जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।
त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताए।
उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए। प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्कसमेत गरे।
कोहलपुर। बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन्।
जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए। ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ’, उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ।’
दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गाभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन्।
एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो। उनी भन्छन्, ‘काम सकेर आए सहज हुने भनिएपछि ढिला जाहेरी दिइएको हो।’
प्रलोभनमा पारेर दुर्व्यवहार
प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ। नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन्।
‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आत्महत्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो’, एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं।’
म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ। एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ।
‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो’, एलिसाका बुबाले भनेका छन्।
एक अनुसन्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौ, मिस यू, तिमी मलाई विश्वास गर्छौ होला, फोटो पठाइदेउ’ जस्ता म्यासेजहरु गरेका छन्। ती म्यासेजबाट नाबालिक छोरीलाई ललाईफकाई झुक्याएर यौन शोषण समेत गरेको शाहको परिवारका सदस्यहरुको दाबी छ।
‘प्रभावमा यौन शोषण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बेइज्जत हुन्छ भन्ने डर, त्रासले आत्महत्या गरेको देखिन्छ’, आफन्त आदर्शले भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने, अरुसँग कुराकानी गर्न र हिँडडुल गर्न पनि नदिने र अस्वाभाविक व्यवहार गर्ने गरेको खुलेको छ।’
प्रहरीका अनुसार पाण्डेले मृतकलाई ‘रेडमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ।
कानून भन्छ: नाबालिकसँग सहमतिमै सम्बन्ध भएपनि बलात्कार
मुलुकी अपराध संहिताले नाबालिकसँग सहमतिमै शारीरिक सम्बन्ध भएपनि त्यसलाई जबरजस्ती करणी मानेको छ। तर पीडितले आत्महत्या गरिसकेको अवस्थामा जबरजस्ती करणीको कसूरलाई स्थापित गर्न गाह्रो हुने कानूनका जानकारहरुले बताएका छन्।
पहिलेभन्दा फरक प्रकृतिको घटना भएकाले प्रहरीले चाहिँ सरकारी वकिलसँग समन्वय गरिरहेको छ। एक वकिलका अनुसार बालिका जीवित भएको भए उनको बयान र शारीरिक परीक्षणबाट बलात्कार भए/नभएको पुष्टि गर्न सकिन्थ्यो।
अब परिस्थितिजन्य प्रमाण, म्यासेजमा भएको डिटेल र बालिकाको साथीहरुको बयानका आधारमा मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने स्थिति रहेको ती वकिलले सुनाए। ‘च्याटमा सम्बन्ध झल्किने गरी कुराकानी भएको देखियो, स्थापित हुनसक्छ’, उनी भन्छन्, ‘मेडिकल रिपोर्टबाट पनि यस्तो केसमा स्पष्ट खुल्दैन।’
विरोध प्रदर्शन
शिक्षक पाण्डेलाई शुक्रबार पक्राउ गर्न प्रहरी जाँदा स्थानीयले जुत्ताको माला लगाइदिने प्रयास गरेका थिए। त्यसक्रममा आक्रोशित स्थानीय र प्रहरीबीच घम्साघम्सीसमेत भयो।
प्रदर्शनमा संलग्नहरुले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। डीएसपी खनालले अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएको छ। आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो।
एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ। जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो।
तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन।
जोशीपुर वडा नम्बर ३ का वडा अध्यक्ष कठरिया भन्छन् – जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्छु
जोशीपुर,कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशोर कठरियाले जनताको विकास, समृद्धि र सुशासनप्रतिको अभिलाषा क्रमिक रूपमा पूरा गदै अगाडि बढिरहेको बताउनु भएको छ । उहाँले निर्वाचनमा जनतालाई एउटा वडा अध्यक्षको हैसियतले गर्न सक्ने वडाको भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा र सचेतना अभिबृद्धिलाई टेवा पुग्ने काम गर्दै आएको दावी गर्नुभयो ।
जनताको विकास र समृद्धिका लागि लागि वडावासीसंगको सहजिकरण, सुशासन र पारदर्शिताको कुराहरु नै मुख्य रुपमा आफुले अघि सारेको बताउनुभयो । वडा अध्यक्ष कठरियाले निर्वाचनमा मुख्यत शिक्षा, स्वास्थ र सडकबाटो जस्ता आधारभुत कुराहरू गरेको भन्दै ती सबै क्रमिक रूपमा पुराहुदै गएको बताउनुभयो ।
आफ्नो कार्यकालको अन्तिम चरणमा आउँदा प्रत्यक्ष अप्रत्यक्ष रूपमा आम वडाबासीको बिकास निर्माणमा राम्रै सहयोग र सहभागीता पाएको उहाँले बताउनुभयो ।
