प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा भने अनिवार्य चाहिने
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा बीमा कार्यान्वयनमा आउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई दिने गरिएको रोजगारीको पारिश्रमिक कम भएको भन्ने धेरै गुनासो स्थानीय तहबाट आएपछि निर्देशिका संशोधनको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो ।
अब मन्त्रालयले तोकेको दैनिक ज्यालादर रु ५७७ न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी स्थानीय तहको दररेटमा ८० प्रतिशतमा कम नहुने गरी भुक्तानी हुनेछ । गत साउनबाट सरकारले बढाएको न्यूनतम ज्यालाको दरअनुसार ज्यालादर निर्धारण गरिएको घिमिरेले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सहभागी भएका बेरोजगार युवाले दैनिकरुपमा रु ५१७ ज्याला पाउने गरेका थिए । यसअघिको तुलनामा चालु आवबाट दैनिकरुपमा रु ६० ज्यालादर वृद्धि भएको छ । बेरोजगार युवालाई दिइने ज्याला दर न्यून रहेको भन्दै केही समय अघि अर्थमन्त्री जनादर्न शर्माले दैनिक ज्यालादर रकम दोब्बर बनाउन श्रम मन्त्रालयलाई निर्देशनसमेत दिनुभएको थियो ।
निर्देशक घिमिरेका अनुसार निर्देशिकामा श्रमिकको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको दरमध्ये जुन बढी हुन्छ, सोही आधारमा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार तोकेको छ । यो व्यवस्थाअनुसार श्रमिकले दैनिक रु ५७७ ज्याला पाउँछन् । अघिल्लो वर्ष सरकारले न्यूनतम पारिश्रमिक रु १३ हजार ४५० मात्र तोकेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा यो कार्यक्रम अघि सारिएको हो । बेरोजगार युवालाई वार्षिक कम्तीमा पनि १०० दिनको रोजगारी दिने गरी योजना थियो । रासस
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।
बर्दगोरियाका किसानलाई ५०देखि ८५ प्रतिशत अनुदानमा मकै र तरकारीको बीउ तथा बोरिङ दिदै गाउँपालिका
बौनिया । व्यवसायीक रूपमा खेती गर्न चाहाने किसानलाई कैलालीको बर्दगोरिया गाउँपालिकाले अनुदानमा तरकारी तथा मकैको बीउ उपलब्ध गराउने भएको छ । पालिकाले व्यवसायीक रूपमा खेती गर्दै आएका र गर्न इच्छुक किसानलाई उन्नत जातको बसन्ते मकैको बिउ र लहरे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा दिने भएको हो ।
गाँउपालिकाले आज मंगलबार एक सुचना जारी गर्दै किसानलाई अनुदानमा बसन्ते मकै र लहरे तरकारीको बिउ ५०/५० प्रतिशतमा उपलब्ध गराउन लागिएको जनाएको हो ।
जारी गरिएको सुचना अनुसार किसानलाइ ५० प्रतिशत अनुदानमा मकैको बिउ र लहरे तरकारीको बिउ बितरण गरिने पालिकाको कृषि शाखाले जनाएको छ । शाखा प्रमुख झङ्कर रावतद्वारा जारी सूचनामा किसानले आफुलाई आवश्यक पर्ने मकै र तरकारीको बिउको परिमाण सहित पालिकाको कृषि विकास शाखा र वडा नम्बर ६ मा रहेको कृषि इकाइमा १५ दिनभित्र निवेदन पेस गरिसक्न्न अनुरोध गरेको छ ।
यसैगरी शाखाले ८५ प्रतिशत मूल्य अनुदानमा साना सिचाइ अन्तर्गत बोरिङ समेत उपलब्ध गराउने भएको हुँदा इच्छुक किसानलाई निवेदनसहित माग गर्न सूचना जारी गरिएको छ ।
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान प्रयोजनमा यो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
मोहन्याल १ को दानविर सामुदायिक वनद्वारा गरिबी निवारणका लागि १३५ उपभोक्तालाई बाख्रा वितरण
मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको दानविर सामुदायिक वनले आफ्ना उपभोक्ताहरुका लागि बाख्रा वितरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच सामुदायिक वनले आफ्ना विपन्न १३५ घरधुरीका उपभोक्ताहरुको लागि आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले १० लाख बराबरको बाख्रा वितरण गरेको हो ।
दानविर सामुदायिक वन उपभोक्ता समुहकी उपाध्यक्ष कल्पना थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सभाध्यक्ष सामुदायिक वनका अध्यक्ष प्रेम बुढा क्षेत्री र प्रमुख अथितिका रूपमा मोहन्याल गाउँपालिकाकी कार्यपालिका सदस्य तारा शर्मा रहनु भएको थियो ।
बाख्रा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भौगोलिक रुपले पिछडिएको मोहन्याल गाउँपालिकाको बिकास र समृद्धि तथा यहाँका स्थानीयको जीवन स्तरमा दानबिर सामुदायिक वनले पुर्याएको योगदान उच्च रहेको बताउनुभयो । यस सामुदायिक वनले यहाँको विकास र परिवर्तनका लागि गाउँमा सडक बाटो निर्माण देखि स्थानीयको जीवनमा सुधार ल्याउन र आर्थिक सवलीकरणका लागि गरेको योगदानले स्थानीय नागरिक ,उपभोक्ता तथा सरकारलाई समेत महत्त्वपूर्ण सहयोग पुग्दै आएको बताउनुभयो ।
कार्यक्रममा अमर एण्ड तेज कम्पनीका तेज बहादुर बुढा,समाजसेवी नन्द बहादुर बुढा,नेपाली काङ्ग्रेस मोहन्याल १ सभापति अशोक थापा ,
