काठमाडौ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लिन बिहीबार नेपाल आउँदैछन्। नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिने नेपाल भ्रमणमा रहनेछन्। चार दिने भारत भ्रमणपछि उनी यहाँ आउन लागेका हुन्। फ्लिनले हिजो मंगलबार भारतीय प्रधानसेनापति मनोज पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
भेटमा भारत र अमेरिकाबीच सैन्य सहकार्यका क्षेत्रहरुबारे छलफल भएको भारतीय सेनाले जनाएको छ। उनले भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल बिएस राजुसँग अलग्गै भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आउन लागेको बताएका छन्। उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता तय भएको छ।
‘अन्य उच्चस्तरीय भेटवार्ता पनि हुनेछन्। हामी भेटवार्ताका लागि समय टुंगो गर्दैछौँ,’ सिलवालले भने।फ्लिनले काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एक कार्यक्रममा मन्तव्य दिनेछन्।रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सैन्य अधिकारी फ्लिनको भेटवार्ताका लागि अमेरिकी पक्षले आग्रह गरेको छ।
निकट भविष्यमा हुने प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि उच्च सैन्य अधिकारीको भ्रमण हुन लागेको हो। देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका जाँदैछन्। अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरलको भ्रमणका एजेन्डाबारे नेपाली सेनाले केही बताएको छैन।
सन् २०२१ को जुनमा उक्त पदमा नियुक्त फ्लिनको जिम्मेवारी अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिलाई व्यवहारिक रुपमा सैनिक तहबाट कार्यान्वयन गर्नु हो।उनले हिन्द प्रशान्त सैन्य रणनीति अन्तर्गत भारतसंग सैन्य साझेदारी बढाउने विषयमा नयाँ दिल्लीमा भएको भेटमा कुराकानी गरेका थिए।
अमेरिकाले नेपाली सेनालाई केही वर्षयता निरन्तर इंगेज गरिरहेको छ। अमेरिकी सेनाले नेपाली सेनासँग समय—समयमा सैन्य अभ्यास गर्दै आएको छ।त्यसका अलावा दैवी प्रकोप र उद्धारबारे छलफल र अन्तरक्रिया दुई देशका सेनाबीच भइरहेको छ। नेपाली सेनासँगको सम्बन्ध सघन पार्न अमेरिकी सेनाले पाँच वर्षअघि एउटा सैन्य समझदारी पत्रमा हस्ताक्षर गर्न प्रस्ताव गरेको थियो।
अमेरिकी सेनाले सञ्चालन गर्ने स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० अन्तर्गत नेपाली सेनासँग दीर्घकालीन रुपमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि अमेरिकाले ताकेता गरिरहेको छ।
तर, त्यसप्रति नेपाली सेनाले उत्साह देखाएको छैन। उक्त कार्यक्रमलाई अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त रणनीतिमा समावेश गरेको छ।
स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेना सहभागी हुँदा अमेरिकाको सुरक्षा छाताभित्र नेपाल सहभागी भएको सन्देश अन्र्तराष्ट्रिय तहमा जाने हुँदा नेपाली सेनाले उक्त कार्यक्रमप्रति अनिच्छा जनाउँदै आएको छ।
नेपाली सेना अमेरिकी सुरक्षा छाताभित्र समेटिँदा नेपालले लिएको असंलग्न परराष्ट्र नीतिविरुद्ध हुने भएकाले त्यसप्रति सेनाले असहमति राख्दै आएको बताइन्छ।
तर, अमेरिकी सेनाका उच्च अधिकारीको भोलिदेखि हुने नेपाल भ्रमण र प्रधानसेनापति शर्माको आसन्न अमेरिका भ्रमणमा समझदारी पत्रबारे दुई देशबीच छलफल हुन सक्ने अधिकारीहरुले बताए।
रणनीतिक महत्वको यो समझदारी पत्र अमेरिकाले सन् २०१५ मा प्रस्ताव गरेको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री उक्त समझदारी पत्रमा हस्ताक्षरका लागि सकारात्मक थिए।
त्यसबेला कतिपय सरकारी अधिकारीले प्रधानसेनापति क्षेत्रीकै अग्रसरतामा उक्त समझदारी पत्र अमेरिकी सेनाले नेपाल पठाएको समेत टिप्पणी गरेका थिए।
नेपाली सेनालाई अमेरिकी सेनाले पठाएको उक्त समझदारी पत्रअनुसार नेपाली सेना र अमेरिकी सेनाको युटा नेशनल गार्डबीच नियमित भ्रमण आदानप्रदान र सैन्य अभ्यास हुनेछ।
त्यसैले विपदसँग लड्ने लगायत विषयमा पनि दुई सेनाबीच सहकार्य हुनेछ। अमेरिकी सेनाद्वारा प्रस्तावित उक्त समझदारीपत्र रक्षा मन्त्रालय र सैनिक मुख्यालयमा थन्किएको छ।
‘हेर्दा सामान्य समझदारी पत्र भए पनि त्यो रणनीतिक महत्वको छ। अमेरिकी सेनाका लागि नेपाली सेनामा आफ्नो प्रभाव बढाउन त्यो महत्वपूर्ण हुने देखिन्छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने।
एक वर्षअघि देउवा नेतृत्वको सरकार बनेपछि नेपाल–अमेरिका कूटनीतिक छलफल र बैठकहरूमा वासिङ्टनले बारम्बार स्टेट पार्टनरसीप प्रोग्राममा नेपाली सेनाको सहभागिताबारे प्रतिवद्धता खोजेको छ। तर नेपालले प्रष्ट जवाफ दिएको छैन।
