बौनिया । कैलालीको बर्दगोरिया ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको १९ औ साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले पुनः करन चौधरी नेतृत्वको समितिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा लाल बहादुर कठरिया, कोषाध्यक्षमा बिमला डगौरा थारु, सचिबमा रेखा कठरियालगाएत अन्य सदस्य रहेका छ्न ।
कार्यक्रममा सामुदायिक वन महासंघ सुदुरपश्चिम सचिब टेक बहादुर थापाले वन बचाउन, वनको संरक्षण र सम्बर्द्धन गर्नु आम उपभोक्ताको दायित्व र कर्तव्य भएको बताए । उनले वनबाट हामीले के – कति ? फाइदा लिन सक्छौं भन्दा पनि हामीले वन जोगाउन के कति योगदान गरेका छौ, भन्ने बारेमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष रामकृष्ण डगौरा थारु रहनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक वनको संरक्षण अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामुदायिक वन संरक्षणमा चुनौतीसमेत थपिएकाले यसप्रति आम उपभोक्ता सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो।
उहाँले वन संरक्षणविना मानव जातिको समेत अस्तित्व खतरामा हुने भएकाले यसको दिगो विकासमा जोड दिनुभयो। उहाँले वन आम्दानीको स्रोत मात्र नभई सिङ्गो वातावरण संरक्षणको महत्त्वपूर्ण अंग भएकाले आम्दानी संगै यसको संरक्षणमा लगानि गर्न आवश्यक रहेको बताउनुभयो।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा स्वास्थ्य क्षेत्रमा हुने गरेका १५ वटा विकृति औल्याएको छ । अख्तियारले विकृति औल्याएसँगै नेपालको स्वास्थ्य क्षेत्र चरम विकृतिको चंगुलमा रहेको पुष्टि भएको छ ।
देशभरबाट परेका विभिन्न उजुरीका आधारमा अख्तियारले स्वास्थ्य क्षेत्रमा १५ विकृति आंैल्याएको हो । अख्तियारले स्थानीय तह, गृह प्रशासन, शिक्षा, भूमि व्यवस्था, अर्थ राजस्व, सार्वजनिक खरिद तथा निर्माण, श्रम तथा वैदेशिक रोजगार, कृषिलगायतका क्षेत्रमा पनि भ्रष्टाचार र विकृति अत्यधिक रहेको स्पष्ट पारेको छ ।
– तीनवटै सरकारद्वारा औषधि खरिदमा बदमासी
– खरिदमा कमिसनको चक्कर
– ठूलो परिमाणमा खरिद गरेको देखाई स्टोर दाखिला कागजी मात्रै
– मापदण्ड पूरा नगरेका मेडिकल र नर्सिङ कलेजलाई सञ्चालन अनुमति
– मेरिट लिस्टमा नपरेका विद्यार्थीलाई भर्ना गर्ने र चर्को शुल्क असुल्ने
– अपराधका घटनाको स्वास्थ्य परीक्षण गर्दा गलत प्रतिवेदन दिने
स्वास्थ्य क्षेत्रमा तीनवटै सरकारले औषधि खरिद गर्दा वार्षिक आवश्यकताका आधारमा टेन्डर गर्नुपर्नेमा नगर्ने गरेको र समयमा नै पूर्वतयारी नगरी आपत्कालीन अवस्था सिर्जना गराई खरिद गर्ने गरेको अख्तियारको ठहर छ । यसो गर्दा कमिसनमा सहज हुने र आपूm अनुकूलका मान्छे प्रयोग गरी खरिद गर्ने गरेको अख्तियारका अधिकारीको दाबी छ ।
अख्तियारका अनुसार स्वास्थ्य क्षेत्रमा ठूलो परिमाणमा खरिद गरेको देखाई स्टोर दाखिला कागजी रूपमा मात्रै गर्ने र ठूलो रकम अनियमित किसिमले खर्च गर्ने प्रवृत्ति बढ्दै गइरहेको पाइएको छ ।