सव डिभिजन वन कार्यालय मोहन्यालका फोरेस्टर नारायण चौधरी, स्वास्थ्य इकाइ प्रमुख लोक बहादुर धामी, मोहन्याल मावि चायाभाकरका प्रधानाध्यापक मान बहादुर पुन लगाएतले सामुदायिक वनले उपभोक्ताको हीत र जिवनसतर सुधार्नका लागि गरेको बाखा वितरणको कार्य निकै प्रसङ्गसनिय भएको भन्दै यसलाई माथि उकास्ने जिम्मा स्वयं उपभोक्ताको भएको बताए ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष प्रेम बुढा क्षेत्रीले आर्थिक हिसाबले न्यून अबस्थामा रहेका उपभोक्ताहरुको जिवनस्तर लाई आर्थिक हिसाबले सबल बनाउन र गरिबी निवारणमा सहयोग पुर्याउन बाख्रा वितरण गरिएको बताउनुभयो । उहाले भन्नुभयो – सामुदायिक वनको आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा छुुट्याउनुुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार हामीले उपभोक्ताको जीवनस्तरमा सुुधार ल्याउनका लागि बाख्रा वितरण गरेका छौ, यसले उपभोक्ताको जीवनस्तर माथि उठाउन टेवा पुग्ने हामीले ठूलो विश्वास लिएका छौ ।
उहाँले दानविर सामुदायिक वनले आफ्ना उपभोक्ताको सहजताका निम्ति सडक बिस्तार, सडकमा होम पाइप राख्ने, बालबालिकाको शैक्षिक स्तरमा टेवा पुर्याउन अध्यतनरत सामुदायिक स्कुललाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यसैगरी उहाँले तल्लापानीमा सामुदायिक भवन र बडिकाथाइमा सामुदायिक वनको भवन पनि अब निर्माण गरिने बताउनुभयो ।
वडाबाटै योजना सम्झौता
तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता गर्न थालेको हो । पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैङ्कका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।
वडावासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताउनुभयो । यसरी वडा कार्यालयबाट योजना सम्झौता हुँदा योजना कार्यान्वयनमा सहज हुने उहाँले बताउनुभयो ।
“नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भइरहन्छ । यसपालि नगरपालिकामा वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्यअनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ”, उहाँले भन्नुभयो । वडावासीलाई नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने झन्झट पनि हट्ने लम्सालले बताउनुभयो ।
असारे विकासलाई रोक्न वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका तयार पारेर काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताउनुभयो । “कुन योजना कहिले, कसरी, कहाँ, कसका लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जबाफदेही बनाउँछ । पुँजीगत खर्चको गति पनि बढाउँछ । अर्थतन्त्रलाई चलायमान बनाउँछ । तोकिएकै मितिमा काम हुँदा प्रभावकारिता समेत बढ्छ”, उहाँले भन्नुभयो ।
जनतालाई नगरपालिकाको कार्यालयको शाखामा र बैङ्कमा भतारिँदा भोग्ने सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उहाँले बताउनुभयो । नगरपालिकाको केन्द्र दुलेगौडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उहाँले जानकारी दिनुभयो ।
वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई राहत मिलेको छ । शुक्लागण्डकी–१० मा एकै दिन १८ योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्षमा वडाले ३८ योजना सञ्चालन गर्दै छ । यसअगाडि पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भइसकेको उहाँले बताउनुभयो ।
सुनचाँदीको मूल्यमा गिरावट ,कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपालगञ्जमा सुरु भयो वायुयान सङ्ग्रहालय
राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।
एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था वेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषतः विद्यार्थीका लागि अध्ययन स्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ ।
नौ वर्षअघि धनगढीमा रु डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्याउन करिब रु ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई सङ्ग्रहालय बनाइएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ ।
उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।
स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो । रासस
दुई रुपियाँको नयाँ सिक्का चलनमा, दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको दुई रुपियाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । नेपालको चुच्चे नक्सा भएको र २०७७ साल लेखिएको दुई रुपियाँको सिक्का बजारमा पठाएको नेपाल राष्ट्र बैङ्कले जनाएको हो ।
नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला छन् । सिक्काको पछाडिको भागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला र आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाका आकृति छन् ।
पछाडिको बीच भागमा जानकी मन्दिरको आकृति छ र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ भने माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।
आइतबारदेखि अनलाइन प्रणालीबाट मात्रै पुनः श्रम स्वीकृति जारी हुने ,कसरी लिने स्वीकृति ?