दुई महिनाअघि आएका अमेरिका सेनाको युटा नेशनल गार्डका एड्जुटेन्ट जनरल माइकल जे टर्लीले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागिताबारे सैनिक नेतृत्वसँग छलफल गरेका थिए।
अमेरिकी सेनाको उक्त कार्यक्रमअन्तर्गत अहिले विश्वका करिब एक सय देशका सेना अमेरिकी सेनासँग जोडिएका छन्।
स्टेट पार्टनरसीप कार्यक्रमअन्तर्गत अमेरिकाका केन्द्रीय र राज्य तहका नेशनल गार्डस् ९सेना० ले अर्को देशका सेनासँग सहकार्य गर्छन्। हरेक देशसँग छुट्टाछुट्टै विषयमा सहकार्य हुने गरेका छन्।
गत पुसमा रक्षामन्त्रीबाट राजीनामा दिएलगत्तै डा। मिनेन्द्र रिजालले आफू मन्त्री छँदा स्टेट पार्टनरसीपमा नेपाली सेनाको सहभागिताबारे अमेरिकासँग छलफल भएर त्यसबारे सकारात्मक जवाफ दिइसकेको नेपालखबरसँग बताएका थिए।
स्टेट पार्टनरसीप प्रोग्राम अघि बढाउने मुख्य एजेन्डा लिएर गत जनवरीमा दुई साता अमेरिकाको औपचारिक भ्रमणमा जाने तयसमेत भइसकेको अवस्थामा डा। रिजालले राजीनामा दिएका थिए।
विश्व बैङ्कले २०२२ को विश्वव्यापी वृद्धि प्रक्षेपण २.९ प्रतिशतमा घटायो,यस्तो छ कारण
वासिङ्टन। युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैङ्कले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ ।
“विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैङ्कले मङ्गलवार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ ।
कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पु¥यालपछि यो गिरावट आएको हो ।
रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापी रूपमा बढाएको छ ।
“युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुने,” विश्व बैङ्कका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।
प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ, विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ ।
“यसले मुद्रास्फीतिको जोखिम बढाउँछ र मध्यम र न्यून आय भएका अर्थतन्त्रहरूका लागि सम्भावित हानिकारक परिणामहरूको पनि सँगसँगै लैजाने छ ।
प्रतिवेदनले सन् १९७० को दशकमा केही समानताहरू उल्लेख गरेको छ । तर त्यो अवधिको विपरीत अमेरिकी डलर बलियो छ र प्रमुख वित्तीय संस्थाहरू ठोस स्थितिमा छन् ।साथै बैङ्कले मूल्य नियन्त्रण वा निर्यात प्रतिबन्धको साथ मुद्रास्फीति स्पाइक समाधान गर्ने प्रयास नगर्न चेतावनी दिएको छ ।
मालपासले “उत्पादनलाई प्रोत्साहन दिन र व्यापार प्रतिबन्धबाट बच्न जरुरी” रहेको पनि टिप्पणी गरेका छन् ।
प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १.२ अङ्कले घटाएर २.५ प्रतिशतमा पु¥याएको छ र चीनको लागि पूर्वानुमान ०.८ अङ्कले घटाएर असाधारण रूपमा न्यून ४.३ प्रतिशतमा झरेको छ ।
यसैबीच युरो क्षेत्रको प्रक्षेपण २.५ प्रतिशत र जापान १.७ प्रतिशतमा घटाइएको छ । साथै रुसको अर्थतन्त्र यस वर्ष ११.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ ।एएफपी
जेनेरिया। ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।
यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । यहाँका सयौँ घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।
पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।
पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।सिन्ह्वा
नयाँदिल्ली, १७ जेठ । सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् ।
अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।
केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । आम आद्मीले उनको पक्राउको विरोध गरेको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उदेश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज हुन् ।
केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आद्मीले उद्घोष गर्दै आएको छ । एजेन्सी
विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी
एजेन्सी । विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ।
विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन्।
चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए। विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो।
‘विश्वव्यापी जीडीपीलाई हेर्दा हामी कसरी मन्दीबाट बच्न सक्छौं भनेर हेर्न गाह्रो छ’, उनले भने। ‘उर्जा मूल्य दोब्बर गर्ने विचार आफैंमा मन्दी निम्त्याउन पर्याप्त छ’, उनले थपे।
गत महिना, विश्व बैंकले यस वर्षको लागि आफ्नो विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण ३ दशमलब २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । कूल ग्राह्स्थ उत्पादन आर्थिक बृद्धिको एउटा उपाय हो।
