धनगढी । कैलालीमा मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन हुने भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलनको काम हुनेछ ।
कैलालीका १३ स्थानीय तहमध्ये १० वटामा मतदाता नामावली संकलन सम्बन्धि अभियान सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो ।
उहाँकाअनुसार पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटा गरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलने निर्वाचन कार्यालयले जनाएको छ।
पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ। यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा नामावली संकलन हुनेछ।
बाँकी तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम हुने कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ ।
२०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । स्थानीय तह निर्वाचन ऐनअनुसार पदावधि सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐनको प्रावधान मान्दा चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुन्छ । निर्वाचन मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था छ ।
नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको समेत मतदाता नामावलीको विवरण संकलन गरिने आयोगले जनाएको छ ।