अख्तियारको अध्ययनकाअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूले कागजी रूपमा एउटै कार्यक्रम पटकपटक सञ्चालन गरेको देखाई रकम निकासा लिने, नक्कली बिलको आधारमा सञ्चालन नै नभएको प्रवद्र्धनात्मक कार्यक्रमको भुुक्तानी दिने तथा लिने प्रवृत्ति पनि व्यापक छ ।
यस्तै, स्वास्थ्य संस्थामा विनियोजन भएको रकम नक्कली सेवाग्राहीको अभिलेख खडा गरी हिनामिना गर्ने, नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको मापदण्ड पूरा नगरेका मेडिकल र नर्सिङ कलेजलाई सञ्चालनको अनुमतिदिने जस्ता अनियमित कार्यसमेत हँुदै आइरहेको पाइएको छ ।
यस्तै, मेडिकल कलेजहरूले मेरिट लिस्टमा नपरेका विद्यार्थीलाई भर्ना गर्ने र चर्को शुल्क लिने, सरकारी संस्थामा दिनुपर्ने समय नदिएर चिकित्सकहरूले निजीमा बढी समय दिने विकृति पनि बढिरहेको अख्तियारको दाबी छ ।
अख्तियारकाअनुसार राज्यले निःशुल्क वितरण गर्ने भनेका औषधिसमेत निजी क्लिनिकबाट वितरण गर्ने, स्वास्थ्य संस्थाहरूले उपलब्ध गराउने सेवाको अनुगमन गर्ने निकायले नियमित प्रभावकारी अनुगमन नगर्ने, अपराधका घटनाको स्वास्थ्य परीक्षण गर्दा गलत प्रतिवेदन दिनेसमेत देखिएको छ जुन निकै घातक हो ।
सार्वजनिक खरिद ऐन व्यवस्थाविपरीत तथा आवश्यकता नै नभएका औषधि, स्वास्थ्य उपकरण खरिद गर्ने, तथा आमनागरिकको स्वास्थ्य परीक्षणमा आवश्यक पर्ने बहुमूल्य यन्त्र उपकरणसमेत खरिदपश्चात् लामो समयसम्म पनि जडान तथा प्रयोग नगर्ने गरेको पाइएको अख्तियारको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
काठमाडौँ । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।
मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भन्नुभयो, “खाडी मुलुकबाट फर्किने कामदारलाई प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरिएको देखिन्छ ।
यसलाई नियन्त्रण गर्न अपरेसन सञ्चालन गरेका छौँ ।” भरियाका रूपमा प्रयोग भएका कामदारबाट बरामद भएको सुन नियन्त्रणमा लिने र भन्सार तिरेपछि सुन लैजान सकिनेसमेत उहाँले बताउनुभयो ।
उहाँका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशतले चाहिँ वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । पर्यटक भिसाका पनि १० प्रतिशतले वैध रूपमा ल्याउने गरेका छन् ।
राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ ।
सोही दिन २१ किलो अवैध सुन बरामद भएको थियो । पछिल्लो तीन हप्तामा मात्र वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको खबर आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ ।
उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ ।
विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७\७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ ।
उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै दोब्बरले बढी हो ।
त्यस वर्ष कुल दर्ता भएका ती उद्योगको प्रस्तावित कुल पूँजी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ती उद्योग सञ्चालनमा आउँदा रोजगारी पाउनेको संख्या ३ लाख ११ हजार ६९३ हुने प्रारम्भिक अनुमान छ ।
