उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार
प्योङयाङ। उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।
आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् ।
‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागर (जापानको सागर) तर्फ प्रहार गरेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ ।
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाका प्रक्षेपणसम्बन्धी गतिविधि ट्र्याक गरेको छ ।
उत्तर कोरियाको परीक्षणको जापानले पनि पुष्टि गरेको छ । जापानको तटीय गार्डले पनि उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ।
आसाममा चट्याङ लागेर १४ को मृत्यु
नयाँ दिल्ली। भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।
यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ । रासस
बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध
लन्डन । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।
बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।
तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरुलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरुले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।
महाकाली नदीमा भारत आफूखुसी तटबन्ध निर्माण गर्दै
काठमाडौं । नेपाल–भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ।
स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।
भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोलामहाकाली नदी किनार(नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै ९नेपालतर्फ० सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो।
भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ,’ सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, ‘हामीले पटकपटक विरोध गरेका छौं, तर पनि नत भारतीय पक्ष पछि हट्छ, नत नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ।’
भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए। उनले भने, ‘महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू(भागमा क्षति पुग्ने निश्चित छ।’
यो खबर आजको नागरिक दैनिकमा छ ।
कोलम्बो । कागज अभावमा श्रीलङ्काले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ ।
रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरू रद्द गरेको अधिकारीहरूले जनाएका छन् ।
सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरूले बताएका छन् । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै ठुलो आर्थिक सङ्कट सामना गरिरहेको छ ।
“प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्”, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो ।
यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् ।टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्याङ्कन प्रक्रियाको अंश हो ।
अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक सङ्कटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ । एजेन्सी
काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।
सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ। मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ मा प्रतिव्यारेल ७० डलर रहेको तेलको मूल्य अहिले झन्डै दोब्बर भएको छ। २०२० अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४१ डलर थियो भने २०१९ मा ६४ डलर । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएको हो । तीनवटा तेल उत्पादन गर्ने देशहरूमध्ये रुस एउटा मुख्य देश हो ।
काठमाडौं । भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको ९४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो । उनको उपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
भारतीय गायिका भए पनि उनले नेपाली भाषामा गाएका गीतहरु पनि चर्चित छन् । १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी मंगेशकरले नेपाली भाषामा समेत दर्जनाैँ गीतहरू रेकर्ड गरेकी थिइन्, जुन नेपालीमाझ लोक्रप्रिय छन् ।
उनले पछिल्लोपटक ‘फुल भन्छ फुली रहूँ…’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल रूपमा रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ ।
काठमाडौँ । बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् ।
यो मोबाइल किटले सार्स कोभ–२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् ।
सस्तो र सानो समेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ ।
संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उहाँहरूको भनाइ छ ।
लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भन्नुभयो, “हामी यो मोबाइल ल्याबको कोभिड–१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौँ ।”
उहाँका अनुसार, मानिसहरूले यो किटको मद्दतबाट नियमित रूपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उहाँको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने उहाँको विश्वास छ ।एजेन्सी
काठमाडौं । चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ । उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ ।
डेली मेलको रिपोर्टअनुसार चीनको यो योजनाको उद्देश्य फाइभजी सेवालाई गति दिनु रहेको छ । यी स्याटलाइट निर्माण कार्य चोङकिङ सहरमा भइरहेको छ । चीनले आफ्ना ग्रामीण इलाकामा इन्टरेनेट सेवा वितरण गर्ने बताए पनि यसबारे थप कुरा बाहिर आएको छैन ।
अहिले संसारभर फ्रिक्वेन्सीमा कब्जा जमाउने विषयमा होडबाजी चलिरहेको छ । यस विषयमा चीनले चिन्ता जनाउँदै आएको छ ।
आशंका के गरिँदै छ भने यो हाइस्पिड इन्टरनेट सेवा विस्तारमा चीन अघि बढिरहेको छ । चीनले यस्तो स्याटलाइट अमेरिकालगायतका मुलुकको जासुसी गर्नमा प्रयोग गर्नसक्ने सन्दर्भलाई लिएर यतिखेर चिन्ता बढेको छ । उसै पनि कोरोना महामारीको विषयलाई लिएर चीन र पश्चिमा मुलुकहरूबीच तनाव कायमै छ ।
मंगलग्रहमा सहर बसाउने सपना देखिरहेका स्पेसएक्स कम्पनीका मालिक एलन मस्क पूरै अन्तरिक्षलाई आफ्नो स्टारलिंक उपग्रहबाट बाँध्ने कार्यमा जुटिरहेका छन् । मस्कको कम्पनीले अहिलेसम्म दुई हजार उपग्रह अन्तरिक्षमा छाडिसकेका छन् । उनको योजना कुल ४२ हजार उपग्रहलाई अन्तरिक्षमा छाड्नु रहेको छ ।
हालै फाल्क रकेटको मद्दतमा स्पेसएक्सले ४९ स्टारलिंक उपग्रह अन्तरिक्षमा छाडेको थियो । यिनै उपग्रहको मद्दतबाट मस्क सारा संसारमा इन्टरनेट सेवा सुरु गर्ने तयारीमा छन् । यही कार्य गर्न चीन पनि अग्रसर भइरहेको देखिन्छ ।
एजेन्सी