चीनले विकास गर्याे कृत्रिम अभियोजनकर्ता, अब उपकरणले नै अपराधीको पहिचान गरि मुद्दा लगाउने
बेइजिङ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ ।
सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिस गर्नेछ ।
विकसित नयाँ प्रणाली (एआई) लाई चीनको कम्युनिष्ट पार्टीले दुरुपयाेग गर्न सक्ने र एआईको जवाफदेही काे हुने भन्ने बारेमा चौतर्फी चासो बढेको छ ।
मुद्दाको मौखिक वर्णनका आधारमा सो यन्त्रले मुद्दा लगाउन सक्ने जनाइएको छ । यन्त्रलाई देशकै ठूलो अभियोजकर्ताको कार्यलय सांघाई पुडोङ पिपुल्स प्रोक्यरेटोरेटले विकसित गरेको हो ।
एआईले वास्तविक अभियोजनकर्ताको ‘लोड’ कम गर्ने र उनीहरुलाई जटिल मुद्दामा मात्र केन्द्रित गर्ने सो उपकरण निर्माण परियोजनका वैज्ञानिक तथा प्राध्यापक सी योङले बताएका छन् ।
सो प्रणाली डेस्कटप कम्प्युटर प्रणालीबाट चल्नेछ । सन् २०१५ देखि सन् २०२० सम्मका १७ हजार वास्तविक घटनामा आधारित मुद्दालाई प्रयोग गरेर एआईपीलाई तालिम दिइएको थियो । त्यस्तै, एआईपीलाई सांघाईका आठ ओटा सबैभन्दा साझा अपराधबारे पहिचान गर्न लगाइएको थियो ।
यन्त्रले क्रेडिट कार्डका ठगी, सामान्य अपराध, जुवा, खतरनाक गाडी हाँक्ने, चोरी, सामान्य ठगी, नियतवश पुर्याइने चोट र सरकारी अधिकारीहरुको कार्यमा अवरोधजस्ता विषयमा छानविन गर्नेछ ।
उपकरणले अझै धेरै प्रकारका अपराधको पहिचान गर्ने र शंकास्पदविरुद्ध एकभन्दा बढी अभियोग लगाउन सक्नेछ ।
म्यानेजमेन्ट रिभ्यु जर्नलमा प्रकाशित एउटा पत्रिकामा सीले भनेका छन्, ‘यस प्रणालीले केही हदसम्म निर्णय गर्ने पक्रियामा अभियोजनकर्तालाई विस्थापित गर्नेछ । ’
चीनमा केही एआई प्रविधि कानुन कार्यान्वयन निकायमा प्रयोगमा आएका छन् । तर, अपराधीलाई खानतलासी गर्ने विषयमा भने पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर प्रयोगमा ल्याइएको हो ।
एजेन्सी
काठमाडौं । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ ।
चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।
सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो ।
संस्थाका अनुसार लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौं शरणार्थिलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकाशेको माथि कोविडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ ।
एजेन्सी
युरोप र अमेरिकामा साढे ११ हजार उडान रद्द
न्युयोर्क । कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो ।
उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखाैं मानिसहरु प्रभावित भएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन् ।
विश्वमा हवाइ उडानसम्बन्धी अभिलेख राख्ने फ्लाइटअवेरका अनुसार सोमबार मात्र ३ हजार उडान रद्द भएका थिए । कोभिड संक्रमणका कारण अमेरिकाको यात्रा अस्तव्यस्त भएपछि आइसोलेसन अवधि १० बाट घटाएर पाँच दिन बनाइएको छ ।
पछिल्लो समयमा अमेरिका र युरोपमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणका कारण अमेरिकाका कोभिड अस्पताल भरिएको भन्दै राष्ट्रपति जो बाइडेनले सचेत हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री नै निलम्बित ,यस्तो छ कारण
मोगादिशु । सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गर्नुभएको छ ।
संकटग्रस्त यस अफ्रिकी मुलुकमा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुभएको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताए ।
“राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,” राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा भनेको छ ।
प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानबिनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।
फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध विग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।
आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाउनुभएको छ । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भन्नुभयो, “फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न नचाहेको बताउनुभएको छ ।
अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शनहरू गरेका थिए भने दर्जनौँ मानिसको झडपहरूमा परी मृत्यु भएको छ ।
सिड्नी। अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ।
