नेकपा एसले सबै मन्त्रीको औपचारिक घोषणा गर्दै, झाँक्री स्वास्थ्यमन्त्री बन्ने पक्का
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ। सरकारमा जाने नेताहरुको अन्तिम तथा औपचारिक निर्णय गर्न आज सचिवालय बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरुको नाम लगभग तय गरिसकेको छ। नेता बिरोध खतिवडाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ। जसमा विरोध खतिवडालाई सहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइनेछ।
प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने लगभग तय भएको छ। त्यस्तै, राज्यमन्त्रीमा श्रम मन्त्रालयमा किसान श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको प्रवक्ता खतिवडाले बताएका छन्।
अहिले बस्नै सचिवालय बैठकले यसबारे औपचारिक घोषणा गर्ने जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरहेको छ।
मन्त्रिपरिषद् विस्तारको तयारी, मन्त्रालय बाँडफाँडमा हेरफेर एकीकृत समाजवादीले प्रदेश-१ र वाग्मती प्रदेशको मुख्यमन्त्री पाउने
काठमाण्डाैं। सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाकाे टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ। बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यस अघि भएको मन्त्रालय बाँडफाँटमा हेरफेर गर्दै सहमति गरेको हो।
सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय पाएका छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्य मन्त्री पनि पाउने सहमति भएको छ।
कुन-कुन मन्त्रालय भन्ने टुङ्गो लगाएर हिजो नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाए पछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेन। सहमतिका लागि हिजो फेरि छलफल भएको थियो।
छलफलमा एकीकृत समाजवादीलाई स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय दिने सहमति भएको छ। एकीकृत समाजवादीलाई कानुन मन्त्रालयको साटो स्वास्थ्य मन्त्रालय दिने र प्रदेश-१ र वाग्मती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ। भागबण्डा मिलेसँगै एकीकृत समाजवादीले मन्त्रीको नाम टुङ्ग्याउन आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ।
यस्तै, नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय पाएको छ।
माओवादी केन्द्रले अर्थ, उर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ। यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ। जसपाले मन्त्रीको नाम भने टुङ्गो लगाउन सकेको छैन।
काठमाडौं। प्रतिनिधि सभाको बैठक आजपनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ। त्यसलाई आजपनि निरन्तरता दिने तयारी एमालेले गरेको छ।
अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ। सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेका एक नेताले बताए।
संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो।
काठमाडौं । आज दशैंको दोस्रो दिन, देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमको कारण नित्यपूजा मात्र गर्ने र दर्शनार्थीका लागि शक्तिपीठहरू खुला नगर्ने जनाइएको छ ।
ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गर्दछन् ।
काठमाडौँ । असोज २२ गते प्रकाशित गोरखापत्र दैनिकका अनुसार अब विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य आँखा परीक्षण गराउनुपर्ने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमअनुसार नै सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्न लागेको हो ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले भन्नुभयो, “प्रत्येक स्थानीय तह र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्नेछ ।” साना बालबालिकाको आँखा परीक्षण गर्दा आँखासम्बन्धी सम्पूर्ण रोग पहिचान गर्न सहज हुन्छ । रोग पहिचान गरेपछि आँखासम्बन्धी अन्य रोग लाग्नबाट पनि बचाउन सकिन्छ ।
दूूरदृष्टिलगायतका समस्याले बालबालिका पीडित हुने गरेको भन्दै डा. मिश्रले समयमै आँखा परीक्षणले स्क्रिनिङ गर्नसमेत सहज हुने बताउनुभयो । सङ्घअन्तर्गत हालसम्म २२ वटा आँखा अस्पताल, १२८ वटा आँखा उपचार केन्द्र र ४२ जिल्लामा सङ्घ स्थापना भई आँखा स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आइरहेको छ ।
