जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति
काठमाडौं । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।
उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरे। १५ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत रद्द भएको उनले बताए।
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी हुन्।
यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला
न्युयोर्क । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् ।
डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।
गिनिज वर्ल्ड रेकर्ड्सले जनाए अनुसार मिनेसोटाकी ६३ वर्षीय डायनाको दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।
उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलव ७ इन्च लामो छ । बुढी औँलाको नङ सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।एजेन्सी
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
तेहरान। इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।
देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिनुभयो ।
बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उहाँको भनाई छ ।
इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।
बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ ।सिन्ह्वा
डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु
ढाका। बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ ।
उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन् ।
तथ्याङ्कअनुसार स्थानीय यसवर्ष देशमा पुष्टि गरिएका डेङ्गु सङ्क्रमितको कूल सङ्ख्या दुई हजार सात सय ४७ पुगेको छ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुलाईमा नौ जनाको मृत्यु भएको छ भने जूनमा एक जनाको मात्र मृत्यु भएको थियो ।”
जून–सेप्टेम्बरसम्म अर्थात् मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । लामखुट्टेले सार्ने रोगहरूका लागि यो एक उच्च जोखिम राष्ट्र मानिन्छ । करिब १६ करोड ५० लाख जनसङ्ख्या रहेको यो देशमा विशेष गरी पर्याप्त मात्रामा जैविक सुरक्षा र रोग निगरानीको सावधानीको कमीका कारण डेङ्गुको समस्या धेरै देखिने गर्छ ।
मदिरा पिउँदा २६ जनाको मृत्यु
काठमाडौँ । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ ।
अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजरातको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।
उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।
भारतको गुजरातसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।
काठमाडौँ । छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।
पछिल्ला दिनहरूमा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ सङ्क्रमित थपिएका छन् ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।
उच्च तापक्रम वृद्धिसँगै चलेको तातो हावाका कारण स्पेन र पोर्चुगलमा मात्रै विगत केही दिनमा १ हजार ५ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
पोर्चुगलमा अत्यधिक उच्च तापक्रमका कारण १ हजार जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । यसै गरी स्पेनमा पनि अत्यधिक गर्मीकै कारण ५ सय जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
गर्मी बढेसँगै जङ्गलमा लागेको डढेलो युरोपभरि फैलिएको छ । बढ्दो गर्मीको लहरले खडेरीको अवस्थालाई झन् तीव्र बनाएको छ ।
फ्रान्स र बेलायतमा तापक्रम वृद्धि केही कम मात्रामा भए पनि ग्रीस, स्पेन र इटालीमा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन हम्मे हम्मे परिरहेको छ ।
विश्वभरका सरकारहरूले कार्वन उत्सर्जनमा ठूलो कटौती नगरेसम्म तापक्रम बढ्दै जाने विज्ञहरुले बताएका छन् ।
श्रीलङ्कामा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै
कोलम्बो । श्रीलङ्काको संसद्ले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसद्मा मतदान हुँदै छ ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व सङ्कट समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलङ्काका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।
अभूतपूर्व आर्थिक सङ्कटका कारण महिनौँ देखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उहाँ माल्दिभ्स हुँदै सिंगापुर भाग्नुभएको थियो । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उहाँ निजी भ्रमणका क्रममा त्यहाँ आउनुभएको बताएका छन् ।
आज हुने निर्वाचनमा नयाँ राष्ट्रपतिका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्नुभएको छ । एजेन्सी
श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने
कोलम्बो [श्रीलङ्का]।शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्।
रणतुङ्गाले- ‘जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसे अनुरूप अगाडि बढ्ने उनले बताएका छन् ।
शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरी बीच थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् ।
श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका चन्।
चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् ।श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा समेत निलम्बित गरिएको छ।आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।एएनआई
नयाँ दिल्ली – भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् ।
जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ ।
तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ ।
विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरूमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ ।
प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ । सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन् ।