अफगानिस्तानको काबुल एअरपोर्ट अमेरिकाकाे नियन्त्रणमा, गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे
काठमाण्डाै, ३२ साउन २०७८ ।
अमेरिकाले अफगानिस्तानको काबुल एअरपोर्ट नियन्त्रणमा लिएकाे छ । तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको हाे ।
अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको छ । तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फसेका छन् ।
आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न अमेरिकाले ६ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ । आफ्ना सबै दूतावासका कर्मचारीलाई त्यहाँबाट बाहिर निकाल्नका लागि विमानस्थलमा बोलाइएको अमेरिकाले बताएको छ ।
यता काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको थियाे । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको भएपनि सैन्य उडान भने भइरहेकाे छ ।
काठमाडाैं, १ साउन २०७८ ।
लगातारको वर्षापछि आएको बाढीले डुबान हुँदा युराेपमा जनजिवन प्रभावित बनेकाे छ ।
बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको हाे । बाढीका कारण करीव ७० जनाको ज्यान गैसकेकाे छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् भने केहि बाढीमा परेर हराइरहेका छन् ।
सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका जनाउँदै बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द भएकाे र कयौँ सडक खण्डमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ । प्रभावित क्षेत्रका सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् ।
पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ ।
अहिले पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागहरूले बताएका छन् ।
विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गयाे,कुल संक्रमित १९ कराेड नजिक
विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे छ ।
हालसम्मकाे तथ्यांक अनुसार विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे हाे । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा उक्त संख्याको एक तिहाई संख्या अमेरिका, ब्राजिल र भारतका मात्रै छन् । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६ लाख ६० हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छभने ब्राजिलमा ५ लाख २८ हजारभन्दा बढीको र भारतमा करिब ४ लाख ५ हजारको मृत्यु भइसकेकाे छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी छ । अमेरिकामा ३ करोड ३७ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । पछिल्लो समय कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइएका कारण अमेरिका र युरोपमा भने संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ । तर खोप उपलब्ध गराउन समस्या भोगिरहेका इन्डोनेसियालगायतका मुलुकमा भने कोरोना संक्रमण बढिरहेको सीएनएनले उल्लेख गरेको छ ।
पछिल्लो समय कोरोना भाइरसकाेको डेल्टा भेरियन्टका कारण विश्वका विभिन्न मुलुकमा संक्रमण बढिरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा देखिएको नयाँ संक्रमितमध्ये आधा संक्रमितहरूमा डेल्टा भेरियन्टकाे काेराेना देखिएको छ ।
कुनै बेला विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार ७ सयसम्मको मृत्यु भएकोमा पछिल्लो हप्ता भने दैनिक ७ हजार ९ सय जना सम्मकाे मृत्यु भएको छ ।
काठमाण्डाै, २२ असार २०७८ ।
युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो । खेल इङ्ग्ल्यान्डको वेम्बली मैदानमा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।
इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ ।
भारी वर्षापछि आएको बाढीले दश घर बगायो, बीस जना बेपत्ता
जापान, २० असार २०७८ ।
मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् ।
शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् ।
सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।
काठमाडाै, १७ असार २०७८ ।
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।
नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता संकास्पद एकाउन्टहरु बन्द गरिदिएको टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा याे तथ्यांक सार्वजनिक गरेको छ ।
यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । यो भिडियो प्लाटर्फम किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ ।
टिकटकको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ ।
त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको टिकटककाे प्रतिवेदना उल्लेख छ । श्राेतः नेपाली नेटवर्क
काठमाण्डाै, ११ असार २०७८ ।
कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई हराएकाे छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो ।
समूह ए कै अर्को खेलमा अहिले बिहान पौने ६ बजेबाट चिली र पाराग्वे खेलिरहेका छन् । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ ।
तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।
अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो, पृथ्वीमा ठुलाे दुर्घटना टर्याे
काठमाण्डाै, २६ बैशाख २०७८ ।
अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको हाे ।
याे संगै पृथ्वीमा ठुलाे दुर्घटना टरेकाे बीबीसीले जनाएको छ । यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीले बताएका छन् । भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो । अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ । घटनामा मानवीय क्षति भएकाे छैन ।
२०२० मा १६ करोडले गम्भीर भोकमरीकाे सामना गरे, अब त्योभन्दा खराब परिस्थिति आउन सक्छ
काठमाडाैँ, २३ बैशाख २०७८ ।
सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
राष्ट्र सङ्घसमेतका १६ संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ । त्यस प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ देशलाई केन्द्रित गरेको राष्ट्र सङ्घको भनाइ छ । प्रतिवेदनले गएकाे वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाइ खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औल्याएको छ ।
सन् २०१९ मा झन्डै दुई करोड मानिसले खाद्य सङ्कट बेहोर्नुपरे पनि सन् २०२० मा झन्डै १६ करोड मानिसले सङ्कट, आपत्काल वा भोकमरीको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० देशका झन्डै दुई तिहाइ नागरिकले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, दक्षिण सुडान, जिम्बाब्वे हाइटी रहेका छन् । बुर्किना फासो, दक्षिण सुडान र यमनका झन्डै एक लाख ३३ हजार मानिस भोकमरीबाट अतिशय पीडामा छन् ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन सय सात पृष्ठको ‘ग्लोबल रिपोर्ट अन फूड क्राइसिस’ अर्थात् विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भन्नुभएको छ, ‘चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको सङ्ख्या बढ्दो क्रममा छ ।’ उहाँले भन्नुभएको छ, ‘अकाल र भोकमरीको एक्काइसौँ शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुवैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।’
विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य सङ्कट निम्तिनुमा प्रमुख रूपमा द्वन्द्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गएकाे वर्ष विश्वका २३ राष्ट्रका झन्डै १० करोड मानिसले खाद्य सङ्कट बेहाेरेकाे जानकारी दिनुभयो । ‘हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको सङ्ख्यामा कुनै कमी आउने देखिन्न’ उहाँले भन्नुभयो ।