आर्थिक वर्ष २०७६र७७ मा मात्रै ७७ ओटै जिल्लामा कुल ४८ हजार ८५४ ओटा यस्ता उद्योग दर्ता भएका छन् ।
२०७६र७७ मा कुल दर्ता भएका उद्योगमा प्रस्तावित कुल पूँजी १ खर्ब ११ अर्ब १५ करोड रहेको छ । यी दर्ता उद्योग सञ्चालनमा आउँदा १ लाख ६९ हजार ७७१ जनाले रोजगार पाउने प्रक्षेपण गरिएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
बर्दगोरियामा धानबाली क्षति भएका किसानको बैंक खाता खोलिदै,अब सरकारी राहात खातामै आउने
रमेश बम बौनिया, कैलाली । सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई बैंक खातामार्फत राहत उपलब्ध गराउने भएको छ । असोज अन्तिम साताको बेमौसमी वर्षा र बाढीपहिरोले धानबाली नष्ट भएपछि सरकारले किसानलाई क्षतिका आधारमा बैंक खातामै राहात रकम उपलब्ध गराउने भएको हो ।
सरकारले यसअघि स्थानीय तहबाटै वर्षा र बाढीपहिरोले भएको धानबाली नष्टबारे लगत संकलनको काम गरेको थियो । किसानलाई राहत र क्षतिपूर्ति दिन सहज र पारदर्शी होस भन्नका लागि बैङ्किङ प्रणालीमार्फत नै राहात तथा क्षतिपूर्ति दिने व्यवस्था गरेको हो । यसका लागि बर्दगोरिया गाउँपालिकामा समेत धानबाली क्षति भएका किसानलाई राहातका लागि बैंक खाता खोल्नेक्रम शुरु भएको छ ।
बर्दगोरियाको वडा नम्बर ५ मा धानबाली नष्ट भएका किसानको पुस दुईगते देखि बैंक खाता खोल्ने काम सुरु भएको छ । किसानलाई वडामै सेवा उपलब्ध गराउने उदेश्यका साथ वडा कार्यालय परिसरबाटै खाता खोल्ने काम थालिएको बर्दगिरिया ५ कि वडाअध्यक्ष श्याम कुमारी चौधरीले बताउनुभयो ।
बैंक जादा ठूलो भिडभाड हुने र किसानलाई असहज हुने भएकाले वडामै यो काम थालिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । वडा नम्बर ५ मा प्रभु बैंक बौनिया शाखामा किसानको खाता खोलिने गरिएको छ । जसका लागि बैंकका कर्मचारी वडा मै खटिएका छ्न । कार्यालय समय अबधिभर किसानले नागरिकताको प्रमाणपत्र र फोटोलियर खाता खोल्न सक्नेछ्न । उहाँकाअनुसार बर्दगोरिया ५ मा ६१० बढी किसानको धानबालीमा क्षति भएको विवरण लगत संकलनमा छ ।
राहात उपलब्ध गराउनका लागि सरकारले विभिन्न मापदण्ड बनाएको छ, सोही मापदण्डका आधारमा किसानले सरकारी राहात पाउने वडा सचिब शेर बहादुर बडायकले बताउनुभयो । धानबाली क्षति भएका किसानलाई राहात उपलब्ध गराउन सरकारले देशभरका स्थानीय तहमार्फत यो प्रक्रिया थालेको वडा सचिब बडायकले भन्नुभयो, यसअघि लगत संकलन गरिएकोमा अब बैङक खाता खोल्ने काम अघि बढेको छ । बर्दगोरिया ५ मा पनि यो कामको थालनी भएको हो, जुन वडा कार्यालयबाट सूचना जारी भएको मितिले एक हप्तासम्म हुनेछ । वडा नम्बर ५ मा पुस दुईदेखि किसानको बैंक खाता खोल्ने काम सुरु भएको हो, उहाँले भन्नुभयो – खाता खोलिसके पछि राहतको लागि सबै किसानको खाता नम्बर केन्द्रमा पठाइनेछ ।
बर्दगोरिया १ मा सोमबारदेखि यो कार्य सुचारूको तयारी थालिएको छ भने वडा नम्बर २ मा समेत कार्यको थालनि भइसकेको छ । बर्दगोरिया २ मा ४३५ जना किसानले लगाएको धानबालीना बेमौसमी झरिले क्षती गरेको बिबरण रहेको वडा अध्यक्ष भेखु चौधरीले बताउनुभयो ।
कसले कतिसम्म राहात पाउँछन् ?
