प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राप्रपाले देशभरबाट उमेदवारको नाम टुङ्गो लगायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उमेदवारको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब ७०० उदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उमेदवार केन्द्रले छनोट गरेको छ ।
विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।
समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने राप्रपाले जनाएको छ । त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिए ।
राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उमेदवारको नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच आज भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ ।
जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उमेदवारको नाम दर्ता गराउने छ । रासस
कैलाली । आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी समेत गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले धनगढीमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण समेत गरेको छ ।
मुख्य निर्वाचन अधिकृत ओमप्रकाश आर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरूले समय तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने भएका छन् । बैठकको निर्णयअनुसार १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने बताइएको छ ।
गङ्गा सत्गौवा थारूले छाडिन एमाले, दाङ क्षेत्र नं १ बाट स्वतन्त्र ल उम्मेदवारीको घोषणा
काठमाडौँ । एमाले नेतृ गङ्गा सत्गौवा थारूले टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।
फेसबुकमा एक स्ट्याटस लेख्दै थारुले दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।
उनले भनेकी छिन्, ‘आज मैले ठिक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहनेछु । जनता भगवान् हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ ।’
करिब दुई साता पहिले थारूले शान्ता चौधरीसँगको संयुक्त तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’
यसअघि थरुहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गङ्गा सत्गौवा दुई पटक समानुपातिक सांसद भएकी थिइन् ।
सुदूरपश्चिमसहित देशभर बिहानैदेखि वर्षा, मध्याह्न १२ बजेसम्म कैलाली कंचनपुरमा भारी वर्षाको चेतावनी
मौसम विश्लेषण
हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आन्शिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०७९ असोज २१ गते (शुक्रवार)
दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना रहेको छ।
राती: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदलि रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७९ असोज २२ गते (शनिवार)
दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७९ असोज २३ गते (आईतवार)
दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश का केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
बर्दगोरिया । एमाले निकट नेपाल बुद्धिजिवि परिषदको बर्दगोरिया गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । बर्दगोरिया गाउँकमिटी अध्यक्ष मधुकर सिजापती मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी सचीव डेजि पाण्डे रहनु भएको थियो ।
नेकपा एमाले बर्दगोरिया गाउँकमिटी उप सचिव मिलन ओलिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनक जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशी,नेपाल बुद्धिजीवी परिषदक जिल्ला सचिव एकेन्द्र भण्डारी ,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल बुद्धिजीवी परिषदको प्रथम भेलाले नवराज टमट्टा को अध्यक्षतामा ११ सदस्यीय चयन गरेको छ । जसको उपाध्यक्षमा हेमराज स्वार, सचीवमा बाल चन्द्र कठरिया ,कोषाध्यक्ष लक्ष्मी बिनाडी,सह सचीवमा खेम राज बोहरा रहेका छन ।
यसैगरि परिषदको सदस्यहरुमा डम्बर बुढा, मदन ढुङ्गाना, चक्रमणी सापकोटा ,सुरेश टमट्टा रहेका छन भने वडा नम्बर ४ र ६ बाट एक एक सदस्य चयन कार्यक्रममा जानकारी गराईएको छ ।
कार्यक्रमको संचालन पत्रकार लिलाजङ्ग शाहीले गरेका थिए ।
बर्दगोरिया । सातौं संविधान दिवसको अबसरमा कैलालीको बर्दगोरियामा वृक्षरोपण गरिएको छ । बर्दगोरिया गाउँपालिका, बर्दगोरिया एकता युवा कल्बको संयुक्त आयोजनामा वडा नम्बर १ कटिपुरमा वृक्षारोपण गरि यो दिवश मनाईएको हो ।
कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए । यसैगरी विशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) थिए, भने कार्यक्रममा कार्यपालिका सदस्य ,स्थानीय जनप्रतिनिधि ,पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी ,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि युवा क्लवका सदस्य लगाएतको उपस्थिति थियो । सो अबसरमा पालिका अध्यक्ष कुवरले संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ सबैको ध्यान जानु जरुरी भएको बताए ।
