धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले उम्मेदवारी घोषणा गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति आए तपाईंको उम्मेदवारी रोकिन्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले आफू नेपाली जनताको आत्मसम्मानको लागि राजनीति गरेको बताउँदै कुनै पनि व्यक्ति आए पनि पछि नहट्ने बताएका छन् । कांग्रेसले पनि आफूलाई उम्मेदवार बनाउनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म यहाँको मानिसहरूको आत्मसम्मानको लागि चुनाव लड्न गइरहेको छु । उपयुक्त फोरम चुनाव हो । म संगठित स्वतन्त्रको पक्षमा छैन । म सर्वदलीय उम्मेदवार बन्न चाहन्छु ।’
त्यस्तै उनले आफ्ना जित्ने आधारका आधारमा चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन् । उनले भने, ‘यहाँ कांग्रेस पार्टी निर्माण गर्ने जीवित मान्छे मै मात्रै हुँ । त्यसैले कांग्रेसभित्र मलाई विश्वास गर्नुहुन्छ । कम्युनिस्ट पार्टीका व्यक्तिहरूसँग मेरो नियमित छलफल भएको छ । उहाँहरूले पनि मलाई सहयोग गर्ने वचन दिनुभएको छ । तपाईंहरु हेर्नुस् सब मलाई भोट दिन्छन् । म ढुक्क छु, यति ढुक्क कहिल्यै थिएन ।’
चुनाव लड्न ५० लाख ऋण !
यसअघि ओझाले धनगढीमा आफ्ना निकटस्थहरूसँग कुरा गर्दै चुनावी रणनीतिका साथ तयारीमा होमिएका सुनाएका थिए । उनले चुनावी खर्चको लागि ५० लाख रुपैयाँ ऋण समेत निकालेको बताएका हुन् । उनले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको समेत समर्थकलाई बताएका छन् ।
ओझाले कांग्रेसभित्र मौलाउँदै गएको परिवारवादसहितको प्रवृत्ति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताएका छन् ।
‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने ?’, उनले भने, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिस्टमा पनि छन् । कम्युनिस्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन् । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन ।’
त्यस्तै उनले आफूलाई नेपाली काँग्रेसभित्र भिलेन बनाइएको बताएका छन् । ‘चार पटक चुनाव लड्ने इच्छा गरे । केही पटक लड्दैन भने, दबाब दिँदा पनि लड्दैन भने । अहिलेका जस्तो रहर कहिल्यै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाए । उसको नजरमा म भिलेन छु । त्यसैले त मलाई कारबाही गरेको होला ?’
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकाङ्क्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए ।
(रातोपाटीबाट साभार)