हरेक वडामा उपचार केन्द्र हरेक वडा तथा पालिकामा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने कार्ययोजना सङ्घले बनाएको छ । सङ्घका अध्यक्ष डा. चेतराज पन्तले सङ्घलाई आँखा स्वास्थ्यका लागि जिम्मेवारी सरकारले दिएको भन्दै अब देशभरका हरेक पालिका तथा वडामा आँखा उपचार केन्द्र स्थापना गर्ने बताउनुभयो ।
पछिल्लो समय बालबालिकामा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । चिकित्सकहरूका अनुसार सहरी क्षेत्रका बालबालिकामा दूरदृष्टि कमजोर हुँदै गएको पाइएको छ । कोरोना महामारीका कारण बालबालिकाको अध्ययनसमेत मोबाइल, कम्प्युटर, ल्यापटपमा सीमित हुँदा उनीहरूको नजिकको दृष्टि कमजोर हुँदै गएको उहाँको भनाइ छ ।
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा समेत परेको छ। जसका कारण हाल प्रदेश १, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहि प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन २२ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आश्विन २३ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आश्विन २४ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं। सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन्। अब भोलि मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको भोलि नै शपथ हुने सत्तारुढ दलका नेताहरुले बताएका छन्।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए। कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो।
तर, कुन–कुन मन्त्रालय भन्ने टुंगो लगाएर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो। तर एकीकृत समाजवादीका नेताहरुले पावर मिनिस्ट्री आफूहरुले नपाएको भन्दै प्रस्तावित मन्त्रालयमा असन्तुष्टि जनायो।
बिहीबार चार दलका शीर्ष नेताहरु फेरि छलफलमा जुटे र मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन्। सहमति अनुसार एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार भोलि विहान ११ बजे स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ। स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ।
यस्तै, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि लिनेछ। उसले गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ।
कानुन अहिले नै कांग्रेससँग छ। २९ असारमा आफू प्रधानमन्त्री भएकै दिन शेरबहादुर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए। अब उनलाई सञ्चारमन्त्री बनाएर कानूनमा नयाँ मन्त्री ल्याउने तयारी छ। गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा डा. नारायण खड्का मन्त्री छन्। अरु मन्त्रीहरुको टुंगो भोलि मात्र लाग्ने नेताहरु बताउँछन्।
अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लिएको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ।
माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै स्थायी कमिटीबाट गरेको थियो। यद्यपि कसले कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ। स्रोतका अनुसार बालुवाटार बैठकमा एकीकृत समाजवादी र माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमा दाबी गरेका थिए। तर जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुले पाउने सहमति भइसकेकाले हेरफेर नगर्न अडान राखेका थिए।
जसपाले मन्त्रीहरु छान्न सकेको छैन। कार्यकारिणी समितिबाट मन्त्री छान्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बिहीबार आकांक्षीहरुसँग छलफल गरेका थिए। तर नाम टुंगो भइनसकेको नेताहरु बताउँछन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सत्तारुढ दलहरुले मन्त्रीहरुको नाम पठाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने र साँझसम्म शपथ भइसक्ने छ।
दुख भोगेर डाक्टर बनेकी दुर्गमकी ३ जना चेली, जसले हाँकिरहेकी छन् जिल्ला अस्पताल कालिकोट
- रमेश बहादुर बुढा