आफ्नो कार्यकालमा भए गरेका र हुँदै गरेका विकास निर्माण बारे सुदुरचित्र संग कुरागदै उहाँले वडा नम्बर ३ को मनिकापुर चोकदेखि फाडिया गाउँसम्मको करिव १ हजार १ सय मिटर सडक पिच, लक्कड देखि जोशीपुर बजारसम्मको ३ सय ६० मिटर, लक्कडदेखि फाडिया जाने करिब १ सय ५२ मिटर, भितृया गाउँमा २ सय ८० मिटर र बन्जरिया गाउँमा करिब ३ सय १०मिटर सडक पिच गरेको र वडामा ९० प्रतिशत सडक ग्राभेल गरिएको बताउनुभयो ।
वडा अध्यक्ष कठरियाले जनताको आधारभुत स्वास्थ्य सेवाका लागि बन्जरियामा स्वास्थ्य इकाई भवन, लक्कडमा सामुदायिक भवन, मनिकापुर ,फाडिया गाउँ र बन्जरियामा खेल मैदान बनाइएको बताउनुभयो । यसैगरी शिक्षाको विकासका लागि वडामा रहेका सबै विद्यालयमा अनुगमन ,फोटोकपि मेसिन,कम्प्युटर , ल्यापटप तथा विद्यार्थीलाई खेलकुद सामाग्री ,पोशाक ,झोला लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । यस्तै उहाँले विद्यालयको गेट,भवन तथा पर्खाल निर्माण र वडाका युवा युवतीलाई विभिन्न सीप मुलुक तालिमसमेत प्रदान गरेको बताउनुभयो ।
वडा अध्यक्ष कठरियाका अनुसार सिचाइको सुविधाका लागि वडाका विभिन्न टोलमा २५ वसा बोरिङ, पाइप वितरण गरिएको छ भने सामुदायिक वनको वृद्धि विकासका लागि विभिन्न चरणमा तालिम तथा बृक्षारोपण र अनुगमन गरिएको छ । यसैगरी वडाका विपन्न नागरिकलाई सहयोग ,जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता,अपांग वृद्धलाई ह्वील चेयर तथा न्यानो लुगा वितरण गरिएको छ ।
यसैगरी काडा कुइरा नदिका कारण बर्सेनि हुने कटान रोक्न यसैसाल तटबन्ध र समुदायमा पार्क निर्माणको काम सुरु हुनेछ । यसैगरी मनिकापुरमा स्वास्थ्य इकाई, काडा नदिमा झोलुङ्गे पुल, वडा ३ का सबै गाउँ जोड्ने रिङरोड कालोपत्रे र वडा कार्यालयको भवन यसपटक प्राथमिकतामा राखिएको छ ।
कञ्चनपुर। सशस्त्र प्रहरी बलका जवानमाथि भारतीय तस्करहरुले कुटपिट गरेका छन्। जिल्लाको दोधाराचादनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा ड्युटीमा खटिएका जवान देखेर तस्करले कुटपिट गरेका हुन्।
अवैध समान ओसारपसार गर्न नदिको भन्दै उनीहरु परिवारसहित आएर पोसाकमै रहेका जवान सुदिप सुनारलाई कुटिएको हो। सोमबार राति भारतबाट अवैध समान नेपाल ल्याउँदा सिमानाकामा खटिएका प्रहरी जवान सुनारले रोकेपछि तस्कर अर्जुनकुमार सहितको टोलीले उनिमाथि आक्रमण गरेका हुन्।
सुन्दरनगर नाकामा सिमानाकाको सुरक्षाका लागि सशस्त्र प्रहरी जवान सुदिप सुनार एक्लै ड्युटीमा खटिएका थिए।
दोधारा चादनी नगरपालिमा खुल्ला सिमानका भएका कारण सिमानाकामा बाक्लो रुपमा सुरक्षा निकायलाई राख्न अहिले पनि सशस्त्र प्रहरीको जनशक्तिको नै अभाव रहेको छ ।
जसका कारण सिमनाकाको सुरक्षाको लागि केही ठाउँमा एक जना जवानलाई ड्युटीमा राख्नुपर्ने बाध्यता आएको र यसको फाइदा तस्करले उठाउँदै आएका छन्।
यसरी सिमानाकाको सुरक्षाको लागि पोसाकमा खटिएका सशस्त्र प्रहरीका जवान नै कुटिएपछि स्थानीय त्रसित भएका छन्। आफूपनि सुरक्षित नभएको महसुस गर्दै जवानमाथि हात हाल्ने पक्षलाई छिटो भन्दा छिटो पक्राउ गरि कारवाही गर्न मागसमेत गरेका छन्।
ड्युटीमा खटिएका जवानलाई आक्रमण गर्ने गिरोहलाई भारतले पक्राउ गरेको छैन। दोधारा चाँदनीका स्थानीय कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् भने घटनाको बिरोध गर्दै सोमबार राति नै सिमानाका नजिकै टायर समेत बालेका थिए।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गरिरहेका छन्।
अवरोधबीच सभामुख अग्नि सापकोटाले संसद् बैठकलाई अगाडि बढाएका हुन्। बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका छन्।
१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री कार्कीले संसद्लाई जानकारी गराएका हुन्। विधेयक फिर्ताको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोध गरेका थिए।
सभामुख सापकोटाले विधेयक बहुमतले फिर्ता लिने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्। योसँगै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ। सभामुख सापकोटाले सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।
वीरगन्ज। वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्न लागेकै अवस्थामा एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया बालिका जयुनत खातुनको शव प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको हो।
शंकास्पद मृत्यु भएकी ती किशोरीको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिई कब्रस्तानमा बिहीबार साँझ लगेर दफनाउन (गाड्न) लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। शव अहिले वीरगन्जस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ।
किशोरीको मृत्यु शंकास्पद देखिएकाले शवको पोष्टमार्टम वीरगन्जमै गर्ने कि काठमाडौं पठाउने विषयमा छलफल भइरहेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। मृत्युको कारण लुकाउन हतार हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये पर्साकोका जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक किशोरीकी आमा, बुबासमेत गरी ९ जना रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
घटना के भएको हो ?
