुरोध पनि गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सांसद यादव मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। त्यसका लागि उनका कार्यकर्ता पटक-पटक काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब पनि दिंदै आएका थिए।
तर अन्तिम समयमा शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीका लागि ४ जना नेता रामसहाय यादव , राजेन्द्र श्रेष्ठ , रेणु यादव र महेन्द्र राय यादवको मात्रै नाम सिफारिस गरेपछि सांसद यादव मन्त्री बन्नबाट बन्चित हुन पुगेका हुन्।