बागलुङ, ३१ जेठ २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी पुनः थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा असार ७ गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।
सोमबार बसेको सरोकारवालाहरुको बैठकले असार ७ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनाको आधारमा जैमिनीमा रहेका बैंक तथा बित्तिय संस्थाहरु आइतबार, मंगलबार, बुधबार र शुक्रबार खुल्ला हुनेछ ।
सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै असार ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।