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउने बताउनुभएको थियो । श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उहाँले बताउनुभयो ।
कसरी लिने पुनः श्रम स्वीकृति ?
पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।
श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।
अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।
पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।
त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।
घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।
कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ । रासस
सम्पन्न भएको पाँच महिना बित्दासमेत चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्यौलता
काठमाडौं। निर्माण सम्पन्न भएको पाँच महिना बित्दा पनि चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्यौल कायमै देखिएको छ। बन्दरगाह सञ्चालनका लागि वाणिज्य मन्त्रालयले सबै तयारी सकेपनि अर्थ मन्त्रालयका कारण बन्दरगाह सञ्चालनमा विलम्ब भएको हो।
बन्दरगाह सञ्चालनका लागि आफ्नो मन्त्रालयले सम्पूर्ण तयारी सकेको र वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले बताए। तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन गर्नेगरी काम अघि बढेको सचिव भट्टराईले बताए।
‘ठेक्काको कागजात पनि अघि बढाउँछौं, तर जतिसक्दो छिटो सञ्चालन गर्दा अहिलेको व्यवस्थापकीय भूमिका इन्टरमोडलले नै गर्छ’, सचिव भट्टराईले भने। बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको पनि सचिव भट्टराईले आग्रह गरे।
विश्व बैंकको डेढ अर्ब ऋण लगानीमा गत साउनमा बन्दरगाह निर्माण सम्पन्न भएको थियो।
यता बन्दरगाह सञ्चालनमा महत्वपूर्ण भूमिका हुने अर्थ मन्त्रालय मातहतको भन्सार विभागले भने काम भइरहेको दाबी गरेको छ। सुख्खा बन्दरगाह सञ्चालन छिटो गर्न आफूहरुले काम गरिरहेको विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले दावी गरे। कर्मचारी दरबन्दी सिर्जनादेखि कार्यविधि निर्माण एवं भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको महानिर्देशक सापकोटाले दावी गरे।
नयाँ सरकारी कार्यालय सञ्चालन सजिलो काम नभएको भन्दै उनले बन्दरगाह सञ्चालन अझै लम्बिने संकेत गरे। ‘सरकारी कार्यालय स्थापनाको काम र खरिद प्रक्रिया त्यति सजिलो छैन। केही समय लाग्छ, हामीले भन्सार क्षेत्र घोषणाको टिप्पणी उठाएका छौं, ओएनएम सर्भे गर्दैछौं’, महानिर्देशक सापकोटाले भने। पूर्वाधार निर्माण सकिएको ठाउँबाट छिटो सेवा शुरु गर्न चाहेर पनि प्रक्रियागत कामहरु बाँकी रहेको सापकोटाको भनाइ छ।
काठमाडौं केन्द्रीत आयात र यहाँबाट हुने निर्याताका लागि निकै उपयोगी मानिएको बन्दरगाहसम्म माल वस्तु बोकेको सवारी कसरी आउँछन् भन्ने विषय पनि अझै टुंगिएका छैन।
सीमा क्षेत्र भन्दा भित्री भागमा रहेको बन्दरगाहसम्म मालवस्तु पैठारीबारे नेपालको अनुभव नभएका कारण भन्सार जाँच पास लगायतमा अन्यौल कायमै छ।
बन्दरगाह सञ्चालनका लागि जुनसुकै बेला आफ्नो सेवा दिन तयार रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। बन्दरगाहमा खाद्य क्वारेन्टिनका लागि तत्काल केन्द्रीय प्रयोगशालाबाटै मद्दत लिने गरी कर्मचारी व्यवस्थापन गर्न कुनै समस्या नरहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्।