आजको चार दिनपछि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ । प्रत्येक पालिकाको वडामा तोकिएका स्थानका मतदान केन्द्रमा बिहान सात बजेबाट साझ पाँच बजेसम्म मतदान प्रक्रिया चल्नेछ । सामान्यतया प्रत्येक मतदान केन्द्र सामुदायिक विद्यालय वा सामुदायिक भवन र वडा कार्यालयमा रहने व्यवस्था छ । प्रत्येक मतदान केन्द्रमा बढीमा १ हजार मतदाता सङ्ख्या भित्रै रहने गरी केन्द्र तोकिएको छ । कैलाली जिल्लाको बर्दगोरिया गाँउपालिका भित्र १० वटा स्थानमा २५ वटा मतदानकेन्द्रहरू तोकिएका छन्। जिल्लाका १३ वटै स्थानीय तहमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि मिति २०७९ वैशाख २२ गतेदेखि २४ गतेसम्म अभिमुखीकरण तालिम सम्पन्न भइ सकेको अवस्था छ भने यस पालिकामा खटिने मतदान अधिकृत सहितका कर्मचारीहरू तोकिइसकेका छन् ।
पालिकाभित्र रहेका २५ वटै मतदान केन्द्रका लागि निर्वाचन गराउन आवश्यक जनशक्ति सुरक्षाकर्मी सहित र निर्वाचन सामग्रीहरू २७ गतेभित्रै जिल्लाबाट आउदैछ।यस्तो अवस्थामा राजनीतिक दल र उम्मेदवारहरूले मतदान गर्नु अगावै र मतदान गर्ने दिन जानकारी लिई गर्नुपर्ने कुराहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।
मौन अवधिमा पालना गर्नुपर्ने कुरा ;
मतदान हुने दिन वैशाख ३० गतेको ४८ घण्टा अगाडि अर्थात वैशाख २७ गते राती १२:०० बजेदेखि मौन अवधि शुरू हुन्छ । यस अवधिमा दल तथा उम्मेदवारहरूले मतदानको काम पुरा नभएसम्म कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कोणसभा, सभा, जुलुस, नारावाजी गर्न पाइने छैन । त्यस्तै गरी यस अवधिमा कुनै पनि प्रकारको सवारी साधन प्रयोग गरी प्रचार प्रसार गर्न वा गराउन नपाउने व्यहोरा सबैलाई जानकारी गराउन सान्दर्भिक ठान्दछु । कसैले यस्तो कार्य गरेमा कानुन बमोजिम पच्चीस हजार जरिवाना हुने व्यवस्था रहेको छ ।
वैशाख २७ गते रातिदेखि निर्वाचन सम्पन्न नभएसम्म मतदान केन्द्र रहेको वरिपरि शान्ति भङ्ग गर्न नहुने र मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको हुन्छ । मतदान अधिकृतले प्रत्येक केन्द्रमा सर्वदलीय बैठक राखेर मतदान केन्द्र व्यवस्थापन र कानुनी प्रक्रियाको बारेमा जानकारी गराउनु हुन्छ । विशेष गरी मौन अवधि मतदातालाई गम्भीर भएर सोच्न दिने र कुन दल वा उम्मेदवारलाई मतदान गर्ने भन्ने स्व निर्णय गर्न दिने अवधि हो ।
निर्वाचन प्रचारप्रसारको क्रममा राजीतिक दल र स्वतन्त्र गरी धेरै उम्मेदवारहरू घर घरमा आएका हुन्छन् ती मध्ये आफूलाई मन परेको उम्मेदवारको मत चिन्हमा मतदान गर्न मौन अवधिमा सोच्न दिने समय हो । यस अवधिमा मतदाताले सोच्ने र विवेक प्रयोग गरेर आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न अठोट गर्ने समय भएकोले उम्मेदवार तथा दलको तर्फबाट प्रचार प्रसार गर्न गराउन निषेध गरिएको हो । यी कुरालाई राजनीतिक दल तथा उम्मेदवारले कडाइका साथ पालना गर्नुपर्ने हुन्छ ।
मतदान केन्द्रमा ध्यान दिनुपर्ने कुरा ;
प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक कर्मचारीहरू र सुरक्षाकर्मीहरू बैशाख २७ गतेबाट पुग्ने क्रम शुरु हुन्छ । मतदान केन्द्र निर्माण, मतदान व्यवस्थापनका लागि सम्बन्धित वडाका जनप्रतिनिधि, दल वा उम्मेदवारका प्रतिनिधिहरुबीच सर्वपक्षीय बैठक बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दल र उम्मेदवारका प्रतिनिधीहरुले आवश्यक सरसहयोग गर्ने र उपयुक्त स्थानमा मतदान केन्द्र निर्माण गर्न राय सुझाव दिने कार्य गर्नुपर्दछ ।
मतदान हुने दिन राजनीतिक दलको तर्फबाट प्रत्येक मतदान केन्द्रमा रहने प्रतिनिधि अघिल्लो दिनमा नै तोकी मतदान अधिकृतलाई लिखित जानकारी गराउने र मतदान सहज, निष्पक्ष र भयरहित बनाउन सहयोग गर्नुपर्दछ । मतदान हुने दिन विहान सातबजेबाट मतदान कार्य शुरु हुने हुँदा उम्मेदवार वा प्रतिनिधिहरूले तोकिएका मुचुल्कामा रही छाप गरिदिने र मतदान गर्न आउने मतदातालाई सहजीकरण गरिदिने कार्यमा ध्यान दिनुपर्दछ । मतदानको दिन शान्तपूर्ण वातावरण सिर्जना गर्न र मतदाता नामावलीमा नाम भएका वास्तविक मतदातालाई निष्पक्ष रूपमा मतदानको अधिकार प्रदान गर्न राजनीतिक दल र प्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।