वडा नम्बर १ भयर बग्ने काडा नदिका कारण बर्सेनि स्थानीयको जमिन कटानमा पार्दै गएको भन्दै यसको रोकथामका लागि वृक्षारोपण गरिएको जनाईएको छ ।
१ लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाही गर्ने
काठमाडौँ । वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
स्थानीय तहको चुनावमा उम्मेदवार बनेका १ लाख १४ हजार ९ सय ५८ जना उम्मेदवारले अझैसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन्। त्यसै गरी ८ हजार ६ सय ६६ जनाले आयोगले तोकेको समयपछि निर्वाचन खर्च विवरण बुझाएका छन्। खर्च विवरण नबुझाएका र तोकिएको समयभन्दा पछाडि खर्च बुझाउने १ लाख २३ हजार ६ सय २४ जनालाई निर्वाचनसम्बन्धी कानुन तथा आचार संहिता बमोजिम कारबाही गर्ने भएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
आयोगले ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न २०७९ साउन ३१ मा निर्णय गरी भदौ १ मा सूचना जारी गरिएको थियो। स्पष्टीकरण सोधिएकोमा तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७ सय ४३ जना र कानुनले तोकेको समय व्यतीत भएपछि निर्वाचन खर्चको विवरण बुझाउने १ हजार १ सय ५१ जना गरी जम्मा १६ हजार ८ सय ९४ जना उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण पेस गरेका थिए। स्पष्टीकरणमा कानुनको जानकारी नभएको, कार्य व्यस्तताले नभ्याएको, जिल्ला बाहिर रहनुपरेको, निर्वाचन हारेपछि निर्वाचन खर्च पेस गर्नुपर्छ भन्ने थाहा नभएको, विविध कारणले पेस गर्न नसकेको, बिरामी परेको लगायतका विषय उल्लेख भएको आयोगले जनाएको छ।
‘स्पष्टीकरणको ब्यहोरा विश्वासयोग्य, चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकोले खर्चको विवरण तोकेको समयमा पेस नगरी आफ्नो सफाई सहितको स्पष्टीकरण पेस नगर्ने ९९ हजार २ सय १५ जना र कानुनले तोकेको समय व्यतीत भएपछि निर्वाचन खर्चको विवरण पेस गरेका छन्। सफाइसहितको स्पष्टीकरण पेस नगर्ने ७ हजार ५ सय १५ जना छन्। दुवै गरी जम्मा १ लाख ६ हजार ७ सय ३० जनासहित संलग्न सूची बमोजिमका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवार छन्।
आयोगले महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ७ लाख ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने भएको छ। त्यसै गरी महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ५ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही २ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने भएको छ।
नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ४ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही २ लाख रुपैयाँ जरिबाना तिराउने भएको छ। त्यसै गरी गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही ३ लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही रु १ लाख ५० हजार रुपैयाँ तिनुपर्ने भएको छ।
बर्दगोरिया ३ मा नेपाल लोकतान्त्रिक थारु संघको वडा कमिटी गठन ,अध्यक्षमा असिराम चौधरी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघको वडा कमिटी गठन गरिएको छ ।
सोमबार भएको वडा स्तरीय भेलाबाट असिराम चौधरीको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा बिष्णु देबि चौधरी र राम बहादुर चौधरी सचिवमा मन्जु चौधरी, उपसचिवमा सैन बहादुर चौधरी र अनु चौधरी लगाएत अन्य सदस्य रहेका छ्न ।
संघका बर्दगोरिया गाउँ कमिटी अध्यक्ष अटवारी चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा एमाले जिल्ला कमिटी कैलालीका सचिब डेजि पाण्डे रहेका थिए ।
सर्जक हुम गैरे पाल्पा क्षेत्र नं. १ (क) बाट प्रदेश सभाका लागि समानुपातिकमा सिफारिस
पाल्पा। हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समय कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्।
गैरेले राजनीतिमा चालेको सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्। पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट उनी समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका हुन् ।
नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय जन साँस्कृतिक माहासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेका गैरे विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।
आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेर सिफारिस गरेकोमा खुशी व्यक्त गर्दै उम्मेदवार छनौट भएर विजयी भएपनि नभए पनि निरन्तर पाल्पाको सुख र दुःखमा संगै रही जनता कै सेवामा लाग्ने उनले बताए।
करिब ६ सय गीतहरुमा शब्द संगीत भरेका गैरेले करिब १०० गीतमा आवाज दिएका छन् भने हरेक चुनावमा एमालेको पक्षमा जनमत सिर्जना गर्न गीतहरु निकाल्ने गर्दछन् ।
आयोगले गर्यो निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।
२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुनेछ र चुनाव चिह्न पनि पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।