काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभ निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ ।
दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ ।
‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’
अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् ।
दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’
अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ ।
दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।
कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा प्रतिकेजी १ सय २०, बोडी १ सय ४०, घिउ मिसी १ सय २०, चमसुर साग १ सय ५०, भिन्डी १ सय १०, ब्रोकाउली १ सय २०, प्याज ७०, परवर सय र पालुंगो साग १ सय ५० रुपैयाँ छ ।
दैनिक उपभोग्यमा चामल, आटा र मैदाबाहेक कुनै पनि वस्तु सयभन्दा कममा पाइँदैन । चिनी, गेंडागुडीमा आटा, मैदालगायत गत दसैंयता प्रतिकेजी ५ देखि १० रुपैयाँ वृद्धि भएको खुद्रा व्यवसायी संघ नेपालले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
भुमिहीनद्वारा जग्गामा स्वामित्वको माग
कञ्चनपुर । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।
सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् । “हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ”, संयोजक महराले भन्नुभयो, “वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन् ।”
सङ्घर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उहाँ बताउनुहुन्छ । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ ।
रासस
देउवा सरकारको चमत्कार; पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एक लिटर पेट्रोलको मूल्य १३६
काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ।
दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।
खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ। निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
सुनको मुल्य बढ्यो, चाँदीको भने स्थिर
काठमाडौ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु ९१ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।
सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर
काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
काठमाडौ । जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो ।
सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन् । जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा बिकासन्मुख देशहरुको हात नगण्य छ ।
बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । बिकासन्मुख देशले सो रकमे जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रबद्र्धनमा लगानी हुनेछ । एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ ।
सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । रासस
काठमाडौ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।
तीन महिनामा एक करोड राजश्व सङ्कलन
चितवन । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा रु एक करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो ।
राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व सङ्कलन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै रु एक करोड २२ लाख १५ हजार, संस्था दर्ता/नवीकरणबाट रु तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट रु ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट रु दुई लाख ३८ हजार ४० राजश्व सङ्कलन भएको छ ।
कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ । वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार तीन सय ३५ जिल्लाबाट सिफारिस र चार सय २१ दु्रत सेवा सिफारिस गरेको छ । १२ जना विपद्बाट पीडित भएकामा कार्यालयले रु पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । ११ मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्यौट भएको छ ।
आदिवासी जनजाति प्रमाणित सात सय ६५, दलित प्रमाणित दुई सय ९९, पेन्सन सिफारिस चार सय ३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २५ संस्था नवीकरण भएका छन् ।
देउसी भैलो खेलेको पैसाले गाउँमा सीसी क्यामरा
दमौली । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्ने क्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउँसी-भैलोलाई विभिन्न सङ्घ-संस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसीभैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिनुभयो । “यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ,” उहाँले भन्नुभयो ।
बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्य लिएर आफूहरुले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताउनुभयो । टोलवासीको सल्लाह र सुझावले नै आफूहरुले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उहाँले जानकारीदिनुभयो । उहाँका अनुसार देउसीभैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ ।
सामाजिक भावना राखेर आफूहरुले खेलेको देउसीभैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको सस्थाका सदस्य गौरी थापाले बताउनुभयो । तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलोपटक झिलीमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका २ मा रहेको सहारा घरलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) बर्दगोरिया गाउँ कमिटीले आर्थिक सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच नेकपा एमाले बर्दगोरियाको नव निर्वाचित गाउँ कमिटीले आर्थिक सहयोग गरेको हो ।
असाहयका लागि साहाराको अभिभावकिय दायित्व निर्वाह गर्दै आएको सहारा घरलाई एमाले बर्दगोरिया गाउँ कमिटीलगाएतको सयुक्त टोलिले नगद १० हजार ४ सय २५ रुपैयाँ र मिठाई प्रदान गरेको हो । दुखी र असाहयको सहायताका लागि राजनीतिक संस्कार बसाल्नु मुख्य आवश्यकता भएको भन्दै सहारा घरलाई सहयोग गरिएको एमाले बर्दगोरिया गाउँ कमिटीका नव निर्वाचित अध्यक्ष मधुकर सिजापती मगरले बताउनुभयो । जसको कोही पनि छैन, त्यस्ता अभिभावक बिहिन व्यक्तिको सहारा बन्ने राजनीतिक बानिको विकास गर्नका लागि नव निर्वाचित टोलिसहित आफ्ना कार्यकर्ताहरुले गरेको सहयोगलाई सहारा घरमा हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य द्वारिका धमलाले व्यहाहाराहरुको सहारा बन्नु सबैको सबैभन्दा ठूलो मानव धर्म भएको बताउनुभयो । उहाँले दशै ,तिहार तथा छठजस्ता चाडपर्वमा हुने फजुल खर्जलाई मात्रै अभिभावक बिहिन बेसाहारालाई सहयोग गरे ठुलो मानव धर्म हुने बताउनुभयो ।
कार्यक्रममा एमाले बर्दगोरियाबाट निर्वाचित जनप्रतिनिधि, बर्दहोरिया इन्चार्ज तथा जिल्ला कमिटी सदस्य मिथुन गौतम, गाउँ कमिटी सचिव देवेन्द्र शाही, सह-सचिव मिलन वलि लगाएतको उपस्थिति रहेको थियो ।