बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेला आयोजना गरिएको बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका सचिव गोविन्द विकले जानकारी दिए ।
मेलालाई सफल पार्नका लागि विभिन्न समिति गठनगरि कार्य बिभाजन गरिएको छ । जसको आर्थिक संयोजकमा गोविन्द विक, सुरक्षा तथा स्वयंसेवक संयोजक गोविन्द बम, सांस्कृतिक नाच गान तथा भजन कीर्तन संयोजकमा बसन्ती चौधरी,मेला ब्यवस्थापन संयोजक हर्क बहादुर शाह,बजार व्यवस्थापन संयोजकमा राजेन्द्र बम, सरसफाई संयोजकमा पदम बहादुर थारु, भान्सा व्यवस्थापन संयोजक चुलुवा डगौरा थारु र प्रसार प्रचार तथा मिडिया संयोजनमा टिकाराम साउद रहेका छन् ।
मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकासका निम्ति माघी मेला संचालन हुन लागेको हो । यहाँ माघीमा परापुर्ब कालदेखि नै ठुलो मेला लाग्ने गरेको छ । विशेष गरी थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघि मेलामा कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागि आउने गरेका छन ।’
माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउने गर्दछ्न । चुरेको फेदी रहेको बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने विकले बताए । परापूर्व कालदेखिको पौराणीक महत्व वोकेको बर्दगोरिया बाबा शिव मन्दिर ,ग्वालिनी ,मनियारी , हनुमान गढी ,राम जानकी मन्दिर कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसार गरिने जानकारी दिए ।
यही पुष २८ गतेदेखि माघ २ गतेसम्म मेला संचालन हुने आयोजकले जनाएको छ । विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय कलाकारलाई पहिलो प्राथमिकता र राष्ट्रिय कलाकारका साथै भजन किर्तन प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेषभुषा र ,पंचेबाजा सहितको ,झाकि हरु प्रदर्शन गरिने सास्कृतिक बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले बताए ।
काठमाडौं । समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।
निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका छन् । सोमवार मात्रै उनीहरूले राजस्व सचिव कृष्णहरि पुष्करसहितका अर्थका अधिकारीहरूलाई भेटे । भेटका क्रममा अर्थका अधिकारीहरूबाट पनि सन्तोषजनक जवाफ भने उनीहरूले पाएनन् ।
ऋण असुली गरिदिन अनुरोध गर्दै पुगेका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका प्रतिनिधिहरूलाई राजस्व सचिव पुष्करले यथास्थितिमा सरकारले पैसा दिन सक्ने अवस्था नरहेकाले निगमसँगै असुल्न सुझाव दिए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
काठमाडौं।नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ९०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
नेपालकै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प नेपालगञ्जमा तयार, बुधबार उद्घाटन गरिने
नेपालगञ्ज। नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा एक वर्ष लगाएर निर्माण गरेको आधुनिक पेट्रोल पम्प बुधबार उद्घाटन गर्ने भएको छ। आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निर्माणको काम सकिएको र उद्घाटन गरी सञ्चालन गर्न लागेको जानकारी दिए।
‘पम्प निर्माणको काम सकिएको छ। अब पम्प सञ्चालन गरी उपभोक्तालाई पेट्रोल र डिजेल वितरण सुरु गर्छौं’, प्रवक्ता उपाध्यायले भने। आगलागीबाट जोगाउने यो केमिकल फोमयुक्त मुलुककै पहिलो नमुना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी राखिएको छ। जहाँ २५/२५ हजार लिटर क्षमताको तीनवटा डिजेल ट्यांक र १६/१६ हजार लिटर क्षमताको दुईवटा पेट्रोल ट्यांक छन्। सो पम्प सञ्चालनमा आएपछि दैनिक कम्तीमा २० हजार लिटरसम्म इन्धन बिक्री हुने निगमको अपेक्षा छ।
पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन्। निगमको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार डिजेलका लागि ठूला सवारीसाधन आउने र धेरै परिमाण हाल्ने हुँदा दुईवटा डिस्पेन्सिङ मेसिनले धान्न सकिन्छ। तर, पेट्रोलका लागि मोटरसाइकल, स्कुटर, अटोरिक्सा, निजी कार, जिप, भ्यानलगायत धेरै सवारीसाधन आउने हुँदा पेट्रोल बिक्री गर्ने डिस्पेन्सिङ मेसिन तुलनात्मक रूपमा धेरै राखिएको घिमिरेले बताए।