न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो। केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो।
पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ। संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ।
अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो।
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ ।
‘जीवन नै रद्द गर्नभन्दा कार्यक्रम रद्द गर्नु उर्पुक्त हुन्छ,’ डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयससले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निणर्य’ लिनुपर्ने उनको भनाई छ । ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनको भनाई छ ।
नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरुले कोभिड प्रतिबन्ध लगाइरहेका बेला डब्लूएचओका प्रमुखको भनाई आएको हो ।
नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ । बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ । तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यलय ह्वाईटहाउसले जनाएको छ ।
एजेन्सी
बङ्लादेशबाट कोरोनाविरुद्ध अतिरिक्त खोप लगाउन सुरु
ढाका । बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ ।
सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गर्नुभएको हो ।
अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिनुभयो । अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ ।
रासस÷सिन्ह्वा
विश्वका ७७ देशमा फैलियो ओमिक्रोन,डब्लूएचओ भन्छ : नजरअन्दाज गर्दा परिणाम भयानक
न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रूपमा अप्रत्याशित ढङ्गले तीव्र फैलिएको जनाएको छ ।
नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरूमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरूमा पनि फैलिएको हुनसक्ने अनुमान गर्नुभएको छ । ओमिक्रोन नियन्त्रण गर्न देशहरूले पर्याप्त तयारी नगरेको उहाँले बताउनुभयो ।
“अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्याशित सङ्क्रमण दर वास्तवमै चिन्ताजनक छ,” उहाँले भन्नुभयो ।
ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । स्वयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ ।ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् । एजेन्सी
दोहा । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कुवेतमा पनि भेटिएको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल(सनदले बुधबार दिएको जानकारी अनुसार ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको जानकारी दिएका हुन्।
ती यात्रुले यसअघि नै कोभिड(१९ को दुवै डोज खोप लगाई सकेका थिए । उनी अहिले स्वास्थ्य प्रोटोकल अनुसार संस्थागत क्वारेनटाइनमा रहेको प्रवक्ता डा। अल(सनदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।
उनले हाल, कुवेतमा महामारीको अवस्था स्थिर रहेको जनाउँदै नागरिक र आप्रवासी श्रमिकहरूलाई मन्त्रालयले जारी गरेको निर्देशन पालना गरी भाइरसको फैलावट रोक्न मद्दत गर्न र बुस्टर डोज खोप लिन अनुरोध गरेका छन् ।
कुवेतमा ओमिक्रोनका बिरामी भेटिएसँगै नेपाली कामदारहरूलाई थप सतर्कता अपनाउन तथा सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ।
यसअघि खाडी मुलुक साउदी अरब र युएईमा पनि ओमिक्रोन भेटिसकेको छ ।
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी तीन वटा विवादास्पद कानून खारेज भएको घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन् ।
कानूनको विरोधमा दशौं हजार किसानले राजधानी दिल्लीको सिमालगायत भारतका विभिन्न राज्यमा धर्नामा बसेका थिए । सरकारले ल्याएको कानूनले निजी क्षेत्रलाई प्रोत्साहन गरेको र किसानको उब्जनीलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाउँदै आएका थिए ।
कानूनको विरोधमा उत्रिएका किसान र सरकारबीच विभिन्न चरणमा भएका वार्ताविना निस्कर्ष टुंगिएका थिए ।
यूपी र पन्जाबमा हुन लागेको विधान सभा निर्वाचनको पूर्वसन्ध्यामा गरिएको यस घोषणालाई अर्थपूर्ण मानिएको छ । यी राज्यमा ठूलो संख्यामा किसान छन् । किसानहरुले कानून खारेजीको स्वागत गरेपनि विरोध प्रदर्शन नरोक्ने बताएका छन् । सरकारले संसदमा कानून खारेज गरेपछि मात्रै विरोध प्रदर्शन रोक्ने उनीहरुले बताएका छन् ।