बुर्किना फासोमा शैन्य कु
बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने ‘बाचा’ गरेको छ ।
यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायकसभा विघटन गरिएको जनाएको थियो ।
देशको सुरक्षा अवस्था बिग्रँदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको त्यहाँको सेनाले आरोप लगाएको छ ।
लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए । सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ ।
सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए ।
अमेरिका र जापानमा सुनामीको चेतावनी
काठमाडौँ । दक्षिणी प्रशान्तमा ज्वालामुखीपछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ ।
अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।
हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ ।
तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।
भारतमा ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु
नयाँ दिल्ली। भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।
भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।
ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।सिन्ह्वा
कोरोना कहर ; नयाँ दिल्लीमा निशेधाज्ञा लगाउने तयारी
नयाँ दिल्ली। कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।
उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गर्नुभयो । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उहाँले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गर्नुभयो ।
कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उहाँले बताउनुभयो ।
त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ ।
मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ ।पीटीआई
फ्रान्समा भेटियो ४६ रुप फेर्नसक्ने कोरोनाको नयाँ भेरियन्ट ‘आईएचयू’, विश्वनै चकित
काठमाडौ । कोरोना भाइरसको विभिन्न भेरियन्टको त्रास यथावत् रहेको अवस्थामा यतिबेला फ्रान्समा नयाँ भेरियन्ट फेरि भेटिएको छ।
वैज्ञानिकहरुका अनुसार फ्रान्समा ‘आईएचयू’ B.1.640.2 नामक नयाँ भेरियन्ट भेटिएको हो। यो भेरियन्टले ४६ वटा रुप फेर्नसक्ने आँकलन गरिएको छ।
हाल विश्वभर ओमिक्रोन भेरियन्टको त्रास छ। यो निकै संक्रामक भएको बताइन्छ। यस्तै डेल्टा, कप्पा, अल्फा लगायतका भेरियन्टहरु पनि यथावत् छन्।
यसबीचमा आईएचयू भेरियन्ट भेटिएपछि वैज्ञानिकहरु हैरान भएका छन्। अफ्रिकी राष्ट्र क्यामरुनबाट फर्किएका १२ व्यक्तिमा यो नयाँ भेरियन्ट भेटिएको बताइएको छ।
यो कति खतरनाक छ भनेर हाल अनुसन्धानको क्रममा छ तर यसले ४६ पटकसम्म रुप फेर्नसक्ने बताइएको छ।
मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार
सुल्तानपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।
१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियाे । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।
उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।
एजेन्सी
तेल अवीव। इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।
कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् ।
खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् ।
तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।
देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप छ हजार ५६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्ला दिनमा भन्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार सङ्क्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।एएफपी
खार्तुम। सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको छ । उहाँले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।
सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ । राजनीतिक संकट थप बढ्दै गएका बेला उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।
नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनु भएको बताइएको छ । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गर्नु भएको छ ।
देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उहाँ भन्नु भो ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’
सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उहाँले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्नेे बताउनु भएको छ । गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उहाँको विरोध हुँदै आएको थियो ।
सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको थियो ।सिन्ह्वा
संसद भवनमा आगलागी
केप टाउन । दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् ।
आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने ।
आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका छन् । आगलागीको कारण खुलेको छैन् । दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन् ।
सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ । गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो ।
एजेन्सी । बढ्दो जलवायु परिवर्तनले संसारभरका लाखौँ मानिसमा पीडा दिएको एउटा पछिल्लो अध्ययनले देखाएको छ ।
चेरिटी क्रिश्चियन एड नामक संस्थाले गरेको अध्ययनमा जलवायु परिवर्तनका कारण यो वर्ष विश्वमा भएका १० डरलाग्दा प्राकृतिक घटना र त्यसले पुर्याएको अर्बौँ डलर क्षतिबारे उल्लेख गरिएको छ । यस वर्षको अगस्टमा अमेरिकामा आएको आँधी इडा र जुलाईमा युरोपको बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको अध्ययनमा उल्लेख छ ।
केही क्षेत्रमा बाढी र आँधीले मानिसहरूलाई सामूहिक रूपमा विस्थापन गरेको छ । तर, सबै मौसमी विपद् जलवायु परिवर्तनसँग सम्बन्धित छैनन्, तथापि वैज्ञानिकहरूले विपद् र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको बताउँदै आएका छन् ।
प्रसिद्ध अनुसन्धानकर्ता डा. फेइडेरिक ओटोका अनुसार संसारमा भएका तातो हावा मानिसका कारण उत्पन्न जलवायु परिवर्तनको उपज हो । जलवायु परिवर्तनले पनि आँधी र हुरिकेनलाई प्रभाव पारेको उनको भनाई छ ।
अमेरिकामा यसै वर्ष आएको शक्तिशाली आँधीले विभिन्न राज्य र न्युयोर्क लगायतका सहरमा पहिलो पटक आपतकाल घोषणा गरिएको थियो । सो आँधीमा करिब ९५ जनाको मृत्यु भएको थियो भने ६५ अर्ब डलर क्षति भएको थियो ।