कालिकोट। नेपालका आम डाक्टरहरु दुर्गम क्षेत्रमा जानुपर्ने भयो भने विरक्त मान्छन्। तर, यसका अपवाद हुन् डा. किरन, अप्सरा र रमिता नाथ योगी।
उनीहरूले कहिल्यै सुगम क्षेत्रको कार्यस्थल रोजेनन्, जन्मथलोमै सेवा गर्ने सोच राखेर मन्त्रालय देखि नेताहरुसँग हारगुहार गरी आफ्नै जन्मथलो जिल्ला अस्पताल कालिकोटमा कार्यरत छन्। कालिकोटकी कलिलो उमेरकी यी तीन चेलीहरूलाई दुर्गममा कहिले जान पाइएला भन्ने व्यग्रताको तिर्खा मेटिएको छ।
अस्थायी रुपमै भएपनि दुर्गममै जन्मेहुर्केका उनीहरुको आफ्नो सम्पूर्ण जीवन दुरदराजमा बस्ने असहाय बिरामीहरुको सेवामा समर्पित गर्ने चाहना पुरा भएको छ। गाउँमै जन्मे-हुर्केकाले उनीहरूलाई गाउँको पीडा राम्ररी ज्ञात थियो।
१४ वर्षको छँदा डा. किरनको खुट्टामा समस्या आयो त्यतिबेला कालिकोट देखी शहरबजार जानको लागि बाटोघाटो, सञ्चारको कुनै सुविधा थिएन।
गाउँमा सामान्य स्वास्थ्यचौकी र जिल्लामा दक्ष चिकित्सकको अभाव थियो सामान्य खालका बिरामीको उपचार हुने गरेपनि जटिल खालका बिरामीको उपचार हुन्थेन। केही स्वास्थ्यकर्मीहरु थिए तर उनीहरु तालिमप्राप्त भने थिएनन्, फलस्वरुप उनले उचित उपचार पाउन सकिनन्। जिल्लाका अन्य गाउँमा भन्दा सदरमुकाममा केही सुबिधा भएपनि उतिबेला स्वास्थ्य सेवा पाउन मुस्किलै हुन्थ्यो।
खाँडाचक्र नगरपालिका मान्ममा जन्मिएकी किरन सानो उमेरमा गाउँमा पढेपनि पछी शहरमा पढ्ने अवसर पाइन्। बाबुआमाले उनलाई उपचारका लागि नेपालगञ्ज स्थित हाडजोर्नी तथा नसारोग अस्पतालमा पनि पुर्याए तर विडम्बना, उनको उपचार हुन सकेन। थप उपचारका लागी आफुलाई काठमाण्डौमा लगिसकेपछी मात्र सुधार आयो। यही घटनाले पहिलोपटक आफूलाई स्वास्थ्यकर्मी बन्ने प्रेरणा दिएको डा. किरन बताउँछिन्। ‘यदि यही पिडा आफुले नभोगेको भए सायद म यो क्षेत्रमा हुन्थेन होला। सानो छँदा आफ्नो रुची बैंक तिर जागिर खाने थियो।अहिले आफ्नै जन्मभुमीमा सेवा गर्न पाउँदा निकै खुशी छु। मेरो कर्म यस्तै दुखी, गरिब, असहाय र दिनदुखीको सेवामा बित्ने छ।’, उनले भनिन्।
पहिले भन्दा अहिले अस्पतालको सेवामा सुधार हुँदै गएको छ। अझै सेवालाई थप जनमुखी र प्रभावकारी दिलाउन औजार उपकरण र आवश्यक दक्ष जनशक्तिको आवश्यकता रहेको उनले बताईन्।
डा. किरनको मात्र पिडा थिएन, उनीभन्दा बढि पिडा नरहरीनाथ गाउँपालिका-९ लालुकी डा. रमितानाथ योगीको थियो। १४ वर्षको उमेरमै जन्म दिने आमा गुमाएर टुहुरी बनेकी रमिताको डाक्टर बन्ने रहर र चाहना थिएन। उनीपनि बाध्यताले डाक्टर बनिन्। उनी ८ कक्षा पढ्दा आमाको पाठेघरमा क्यान्सर भई मृत्यु भयो।
सामान्य परिवारमा जन्मिएकी रमिताको आर्थिक अवस्था निकै कमजोर थियो। उतिबेलाको समयमा सामान्य व्यथा, बिमार लागेमा सिटामोल समेत नपाउने गाउँमा उपचार सम्भव थिएन। ज्यान जोगाउन ऋण सापट गरेर भएपनि सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा लिनुपर्ने बाध्यता थियो।
‘आर्थिक अवस्था कमजोर भएपछि गाउँको खेत,पाखो बेचेर आमालाई उपचार गरियो। अन्ततः आमालाई बचाउन सकिएन पैसा मात्र खर्च भयो। पछि कन्चन नेपाल भन्ने संस्थाले आफुलाई नि:शुल्क पढायो, कक्षा ११ र १२ पुर्ण छात्रवृत्तिमा नि:शुल्क पढ्न पाएँ।’, डा. रमिताले भनिन्।
उनले थपिन्, ‘सुनेको, देखेको नभई आफैले भोगेको हुँदा डाक्टर नै पढ्नुपर्छ भनेर काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निकालेर पुर्ण छात्रवृत्तिमा नि:शुल्क पढ्न पाएँ। अहिले आफ्नै जन्मथलोमा सेवा गर्न पाएकी छु। औषधी उपचार नपाएर मैले जन्म दिने आमा गुमाउन बाध्य भएपनि अब मेरी आमाजस्तै कसैको ज्यान नजाओस् भन्ने हेतुले दुर्गममै आएर आफ्नो जन्मथालोमा सेवा गर्न थालेकी छु। मेरो कथा अझै पिडादायी छ, जुन सडकबाट यो अवस्थासम्म पुगें। आखिर मनमा इच्छाशक्ति र मेहनत हुनुपर्दो रहेछ। यसैमा गर्व छ।’ यस घटनाबाट स्वास्थ्य क्षेत्रमा लाग्ने उनको अठोट झनै दृढ भएको थियो।
रमिता र किरनकै जती पिडा भोगेकी तिलागुफा नगरपालिका-३ फोईमा जन्मिएकी डा. अप्सरा हमाल पनि हुन्। अप्सरा पनि अहिले आफ्नै जन्मथलोमा कर्म गरिरहेकी छन्। पढ्नमा सधैं अब्बल अप्सरा कक्षामा सानैदेखि प्रथम हुन्थिन्। उनले कालिकोटस्थित गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्। त्यतिबेला जिल्लामा एसएलसीसम्म पढ्ने विद्यार्थी नै कम हुन्थे। त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण गर्नु चानचुने कुरा थिएन।
