चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ९३ वर्षीय डम्बर पाण्डेय १० वर्षअघि बझाङको थलाराबाट महेन्द्रनगर आए । उनलाई बझाङमा हुँदा महिनौसम्म राति अबेरसम्म भुवो खेलेको सम्झना ताजै छ । तर, बझाङबाट महेन्द्रनगर आएपछि भने उनले न भुवो खेल्न पाए न देख्न नै ।
“पहिलेको भुवो धेरै रमाइलो हुन्थ्यो गाउँघरमा घर–घर गएर खेल्थ्यौँ,” उनले विगत सम्झिँदै भने, “हामी भुवोमात्रै होइन, त्यसपछि भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो ।”
उनले पछिल्लो समय खेलिने भुवो पर्वमा पहिलेको जस्तो मौलिकता नभएको बताए ।
अहिले भुवो खेल्ने मान्छेले पनि त्यति रमाइलो गर्न सकेका छैनन् । भुवो खेल्ने मान्छे पाउनै गाह्रो छ,” उनले भने, “अहिले केही युवाहरूले भुवोपर्व बचाउनुपर्छ भनेर एक दिनको कार्यक्रम राख्न थालेका छन् ।”
उनले पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवो पर्व खेल्ने प्रचलन रहेको बताए । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती छ ।
खासगरी यो पर्व सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरा र कर्णाली प्रदेशको केही भागमा मनाउने गरिन्छ । नेपाल एकीकरणका क्रममा बाइसे–चौबीसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक रामराज्यको गाथा समेटिएको भुवो पर्व सुदूर पहाडमा अझै पनि महत्वका साथ मनाउने गरिन्छ ।
भुवो पर्वको धार्मिक महत्वमात्रै नभई यसको सामाजिक, सांस्कृतिक महत्वसमेत रहेको लक्षिधन अधिकारी बताउँछन् ।
“यसमा सबै जातजातिबाट सहभागिता रहन्छ, समाजको एकता एवं आपसी सद्भावसमेत यो पर्वले झल्काउँछ,” उनले भने, “भुवो नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ ।”
उनले यो पर्वमा लोकभाकामा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको बताए । भुवोपर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । पछिल्लो समय भने यो पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ताले चिन्ता व्यक्त गरेका छन् ।
“हामीले परम्पराअनुसार पर्व मनाउन सकेका छैनौँ, एक दिनको मात्रै औपचारिक कार्यक्रममा सकिन्छ,” स्थानीय वीरबहादुर अधिकारीले भने, “भुवो त गाउँमा सबैको घर–घरमा गएर खेल्ने र आशिर्वाद साटासाट गर्ने पर्व हो ।”
उनले बढ्दो प्रविधिको प्रयोग र युवापुस्ताको अरुचिका कारण यो पर्वको मौलिकता हराउन लागेको बताए ।
स्थानीय सञ्जय अधिकारीले भने युवाहरू पढाइ र रोजगारीको सिलसिलामा अन्यत्र रहेकाले युवापुस्ताको सहभागिता हुन नसकेको बताए ।
“युवाहरू रोजगारीका लागि देश–विदेशमा छन्, यहाँ भएकाहरू पनि कोही पढाइमा छन्, कोही व्यवसायमा लागेका छन्,” उनले भने, “हाम्रो संस्कृतिप्रति युवाको चासो भए पनि विभिन्न कारणले मौलिकता हराउन लागेको छ ।”
उनले भुवोपर्वका अवसरमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशभरि बिदा दिनुपर्ने बताए । प्रदेश सरकारले बझाङ, अछाम र बाजुरा जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको छ ।
“भुवो पर्व शुक्रबार हो । सरकारले बिदा नदिएका कारण हामीले शनिबार बिदाका दिन यो पर्व मनाएका छौँ,” अधिकारीले भने, “यो पर्व जोगाउनका लागि पनि सरकारले सार्वजनिक विदा दिन जरुरी छ ।” रासस