बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर दुई स्थित दोधरा – कुम्भिया हुँदै प्रसिद्ध धार्मिक स्थल बर्दगोरिया धाम जोड्ने (रिङ्गरोड) सडकको अनुगमन गरिएको छ ।
निर्माणाधीन कालोपत्रे रिङ्गरोड सडकको सोमबार बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीसहितको टोलिले अनुगमन गरेको हो । अनुगमनका क्रममा के कसरी काम भैरहेको छ ? यसको गुणस्तरीयता र मापदण्डका बारेमा जानकारी लगिएको थियो ।
१ करोड ४५ लाखको लागतमा दोधरादेखि कुम्भिया गाउँसम्मको २३ सय मिटर सडकमा यतिबेला कालोपत्रेको काम शुरु भएको हो । सो सडकमा कालोपत्रेको काम चालू आर्थिक वर्षभित्र सक्ने गरि काम भैरहेको ठेकेदार कम्पनी मालिका जेभि पहलमानपुरले जनाएको छ । वर्षौपछि सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासी खुशी भएका छ्न ।
यतिमात्र नभई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिने वडा नम्बर २ कुम्भीयामा रहेको बरदगोरिया क्षेत्रको विकासका निम्ति सडक कालोपत्रे अनिवार्य भएको पालिका उपाध्यक्ष गिरिले बताए । विशेषगरी प्रसिद्ध बर्दगोरिया धामको प्रचार–प्रसार गर्न, आन्तरिक तथा बाह्य पर्टकको सहजताका लागि सडक कालोपत्रे जतिसक्दो छिटो सक्नुपर्ने बताए ।
अनुगमनका क्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बर्दगोरिया धाम सुदुरपश्चिमकै एक उत्कृष्ट पर्यटकिय र धार्मिक तथा सास्कृतिक स्थल भएकाले यसको विकासमा टेवा पुर्याउन बर्दगोरिया धाम जोड्ने रिङ्गरोड कालोपत्रे पहिलो प्राथमिकता भएकाले बताए । सडक कालोपत्रे बनेपछि बर्दगोरिया धामको मात्रै नभैइ, बर्षौदेखि धुलाम्य र हिलाम्य सडकमा हिड्दै आएका कुम्भीयाबासीका निम्ति निकै सहजता हुने उनले बताए ।
बर्दगोरिया धाम क्षेत्र जोड्नका लागि यातायातको सहज पुहुच पुगाउन, भक्तालुजन तथा पर्यकटहरुलाई आवातजावतमा सहजता ल्याउन यसले सहयोग पुर्याउने उनले बताए ।
माथिल्लो पट्टि बिशाल चुरे श्रृंखला, तल समथर तराई र बिच भागमा टापु–टापु क्षेत्रमा अवस्थित बर्दगोरिया धाम क्षेत्र पर्यटकहरुको लागि अति नै उपयोगी र धार्मिक तथा सास्कृतिक हिसाबले निकै महत्त्वपूर्ण र एतिहासिक मानिन्छ ।