दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म रोम, इटली, ग्लासगो र बेलायत जाने भएका छन् । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा हुनुहुनेछ ।
शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू पनि सहभागी हुनुहुनेछ ।
जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलोपटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ । एएनआई/रासस
फेरि ६.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो ।
तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ । उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो ।
ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आईतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ ।
दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
एजेन्सी । दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।
सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा “कोरोनासँगै जीउन सिकौँ” भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।
दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको हो । सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाडो सर्ने
एजेन्सी । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निश्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ ।
यसबारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ ।
बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर सङ्क्रमितहरुको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरुले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।
साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् ।
कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हँुदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् । रासस÷सिन्ह्वा
न्युदिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपल्ब्धी भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिनुभएको छ।
मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्ष्यित उमेर समूहका नागरिकलाई लगाउँनमा निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिनुभएको छ।
मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धी प्राप्त गरेको विचार व्यक्त गर्नुभएको छ । यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गर्नुभएको छ । रासस/ एएनआइ
अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन
काठमाडौ । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त भएका थिए ।
पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।
इराक युद्धमा समर्थन जुटाउने क्रममा उनी विवादमा तानिएका थिए । रिपब्लिकन दलमा आबद्ध हुनुअगाडि पावेल पूर्व उच्च सैनिक अधिकारी पनि थिए। पावेल अफ्रिकी मूलको अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।
काठमाडौँ । अन्तर्राष्ट्रिय समुदायको चेतावनीपछि म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ। सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो ।
फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ ।
जनवरीमा निर्वाचित सरकारलाई ‘कु’ गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।
सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताए । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।
केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो ।
एउटा टेलिभिजन सम्बोधनमा सेना प्रमुखले सैन्य नेताहरू शान्ति र प्रजातन्त्रका निम्ति प्रतिबद्ध भएको दाबी गरे । प्रजातन्त्र पुर्नस्थापन गर्न सरकारले पाँच चरणको योजना ल्याउने उनले बताए ।
म्यानमारमा बर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंख्यक मुस्लिम रोहिंज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधरण परेका छन् । सेनाको दमनका कारण लाखौ मुस्लिम रोहिंज्याँ बंगलादेशमा बिस्थापित छन् ।
नयाँ ,दिल्ली । भारतका विवादास्पद धार्मिक गुरु गुरमीत राम रहिमलाई आजीवन जेल सजाय दिइएको छ । सीबीआईले अदालतबाट डेरा प्रमुखलाई मृत्युदण्डको सजायको माग गरेको थियो। राम रहिमले अदालत समक्ष दयाको निवेदन गर्दै आफ्नो रक्तचाप, आँखा र मिर्गौला सम्बन्धी रोगहरुको पनि उल्लेख गरेका थिए।
डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिमलाई रणजीत सिंह हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ। उनी बाहेक अन्य चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।
राम रहीम सहित पाँच दोषीलाई अक्टोबर ८ मा दोषी ठहर गरिएको थियो। त्यसपछि सोमबार सजाय सुनाइएको हो। सजायको घोषणा हुनुभन्दा पहिले पञ्चकुला जिल्लामा सुरक्षा व्यवस्था कडा पार्दै धारा १४४ लगाइएको थियो।
त्यहाँ कुनै पनि प्रकारको धारिलो हतियार बोक्न प्रतिबन्ध लगाइएको थियो। सय सैनिकहरु १७ नाकाहरु र शहरमा तैनात थिए। आईटीबीपीको चार टुकडी सीबीआई अदालत परिसर र चार प्रवेशद्वारमा तैनात थिए।
डेरा सच्चा सौदाका प्रमुख रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्या आरोपमा आजीवन कैद र ३१ लाख भारतीय रुपैयाँको सजाय दिइएको जनाइएको छ ।रणजीत सिंहको २००२ मा हत्या गरिएको थियो ।
रासस,दुबई । दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।
सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो । अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ ।
दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ । मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो ।
कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ । अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको छ ।
काठमाडौ । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा भएकाे आत्मघाती आक्रमणमा परी मर्नेकाे संख्या ४७ पुगेकाे छ भने ७० जना घाइते भएका छन् ।
शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए । शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो ।
तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ । यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो ।