काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ ।
बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ । गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ ।
चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ । बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ ।
पहुँच हुनेहरूले भने ग्यास विक्रेतालाई बढी पैसा बुझाएर छिटै पाउने गरे पनि निम्न आय भएका सामान्य वर्गका उपभोक्तालाई अझै एक सिलिन्डर ग्यास पाउन निकै सास्ती भोग्नुपरिरहेको अवस्था छ । हाल ग्यास लिन जाने उपभोक्तालाई विक्रेताले सिलिन्डर छोडेको एकदेखि डेढ साताभित्रमा मात्र ग्यास दिन सक्ने बताउँदै आएका छन् ।
यही अभावको मौका छोपेर केही विक्रेताहरूले आफूसँग भएका ग्यास लुकाउने र थप कृत्रिम अभावको बहाना बनाएर उपभोक्तालाई अनावश्यक दुःख दिने र बढी पैसा असुल्ने काम गरिरहेका छन् ।
ढुवानी कमिसन बढाउन माग राख्दै आन्दोलित भएका व्यवसायीले गत ५ देखि १५ चैतसम्म ग्यास ढुवानी नै रोकेका थिए । त्यसको प्रभाव अहिलेसम्म बजारमा देखिइरहेको आमउपभोक्ताको गुनासो छ ।
गत महिना आन्दोलनरत व्यवसायीले पेट्रोल–डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै समायोजन गर्नुपर्ने माग राखेर पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बन्द गरेका थिए ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले आगामी साताबाट बजारमा ग्यास आपूर्ति व्यवस्था सहज हुने बताए । सकेसम्म छिटो सहज बनाउन आपूmहरू लागिपरेको बताउँदै मल्लीले भने, ‘अबको दुई÷चार दिनमा बजारमा ग्यासको अभाव हट्नेछ ।’
व्यवसायीको आन्दोलनका कारण गत चैतमा १० दिनसम्म ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो । सोही आन्दोलनको प्रभावका कारण अहिलेसम्म ग्यासको अभाव कायमै रहेको उनले बताए ।
अहिले ग्यासको आयात बढेर आउन थालेको जानकारी गराउँदै उनले हाल पहिलेभन्दा करिब २० प्रतिशत बढी आयात भइरहेको बताए । संघका अध्यक्ष मल्लीका अनुसार हाल दैनिक १ सय २० देखि १ सय २५ वटा ग्यासको बुलेट आइरहेको छ । यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो । गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएकाले त्योबेला चाप भएको माग धान्न अझै केही समयका लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले जानकारी दिए ।