दुर्गमका नागरिकको दयनिय अवस्थाको भोक्तभोगी अप्सराले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै एमविविएस उतिर्ण भएपछि गाउँमा सेवा गर्नुपर्छ भनी जिल्ला अस्पतालमा कार्यरत छिन्। अस्पताल मात्र होइन उनी आफ्नै गाउँमा पनी सेवा दिन जाने गरेकी छन्। उनको भनाई छ, ‘अब जन्मथलोमै कर्म गरेर खाने हो।’
विगतका दिनहरुमा डाक्टर नै टेक्न नसक्ने कालिकोटले अहिले स्थानिय डाक्टर पाएपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नबिर सुनारले बताए। दक्ष विषयविज्ञ र दरबन्दि अनुसारका डाक्टरको त कुरा छोडौं, एमविविएस डाक्टर समेत पाउन नसकेको जिल्ला अस्पतालले अहिले स्थानिय डाक्टर पाएपछि अस्पतालले निरन्तर सेवा दिन थालेको सुनारले बताए। विगतका दिनहरुमा जेजस्तो कमी कमजोरी भएपनि अहिले अस्पताल सुध्रिंदै गएको उनले दावी गरे। गाउँकी महिलाहरुले प्रष्टसँग पुरुष डाक्टरसँग आफ्नो समस्याहरु भन्न नसक्नुले महिला डाक्टरको आवश्यकता थियो अहिले स्थानिय तीन जना डाक्टर भएपछि उपचारमा सहज भएको छ।
‘विगतका दिनहरुमा औजार उपकरण बिनै जटिल खालका शल्यक्रिया गर्नुपर्ने वाध्यता थियो। नसके रेफर गर्ने गरिएको थियो। अहिले उस्तै जटिल खालका केशहरु मात्र रेफर गछौँ। नत्र अस्पतालमै केश सफल भएका छन्। अहिले औजार उपकरण र जनशक्क्तीको अभाव छैन।’, व्यवस्थापक सुनाले भने, ‘जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाका ९ वटै स्थानिय तहमा डाक्टर सहितको सेवा सुचारु गरेका छौं। दरबन्दि नभएको ठाउँमा अहिले एक हप्ताको लागी डाक्टर पठाउने गरेका छौं।’
डा. रमितानाथ योगी, किरन शाही र अप्सरा हमाल जस्तै दुर्गमका जनताको सेवा गर्ने भावना सबै डाक्टरहरुमा भइदिए नेपालको स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारीले बताए। उनले भने, ‘स्थानिय डाक्टर र अस्पताल प्रमुख स्थानिय नै भएकाले अस्पतालको थप सेवा प्रवाह चुस्तदुरुस्त हुनेमा विश्वास छ।’
कर्णालीसन्देशबाट
थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार ६७२ जनामा परिक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २०० पुगेको छ ।
काँग्रेसको महाधिवेशनमा चुनिएका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न उच्च अदालतको आदेश
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय प्रतिनिधिमा चुनिएका शिक्षक, तथा सरकारी कर्मचारीको पद रोक्का गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले कुनैपनि सरकारी कर्मचारी र शिक्षकहरूलाई राजनीतिक क्रियाकलापमा सहभागी नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।सिन्धुपाल्चोकका सुनिल बोहराले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद जुनैद आजादको इजलासले सो आदेश जारी गरेको हो ।
रिटमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत काँग्रेस वडा अधिवेशनमा निर्वाचित भएका शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीसहित १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
क्षेत्रीय प्रतिनिधिमा त्रि.वि. नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत स्थायी उपप्राध्यापक प्रेमध्वज लामा तथा स्थायी शिक्षकहरू वेदविक्रम कार्की, रिताकुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बरबहादुर बोहरा, तुलसीराम श्रेष्ठ, रमेश बोहरालगायतका शिक्षक तथा कर्मचारी निर्वाचित भएका थिए ।
यो आदेशसँगै काँग्रेसका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा अधिवेशनबाट निर्वाचित भएका शिक्षक, प्राध्यापक तथा सरकारी कर्मचारीको पद रोक्का भएको छ ।
उच्च अदालतले विपक्षीहरूलाई बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ अदालतले आगामी कात्तिक ७ गते दुवै पक्षको छलफलबाट अन्तरिम आदेशबारे टुङ्गो लगाइने आदेश गरेको छ ।
‘उक्त मितिसम्मको विपक्षीहरूलाई राजनीतिक कार्यहरूमा सामेल नगर्नू,नगराउनू भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।