अर्थतन्त्र कति राम्रो वा नराम्रो तरिकाले चलिरहेको छ र अर्थशास्त्रीहरू र केन्द्रीय बैंकहरूले यसलाई नजिकबाट हेरेका छन् भनेर मापन गर्ने यो सबैभन्दा महत्वपूर्ण तरिका हो।
१५ देशमा फैलियो मंकीपक्स सङ्क्रमण
लन्डन । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स सङ्क्रमण थप देशहरूमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स सङ्क्रमण फैलिने देशको सङ्ख्या १५ पुगेको छ ।
देशबाहिरबाट आएका एक एक जनामा सङ्क्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शङ्कास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ ।
मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरूको अध्ययन भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस सङ्क्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।
यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने , थकान महसुस हुने लक्षण देखिन्छ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ । एजेन्सी
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नुभएको हो ।
बुद्ध जयन्तीका दिन उहाँले लुम्बिनीको भ्रमण गर्नुहुनेछ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उहाँबाट हुन लागेको यो पाँचौँ भ्रमण हो ।
बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजा अर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री डा.नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ ।
भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास दुवै देशका जनताले गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ ।
भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ । रासस
छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित
मनिला । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।
कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाउनु भएको थियो ।
दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उहाँहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी हुुनुभएको छ ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनु भएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा हुनुहुन्थ्यो ।
नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत एक एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्व सिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नु हुनेछ । अहिलेका राष्ट्रपतिको ६ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिनु भएको थियो । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो । रासस÷एएफपी
डिभीको नतिजा आज राति सार्वजनिक हुँदै
काठमाडौ । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा आज (शनिबार ) राति सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ ।
नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ । यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ ।
सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो । डिभी भर्ने म्याद अघिल्लो नोभेम्बर ९ मा सकिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो ।
जेठ २ गते बुद्ध पूर्णिमा (बुद्ध जन्मजयन्ती)का अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमण गर्ने योजना बनाएको युनेस्कोले जनाएको छ ।
सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित भएपछि हुन लागेको उहाँको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।
सो अवसरमा नेपालका प्रधानमन्त्री देउवा र उहाँका समकक्षी मोदी दुवै जना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुने जनाइएको छ । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । तथापि यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ । भारतका प्रधानमन्त्री मोदी कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुहुनेछ ।
कोभिड–१९ महामारीको पछिल्लो प्रकार ओमिक्रोन संस्करण केही मत्थर भएसँगै भारतका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नुभएको छ । यतिबेला उहाँ युरोप भ्रमणमा रहनुभएको छ । त्यहाँबाट फर्केलगत्तै नेपाल भ्रमणमा आउन लाग्नुभएको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ ।
आफ्नो अघिल्लो कार्यकालमा उहाँ चार पटक नेपाल भ्रमणमा आउनुभएको थियो । जसअनुसार दुई पटक सन् २०१४ र दुई पटक सन् २०१८ मा नेपाल आउनुभएको थियो । सन् २०१४ को नेपाल भ्रमणताका नै लुम्बिनी भ्रमण गर्ने इच्छा जाहेर गर्नुभएको थियो ।