विशेष गरी स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला र खुला सदस्य दुई गरी सात पदमा मतदान गर्नुपर्ने भएकोले मतदातालाई २७ गते अगावै मतदान गर्ने प्रक्रियाको बारेमा जानकारी गराउने दायित्व दल र उम्मेदवारका प्रतिनिधिहरुको रहन्छ। हाम्रो सन्दर्भमा मतदाता शिक्षा ज्यादै कमजोर रहेको अवस्था छ । मत कसरी दिने, कसरी सदर हुन्छ र कसरी बदर हुन्छ भनी मतदातालाई सचेत गराउनु भन्दा गीत बजाएर जुलुस र सभा गर्न बढी ध्यान दिएको देखिन्छ । कुनै पनि मतदाताले दिने मत बदर नहोस भनी ध्यान दिनु राजनीतिक दल, उम्मेदवार र प्रतिनिधि सबैको कर्तव्य हुन्छ । मतदानको दिन मतदान केन्द्रमा तोकिएको समय बेलुका पाँच बजेसम्म मतदान केन्द्रको घेराभित्र आएका व्यक्तिलाई मतदान गर्न दिई मतपेटिका बन्द गरी गराइ निर्वाचन अधिकृतको कार्यालयले तोकिएको स्थानमा मतपेटिका बुझाउनुपर्ने हुन्छ ।
मतगणनामा ध्यान दिनुपर्ने कुरा ;
बर्दगोरियाका सबै मतदान केन्द्रबाट मतदान समाप्त भइसकेपछि मतपेटिकाहरू मतगणना स्थल श्री बसन्तमुरारी मावि बौनियामा जम्मा गरिनेछ । सबै मतपेटिका जम्मा गरिसकेपछि राजनीतिक दल र उम्मेदवारहरूको सर्वदलीय बैठक बसी मतगणना गर्दा अपनाइने आधारहरु बारे छलफल गरी मतगणनाको कार्य प्रारम्भ गरिनेछ । मतगणना स्थलमा प्रत्येक राजनीतिक दलको तर्फबाट एक/एक जना मतगणना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।
गत स्थानीय निर्वाचनमा पनि बसन्त मुरारी माविमा नै मतगणना स्थल तोकिएको थियो । मतगणना स्थलमा यस वर्ष सिसिटिभी सहितको सुरक्षा व्यवस्थालाई ध्यान दिइएको छ । एउटा वडाबाट मतगणना शुरु गरी क्रमश अन्य वडाहरूको मतगणना गरिनेछ । मतगणनाको कार्यमा सहजीकरण गरी कानुनले तोकेबमोजिम सहयोग गर्न गराउन सबै राजनीतिक दल र उम्मेदवारको महत्वपूर्ण भूमिका रहन्छ । मतगणना गर्दा देहाय बमोजिम मत बदर गरिनेछ ।
– सम्बन्धित मतदान अधिकृतको सहि नभएको वा दस्तखत नभएको ।
– मतपत्रमा औठाछाप लगाएको वा आयोगले तोके बमोजिम स्वस्तिक चिन्ह बाहेक अन्य छाप लगाएको वा सङ्केत गरेको ।
– मतपत्रमा मत सङ्केत गर्दा स्वस्तिक चिन्ह लतपतिने गरी लगाएको वा च्यातिएको ।
– उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरेको ।
– निर्वाचित हुने पद भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत गरेको ।
– उम्मेदवार नभएको वा नरहेको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरेको साथै एक भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केत गरिएको ।
– कुनैपनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको ।
– उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर वा मतपत्रकव अन्य कुनै भागमा मत सङ्केत गरेको ।
अन्तमा,
स्वच्छ र भयरहित निर्वाचनका लागि निर्वाचनमा भाग लिने सबै दल र उम्मेदवारले निर्वाचन आचार संहिता पालना गर्नुपर्ने हुन्छ । बर्दगोरियाका सबै राजनीतिक दल र उम्मेदवार आफैले निर्वाचन आचार संहिताको परिपालना गर्न गराउन गरेको प्रतिवद्धतालाई व्यवहारमा उतार्न जरुरी छ । र्कैलाली जिल्लाको मतपत्रमा एकातिर २० र अर्कोतिर २० गरी ४० लहर रहेका छन् ।
निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरु तथा तीनका प्रतिनिधिले मतदातालाई जति राम्रोसित मतदाता शिक्षा प्रदान गर्न सके त्यसैका आधारमा सदर मत बढी हुन जान्छ । मौन अवधि शुरु हुन अझैपनि दुईदिन बाँकी नै छ यस अवधिमा मतदातालाई मतदान गर्ने प्रक्रियाको बारेमा जानकारी दिन सकेमा निर्वाचनमा सही मतदान हुने कुरामा विश्वास लिन सकिन्छ । आफ्नो स्थानीय टोल, वडा र पालिकाका मतदातालाई यसबारेमा स्वच्छ रुपमा सचेत गराई मर्यादित र भयरहित निर्वाचन गर्ने कार्यमा सहयोग गरी नागरिकले आफ्नो प्रतिनिधि आफै छनौट गर्न उपयुक्त वातावरण तयार गर्न सबै दल तथा उम्मेदवारलाई शुभकामना ।
बद्रीबहादुर पाठक
निर्वाचन अधिकृत बर्दगोरिया (कैलाली)