काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंक र एसियाली विकास बैंकको प्रक्षेपणसँग मिल्दोजुल्दो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले प्रक्षेपण गरेको हो ।
महामारीविरुद्ध खोप अभियान जारी रहेको र युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप परेको प्रक्षेपणमा उल्लेख छ ।
यसअघि विश्व बैंकले ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो । यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिए पनि पूरा गर्न नसक्ने देखिएको हो । यसअघि अर्थमन्त्रीले अर्थमन्त्रालयमा भएको एक पत्रकार सम्मेलन र अर्थविदसँगको छलफलको क्रममा लक्ष्य पूरा गर्न नसकिने स्वीकार गरिसकेका छन् ।
त्यस्तै गत चैत अन्तिम साता एसियाली विकास बैंक(एडीबी)ले पनि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियो ।
आइएमएफले एसियाली विकाससिल मुलुकको औसत आर्थिक वृद्धिदर ५.४ प्रतिशत र विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । पूरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ ।