रुस-युक्रेन युद्धमा ९,००० युक्रेनी सेना मारिए
कीभ। रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।
युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।
मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।
यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै “घृणित अपराध” को निन्दा गरेका छन्।एएफपी
चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो
सिनिङ। चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको सङ्ख्या बेलुका ४ बजेसम्म २६ पुगेको बताइएको छ । साथै अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
राति १०-२५ बजेबाट शुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा प्रतयक्ष प्रभावित भएका छन् ।
मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई बाढी गाउँ परवेश गरेको थियो।यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।सिन्ह्वा
काठमाडौं । युरोपको मध्य र दक्षिण क्षेत्रहरूमा आएको शक्तिशाली आँधीका कारण हाल सम्म १३ जनाको मृत्यु भएको छ ।
आँधीका कारण रुखहरू ढलेका जसका कारण इटाली, अस्ट्रिया र फ्रान्समा कम्तीमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
आँधी सँगै आएको अधिक वर्षाका कारण मध्य र दक्षिणी युरोपको जनजीवन प्रभावित भएको छ ।
विगत केही साता देखी भीषण गर्मी र तातो हावा झेलिरहेका युरोपेली जनतालाई हालको आँधीबेहरीले थप समस्यामा पारेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मंकिपक्स सङ्क्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।
गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।
“मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो”, डब्लूएचओका रोजामुन्ड लुइसले भन्नुभयो । मानिसबाट जनावरमा मंकीपक्स सङ्क्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रह समेत गरेको छ । एजेन्सी
काठमाडौँ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।
यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ ।
सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन ।
यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।
जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति
काठमाडौं । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।
उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरे। १५ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत रद्द भएको उनले बताए।
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी हुन्।
यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला
न्युयोर्क । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् ।
डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।
गिनिज वर्ल्ड रेकर्ड्सले जनाए अनुसार मिनेसोटाकी ६३ वर्षीय डायनाको दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।
उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलव ७ इन्च लामो छ । बुढी औँलाको नङ सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।एजेन्सी
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
तेहरान। इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।
देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिनुभयो ।
बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उहाँको भनाई छ ।
इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।
बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ ।सिन्ह्वा
डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु
ढाका। बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ ।
उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन् ।
तथ्याङ्कअनुसार स्थानीय यसवर्ष देशमा पुष्टि गरिएका डेङ्गु सङ्क्रमितको कूल सङ्ख्या दुई हजार सात सय ४७ पुगेको छ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुलाईमा नौ जनाको मृत्यु भएको छ भने जूनमा एक जनाको मात्र मृत्यु भएको थियो ।”
जून–सेप्टेम्बरसम्म अर्थात् मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । लामखुट्टेले सार्ने रोगहरूका लागि यो एक उच्च जोखिम राष्ट्र मानिन्छ । करिब १६ करोड ५० लाख जनसङ्ख्या रहेको यो देशमा विशेष गरी पर्याप्त मात्रामा जैविक सुरक्षा र रोग निगरानीको सावधानीको कमीका कारण डेङ्गुको समस्या धेरै देखिने गर्छ ।
मदिरा पिउँदा २६ जनाको मृत्यु
काठमाडौँ । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ ।
अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजरातको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।
उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।
भारतको गुजरातसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।