मृतक बालिका जयुनत खातुन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीमका कान्छा छोरा जाकीर मिया धुनियाकी आफ्नै साली हुन्। भारत घर भएकी उनी विगत केहि समयदेखि आफना दिदी भिनाजुसँग बस्दै आएकी थिइन्।
प्रहरी उपरीक्षक पाण्डेका अनुसार बिहीबार अपरान्ह वीरगन्जको मुर्लीस्थित कब्रस्तानमा ४/५ जना व्याक्तिले एक किशोरीको शव हतार हतारमा गाड्न लागेको सूचना प्रहरीलाई दिएका थिए। उक्त सूचना पाएर इलाका प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर कब्रस्तानमा पुगेर खातुनको शव नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाण्डेले बताए।
त्यसपछि वीरगन्जस्थित गाँउपालिका अध्यक्ष मियाको घरमा पुगेर प्रहरीले खानतलाशी गर्दा कोहि पनि पुरुष नभेटिएको पाण्डेले बताए। प्रहरी उपरीक्षक पाण्डेले भने, ‘मृतक किशोरीको घाटीमा नीलडाम पनि देखिएको छ, तर प्रहरीलाई प्राप्त सूचनामा भने जालीमका कान्छो छोराले जबरजस्ती करणी गरेको र त्यसक्रममा अत्याधिक रक्तश्राव भएर उपचारका क्रममा खातुनको मृत्यु भएको भन्ने छ।’
किशोरीको मृत्युको कारण आत्महत्या हो वा जबरजस्ती करणी हो भन्ने विषय यकिन भइ नसकेको पाण्डेले बताए। पाण्डेले भने, ‘मृत्युको कारण शवको पोष्टमार्टमपछि मात्रै यकिन हुन्छ।’
असोज १० गते ती किशोरीको वीरगन्जस्थित प्रभु हस्पिटलमा लगेर उपचार गराएको अस्पतालको पूर्जी अभिभावकले देखाएकोले यस बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।
प्रहरी नियन्त्रणमा रहेका मृतक किशोरीका अभिभावकले भने किशोरीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा सेवन गरेको औषधिका कारण अत्याधिक रक्तस्राव भएको तर्क गरेका छन्।
प्रहरी उपरीक्षक पाण्डेले भने, ‘घटना निक्कै शंकास्पद देखिएको छ, मृतक किशोरीकै बुबा आमाले पनि केहि बोल्न मानिरहेका छैनन्, आरोपितहरु फरार छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ।’
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ। शुक्रबार बसेको जसपा शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुङ्याएको हो।
स्रोतका अनुसार जसपाले यो पटक राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने निर्णय गरेको हो। नेताहरुले पहिला मन्त्री भइसकेको नेताहरुलाई नदोहोर्याउने रणनीति अपनाइको हो।
नेताहरुबीच पहिले मन्त्री भइसकेकाहरुलाई दोहोर्याउने या नदोहोर्याउने भन्ने बिषयमा लामो छलफल नै गरेका थिए। तर अन्त्यमा नयाँ अनुहारलाई नै पठाउने भन्ने विषयमा सहमति जुटेको बताइएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले ४ मन्त्रालय पाउने भएको छ। जसमा जसपालाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिइएको छ।
मन्त्री छान्न शुक्रबार मात्रै अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले छलफलमा जुटेका थिए। प्रधानमन्त्री देउवाले आजै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका छन्।
प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, बुझाएनन् नयाँ मन्त्रीहरूको नाम
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शुक्रबार बिहान शीतल निवास पुगेका हुन्।
भेटवार्तामा मन्त्री मण्डल विस्तारका विषयमा छलफल भएको थियो। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि भेटमा देउवाले मन्त्रीहरुको सूची बुझाएनन्। प्रधानमन्त्री देउवा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल भएको छ।
सत्ता गठबन्धनमा आवद्ध सबै दलले मन्त्रीको नाम दिए प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन्। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्। देउवा असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका थिए।
काठमाडौं। नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ।
स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो। जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन्।
यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन्। स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने उपमहासचिव ज्वालाले जानकारी दिए।
महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरु ज्वाला, तुलाधर, पौडेल र खतिवडा रहेको केन्द्रीय कार्यालय पनि बनेको छ।