‘पम्प सञ्चाचालनका लागि तयार छ। अब हामी उद्घाटनको तयारीमा छौं’, घिमिरेले भने। तीन वर्षअघि कार्यकारी निर्देशक भएर सुरेन्द्रकुमार पौडेल आएपछि सो ठाउँमा पम्प निर्माणको योजना कार्यान्वयन भएको हो। लामो समयदेखि खाली रहेको ११ कट्ठा जग्गामा निगमले आधुनिक पम्प बनाएको हो।
निगमका प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ ले निर्दिष्ट गरेका सबै व्यवस्था पालना गरी पम्प निर्माण गरेको बताए। उनले आगामी दिनमा पनि विनियमावलीले तोकेको मापदण्डअनुसार पम्प सञ्चालन गरी व्यवसायीलाई उदाहरण बनेर देखाउने बताए। ‘हामीले व्यवसायीहरूलाई विनियमावली पालना गरेर पम्प सञ्चालन गर्न विभिन्न समयमा निर्देशन दिने गरेका छाैं’, उपाध्यायले भने, ‘हामीले विनियमावली पालना गरेर पम्प सञ्चालन गरेको देखाएपछि निजी क्षेत्रलाई पनि दबाब पर्छ भन्ने आस गरेका छौं।’
पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएको छ, जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउनेछन्। हाल आयात भइरहेको युरो-६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि निगमले बनाएको नयाँ पम्प परिसरमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको छ। जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून रहेको निगमले जनाएको छ। निगमले यसअघि रुपन्देहीको भैरहवामा पम्प सञ्चालन गरिरहेको छ। सो पम्पलाई पनि दुई वर्षअघि अपग्रेड गरी ठूलो क्षमतामा इन्धन बिक्रीयोग्य बनाइएको छ।
नयाँ पत्रीकाबाट
यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी
काठमाडौँ। चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पु¥याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यस वर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति उत्पादन ?
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
यस्तैगरी लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यस वर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।
चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।
नक्सा पासबिनै नारायणहिटी परिसरमा रेस्टुरेन्ट
काठमाडौँ। ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको छ तर नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य जारी छ ।
महानगरपालिका वडा नम्बर १ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताउनुभयो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो । त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् । नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामको कम्पनीलाई भाडामा दिइएको सङ्ग्रहालयकै कर्मचारी बताउँछन् । उक्त कम्पनी बतास समूहअन्तर्गतको हो ।
सो जग्गा भाडामा लगाउन समितिले २०७७ साउनमा कोभिड–१९ निषेधाज्ञाको समयमा बोलपत्र आह्वान गरेको थियो । सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बोलपत्रअनुसार सम्झौता गरिएको बीपीएसले मासिक दुई लाख २० हजार रुपियाँ बुझाउने र हरेक तीन वर्षमा सम्झौता थप्ने गरी सो जग्गा भाडामा लिएको जानकारी दिनुभयो तर दरबारमार्ग क्षेत्रमा प्रतिसटर भाडा प्रतिमहिना पाँच लाखदेखि १५ लाख रुपियाँसम्म रहेको व्यवसायीले बताएका छन् ।
असारबाट भाडा शुल्क लिने सहमति भए पनि निर्माण अवधिभर भाडा नलिने, विपत् तथा महामारीको अवस्थामा छुट दिने, प्रतिवर्ष १० प्रतिशत वृद्धि गरी नयाँ निर्मित संरचनाको प्रतिवर्गमिटर थप ३५ रुपियाँ भाडा लिने जस्ता सर्त राखिएका छन् ।
