यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६ज्ञ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्ष जेल सजाय
काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।
उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ ।
तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ । अर्जेन्टिनाको इतिहासमा बहालवाला उपराष्ट्रपति माथि न्यायिक अंगबाट यो प्रकारको अभियोग पुष्टि भएको पहिलो पटक हो। सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिश्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्नो ब्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर अदालतले गरेको छ ।
घुस दिने ब्यपारी लाजारो बाएजलाई भने यस अघि नै ६ वर्षको जेल सजाय सुनाएर पनि कारागारमा राखिएकाे छ । ११ जना विरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका छन् । अहिलेसम्मकै सबै भन्दा ठूलो भ्रष्टाचार भनिएको यो सार्वजनिक निर्माणको काम दर्जनौं ठेक्कासँग जोडिएको र ति काम अहिले पनि लथालिैग अवस्थाा रहेको जनाइएको छ ।
युरोपेली सङ्घमा आबद्ध देशभित्रका यात्रुले विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने
काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउनेभएका छन् ।
उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित ‘फाइभ जी’ प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ ।
यो निर्णयपछि विमानका यात्रुले अब आफ्नो मोबाइललाई ‘फ्लाइट मोड’मा राखिरहन पर्दैन । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।
युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आउँदो वर्षको जुन ३० सम्मको समय दिइएको छ । सम्पूर्ण प्रविधि तयार भएपछि यात्रुले उडिरहेको विमानबाट पनि फोन गर्न र मोबाइल डेटाबाट गीत, सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्नेछन् ।
अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले विमानको उचाइ मापानमा समस्या हुने, उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भए पनि युरोपेली सङ्घका देशमा यसले कुनै समस्या नहुने बीबीसीमा उल्लेख छ ।
विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो
काठमाडौँ । विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसङ्घले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको जनाएको हो ।
सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसङ्घले ११ वर्षको अवधिमा विश्वको जनसङ्ख्या १ अर्ब नाघेको जनाएको छ।
बिसौँ शताब्दीको उत्तरार्द्धमा विश्वको जनसङ्ख्यामा ठूलो वृद्धि देखिएको थियो । राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसङ्ख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।
भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु
काठमाडौं । भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ । ज्यान गुमाएका मध्य ५० बढी बालबालिका छ्न ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।
अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ ।
शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।
त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।पटक पटक भारतबाट पेटरोल तथा डिजेलको मूल्य घटेर आए पनि सरकारले भने मूल्य घटाएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था भए पनि गठबन्धन सरकार बनेदेखि त्यो लागू भइरहेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बिहान डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ ।
काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आउँदै छन् ।
भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो ।
उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् । सेनापति पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका हुन् ।
राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसँग भेटवार्ताका क्रममा अग्निपथ योजना र गोर्खा भर्तीबारे चर्चा हुनेछ ।
सामाजिक सञ्जालको ‘पोस्ट’ले पैतालीस वर्ष जेलमा
रियाद। साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।
अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो ।एएनआई
पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बालबालिकासहित एक हजार १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक हजार ६०० भन्दा बढी मानिस घाइते भएका छन् भने दुई लाख ८७ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएका छन् ।
यसबाहेक, करिब सात लाख ३५ हजार भन्दा बढी पशुपंक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ ।
डब्लुएचओले एक रिपोर्टमा भनेको छ,“जुलाई २०२२ को मध्यमा पाकिस्तानमा सुरु भएको भारी मनसुनी वर्षा देशका धेरै भागहरूमा जारी छ र यसले पाकिस्तानका १५४ जिल्लाहरू मध्ये ११६ जिल्लाहरू (७५ प्रतिशत) लाई प्रभावित पारेको छ । सबैभन्दा बढी सिन्ध प्रभावित बनेको छ भने बलुचिस्तान दोस्रो प्रभावित प्रान्त हो ।”
संयुक्त राष्ट्रसंघले भनेको छ, “पाकिस्तानमा २५ अगस्ट २०२२ सम्ममा बर्षा र बाढीका कारण तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका छन् । चार लाख २१ हजार शरणार्थीसहित ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ । एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब १५ हजार मानिस घाइते भएका छन् ।”
डब्लूएचओका अनुसार बर्षा र बाढीको कारण देशका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन् भने सन् २०२२ अगष्ट २८ सम्ममा ८८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये १८० वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीमा पहुँच अहिलेका लागि मुख्य स्वास्थ्य चुनौती का रूपमा रहेको डब्लुएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठनले देशको स्वास्थ्य प्रणालीले कोभिड–१९, हैजा, टाइफाइड र दादुराजस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ ।
यद्यपि पाकिस्तानमा अहिलेको बाढी आउनुभन्दा पहिले पनि ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो असमानता थियो ।
संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप ३० मिलियन अमेरिकी डलर को जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ भने अन्य मुलुकहरूबाट पनि सहयोगको लागि प्रतिवद्धताहरू आएका छन् ।सिन्ह्वा
काठमाडौँ । न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा नेपाली पुरातात्त्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।
म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक वस्तु ग्रहण गरेका थिए ।
एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४ औँ शताब्दीदेखि १८ औँ शताब्दीको बिचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।
उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्त्विक वस्तु नेपाल फर्काइएको थियो । न्यूयोर्क स्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्त्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।