सरकारले १० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने छ ।
सरकारले राहातका लागि सबैभन्दा साना किसानलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानीएको छ ।
जसअनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले पाउनेछ्न ।
पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछ्न । गत २ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
धनगढीमा जग्गा नपाउदा नेपालगन्ज पुग्यो एयरक्राफ्ट म्यूजियम, अब चिल्ड्रेन पार्कमा संचालन हुने
कोहलपुर । कैलालीको धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) बाकेको नेपालगन्ज पुगेको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएपछि धनगढीमा जग्गा पाउन नसकेपछि म्यूजियम नेपालगन्ज पुगेको हो ।
९ वर्षअघि धनगढीको हसनपुरमा स्थापना भएको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक मानिन्थ्यो । तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले बताए ।
अब उक्त म्युजियम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को चिल्ड्रेन पार्कमा संचालित हुनेछ । ११० सिटको cosmic air प्लेन नेपालगन्ज स्थानान्तरण गर्नका लागि नेपालगन्ज उपमहानगर पालिका, नेपालगन्जबासीले ठूलो सहयोग गरेका छ्न । उक्त म्युजियमले समग्र नेपालगन्ज उपमहानगरको विकास र समृद्धि, पर्यटक तथा विद्यार्थीको अध्ययनमा समेत ठूलो भुमिका खेल्ने नेपालगन्जबासीको विश्वास छ ।
उक्त म्युजियमलाई नेपालगन्जमा अझ व्यवस्थित तवरले संचालनको तयारी थालिएको छ । यता उक्त म्युजियम धनगढीमै राख्नका लागि धनगढी उपमहानगरपालिका र यहाँका राजनीतिक दलले व्यवास्ता गरेको भन्दै आलोचना सुरु भएको छ ।
४ महिनामा साढे ५ खर्व ६८ अर्व रुपैयाँ व्यापार घाटा
काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई रु.६५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयातततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।
काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले न्यून हो ।
गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो ।
यसैगरी, चालू आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा झन् घटेको छ । कात्तिकमा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालू आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालू आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्यात्मक रूपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुग्नु मुलुकको श्रम व्यवस्थापनका लागि निकै राम्रो पक्ष भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहरकाबीच वैदेशिक रोजगारीमा जाने संख्या निकै राम्रो भएको बताएका छन् ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ ।
समीक्षा अवधिमा चालू आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो ।
सुनको मुल्य घट्यो ,कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो ।
आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।
बौनियामा वाहाना स्विट्स एण्ड नास्ता पसल संचालनमा, वडा अध्यक्ष खतिवडाले गरे उद्घाटन
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित सडकपुर बौनिया बजारमा वाहाना स्विट्स एण्ड नास्ता पसल संचालनमा आएको छ । पसलको सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले उद्घाटन गरे । सो क्रममा उनले सफल व्यवशायका निम्ति शुभकामना दिए ।
वाहाना स्विट्स एण्ड नास्ता पसलमा विभिन्न प्रकारका स्विट्स र नास्ताको ग्राहकले स्वाद लिन पाउनेछ्न । ग्राहकहरुलाई नितान्त फरक र सुविधा युक्त तरिकाले सेवा उपलब्ध गराउँदै पसल संचालनमा ल्याइएको प्रोपाइटर निशान्त विष्टले बताए । निकै सफा र स्वच्छ तरिकाले ग्राहकलाई सेवा प्रदान गरिने उनले बताए ।
ग्राहकको निम्ति स्वच्छ तथा स्वस्थ वातावरणमा सेवा प्रदान गर्ने, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने, सेवाग्राहीहरुलाई न्यानो आतिथ्यता प्रदान गर्ने लागयतका उद्देश्यले पसल संचालनमा ल्याइएको उनले बताए । उनका अनुसार पसलमा स्वच्छ, स्वस्थ तथा गुणस्तरीय खाजा, विभिन्न प्रकारका बेकरी आईटम, कफि समेत उपलब्ध हुनेछन् ।