यसबाहेक रेस्टुरेन्टले सङ्ग्रहालयको मुख्य प्रवेशद्वार मात्र नभई पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाउने सहमति गरिएको छ । हाल पार्किङको भाडा सङ्ग्रहालयले नै उठाउँदै आएको छ । रेस्टुरेन्ट सञ्चालनमा आएपछि ठेक्कामा दिने विषयमा छलफल भइरहेको बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन । तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक अनियमितता गर्न उद्यत् छन् भन्ने सुन्दा किसानको मनमा कस्तो प्रश्न पैदा होला ? किसानले जुन कुरा सुन्नु नपरोस् भन्ने चाहेका छन्, तर त्यस्तै भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार सरकारी स्वामित्वको सो कम्पनीका कर्मचारी गुणस्तरहिन मल आयात गर्ने काममा संलग्न भएको पाइएको छ । उनीहरु आर्थिक अनियमिततामा मुछिएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको कृषि सामग्री कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि खरिद गरेको डिएपी मल सरकारले तोकेको गुणस्तरअनुसार नरहेको पाइएको छ । कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको आयोगको अध्ययनबाट देखिएको छ ।
कम्पनीका कर्मचारी र मल आयात गर्ने आपूर्तिकर्ताको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी आयात गर्न अनुमति दिइएको पाइएको छ । रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ र सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली विपरित कम्पनीले प्रतिस्पर्धा नै नगराई ‘नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि’लाई मलको गुणस्तर प्रतिवेदन दिन लगाएको पाइएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षणबाट उक्त मल तोकिएको मापदण्डअनुसार नभएको पाइएको छ । गलत प्रतिवेदन तयार पारेर रु एक अर्ब ५३ लाख २२ हजार बराबरको भुक्तानीसमेत गरिएको पाइएको छ । आयोगले उक्त सरकारी रकम हानीनोक्सानी गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्राद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्पकरदिप बुढाविरुद्ध रु एक अर्ब ५३ लाख २२ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
आयोगले गलत प्रतिवेदन बनाउने कार्यमा संलग्न नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सो संस्थाको प्रयोगशाला निर्देशकको जिम्मेवारीमा रहेका सुनिलबाबु खत्री, सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परमर्शदाता भोलानाथ चौधरी र सम्झौता गर्ने कार्यमा सङ्लग्न मनोज आचार्यविरुद्धसमेत समान बिगो बराबरको माग दावी गरिएको छ ।
त्यस्तै, आपूर्तिकर्ता जोशी बिज हाउस प्रालि काठमाडौँका विनित जोशीविरुद्ध पनि समान बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पछिल्लो पटक दायर गरेका मुद्दामध्ये यो हालसम्मकै ठूलो बिगो हो ।
किसानले मल नपाउने, पाए पनि गुणस्तरहीन पाएको भन्ने चर्चा भइरहेको सन्दर्भमा आयोगले आज दायर गरेको मुद्दाले त्यो आशंकालाई बल पु¥याएको छ । रासस
गत आर्थिक वर्षमा सवा २५ अर्ब मात्रै बेरुजु
काठमाडौं । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बेरुजु भएको थियो भने आर्थिक वर्ष २०७७-७८ मा २५ अर्ब २६ करोड ५० लाख बेरुजु देखिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गरेको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार नियमित गर्नुपर्ने बेरुजु १ सय ८ प्रतिशतले बढेको छ भने असुल गर्नुपर्ने ४५ प्रतिशतले घटेको छ । म्याद नाघेको पेस्की बाँकी १ सय ५३ अंकले बढेको छ ।
केपी ओली सरकारले नेतृत्व गरेको आर्थिक वर्ष २०७६-७७ मा र आर्थिक वर्ष २०७७-७८ मा १२१ प्रतिशतले आर्थिक बेथिति बढेको देखिएको छ । आन्तरिक लेखा परीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७६-७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा १३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बढी बेरुजु भएको पाइएको छ ।
आर्थिक वर्ष २०७७-७८ मा असुल गर्नुपर्ने रकम ५९ करोड १९ लाख रुपैयाँ रहेको छ । नियमित गर्नुपर्ने रकम ६ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ तथा म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड ५७ लाख रुपैयाँ रहेको छ । यो खरब आजको राजधानी दैनिकमा छापिएको छ ।
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए ।
नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए ।