बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ । त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।
महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यसवर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनमा यस वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ ।
प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि एक दशमलव आठ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको थियो ।
यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने छ ।सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ । भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ ।
हामी विकासमा फड्को मार्दैछौ ;वडा अध्यक्ष डगौरा
जोशीपुर,कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नत्थु प्रसाद डगौराले विकास निर्माणका हरेक सवालमा सबैसंग साझेदारी गरि अगाडि बढिरहेको बताउनु भएको छ । उहाँले विकास निर्माणका हरेक सवालमा वडाबासीको समान सहभागिताको विकल्प नभएको बताउनुभयो ।
आफु जनताको प्रतिनिधि भएको हुँदा वडाको समग्र विकास निर्माणको कार्यलाई मुर्तरुप दिन सवै वडाबासीको साथ र सहयोग आवश्यक रहेको डगौराले बताउनुभयो । आफुले वडाको जिम्मेवारी सम्हाल्दै आएको करिव पाँच वर्षको अवधिमा कसैलाई पनि काखापाखा नगरी सवैलाई समेटेर अगाडि बढेको दावि गर्नुभयो । निर्वाचित भयर यहाँसम्म आइपुग्दा वडाबासीको लागि के कति काम गर्नुभयो ? भन्ने प्रश्नमा उहाँले वडा नम्बर ६ अहिले विकासको चरणमा रहेको बताउनुभयो ।
उहाँले हालसम्म वडामा ४ सय मिटर बढी सडक पिच गरिएको, वडा नम्बर ७ को सीमादेखि वडा नम्बर ६ को रिङरोड पिचको तयारी भएको र यसैसाल त्यो पुराहुने बताउनुभयो । यसैगरी घैलानालामा पक्की पुल,
भगतपुर लोखरीसम्मको डेढ किलोमीटर सडक पिचको तयारी अबस्थामा रहेको बताउनुभयो । वडा अध्यक्ष डगौराले प्रदेश सरकारको सहयोगमा राष्ट्रिय निमावी सीमरीको चर्पीसहित तीन कोठे पक्की भवन ,राम जानकी प्राविको दुईकोठे भवन ,लोकरी स्कुलमा दुई तले भवन तथा राष्ट्रिय माविमा प्रखाल बनाइएको बताउनुभयो ।
उहाँले कृषिमा वडाको तर्फबाट ६ वटासहित ३५ बोरिङ हालिएको ,दुईटा डीप बोरिङ र लोखरीमा यो साल खानेपानीको पाइपलाइन सहित डीप बोरिङ हालिने बताउनुभयो । यसैबीच एउटा् सामुदायिक भवन र एक प्राथमिक स्वास्थ्य इकाइको भवन पनि आफ्नै पालामा निर्माण गरिएको उहाँले बताउनुभयो । यसैगरी महादेवामा वडाबाटै सामुदायिक भवन ,पतरियामा प्रदेश सरकारको सहयोगमा दुई कोठे सामुदायिक भवन र सीम्रीमा बडी केदारनाथको भवन बनाइएको बताउनुभयो ।
वडा अध्यक्ष चौधरीले यो सालदेखि नै सबै ठाउँमा ग्राबेल बाटो पुर्याउने, वडाको भवन निर्माणको लागि तयारी रहेको र जसको डीपीआरको काम सकिएको समेत बताउनुभयो । यसैगरी उहाँले वडाका जेष्ठ नागरिक ,दलित विपन्न बर्ग र सामाजिक सुरक्षा भत्ता बुझ्ने सवैलाई न्यानो लुगा, टर्च र झुल बाडिने, स्कुलमा आउने साना बालबालिकालाई खेलकुदका सामान वितरण गरिने बताउनुभयो ।
बौनिया,कैलाली । बालबाटिका फुटबल लिग २०७८ लाई युएई को आबुधाबीमा रहेका प्रदिप बमले पनि सहयोग गरेका छन । विद्यालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न घोडाघोडी नगरपालिका ५ सितलपुर हाल (युएई) कर्म थलो बनाउदै आएका बमले पनि सहयोग गरेका हुन । उनि केही बर्ष नेपाल आर्मी समेत रहेका थिए ।
नेपाल आर्मिमा रहदा उनले क्लबबाट पनि फुटबल खेल खेल्ने गर्दथे । पछि नेपाल आर्मिबाट राजिनामा दिए पश्चात् आफुले युएई रोजेको र अहिले आफ्नै गाउँ ठाउको दाजुले आयोजना गरेको प्रतियोगितामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । आफुले पनि यस्तो प्रतियोगिता आयोजना गर्न खोजेको तर विविध कारणले नसकेका कारण आफ्नै दाजु प्रमोदले गर्दा मन खुशी भएर सहयोग गरेको र गर्व लागेको बताए । आफुलाई फुटबल खेल मन पर्ने र विद्यालय स्तरिय हुदा झन खुशी लागेर सहयोग गरेको उनले बताए ।
बमले सुदुरपस्चिममा फुटबललाई व्यवसायिकरण गर्न आवस्यक रहेको बताए खेलाडीले पनि व्यवसायीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । आफू सुदुरपस्चिमको भएका कारण केही ठुला बडाले आफुलाई चिन्न नसकेको र पछाडि पारेको बताए । विद्यालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सहयोग गर्न पाउद खुशी लागेको बताए । सहयोग गरेकोमा बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन ।
बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।
आजबाट वडादशैं सुरु, घर घरमा घटस्थापना गरिँदै घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा
काठमाण्डाैं। आज घटस्थापना। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व वडादशैं आजदेखि सुरु भएको छ।
दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।
विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतम बताउनुहुन्छ। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ। यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय मान्यता छ। परम्पराअनुसार काठमाण्डाैको हनुमानढोका दरबारमा रहेको दशैंघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ।
काठमाडौं। पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका छन्। पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।
जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए। यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिए। अनि, पाकिस्तानबाट फैजान अहमदलाई फोन गरेर बोलाए। फैजान विमानबाट काठमाडौं ओर्लिए। सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लिएपछि फैजानलाई उनीहरुले सिभिल होम्समा लगेर हातखुट्टा बाँधेर राखेका हुन्।
झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए। बन्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन्।
पक्राउ परेका दुईजनालाई ललितपुर प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
काठमाडौं। नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट नि:शुल्क पुर्याइदिने भएको छ।
असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट नि:शुल्क पुर्याउन लागिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
यौन शोषणको आरोपमा कानुन व्यवसायी फन्दामा
गाइघाट । उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् । चौदन्डीगढी नगरपालिका- ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ ।
कर्णाली प्रदेशसभाका २७ सांसदहरूले लिए दसैँभत्ता
सुर्खेत । सुर्खेत कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन्। कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन्।
कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ।
कर्णाली प्रदेशसभामा ३५ सांसद छन्। त्यसमध्ये आठजना मन्त्री भएकाले उनीहरूलाई दसैँभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले बताए।
प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खादै आएका छन्। प्रदेश सभा सांसदहरूको ४५ हजार तलब छ।
घट्यो सुनको मुल्य ,कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।