जुम्ला। तिला गाउँपालिका ६ रिपी गाउँकी १७ वर्षकी रंगिला रावतले पुनर्जन्म पाउनु भएको छ । । सात महिनाको गर्भावस्थामा अत्यधिक रक्तश्राव भएर मुटुको चालनै बन्द भएपछि परिवारले आशा मारिसकेकी रावतले पुनर्जन्म पाउनु भएको हो ।
माघ १२ गते बिहान एक्कासि थोरै रगत बगेपछि रंगिलाले वास्ता गरिनन् । बिस्तारै रगत बग्ने क्रम बढ्दै गएपछि परिवार आत्तिएर अस्पताल ल्याउन स्टेचरमा बोकेर रिपिबाट रारा तिर लागे । झण्डै ५ देखि ६ घण्टा लगाएर कर्णाली राजमार्गमा पुराए ।
रगतले स्टेचरमा ओछ्याएको कम्बल मात्र हैन,बिरामी बोक्ने आफन्त पनि रगतमै लतपतिएका थिए । बिहानै देखि रगत बग्न सुरु भए पनि भौगोलिक विकटता र यातायात पहुँच नभएका कारण रिपिदेखि रारालिहि र रारा लिहि देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदा ल्याउँदै करिब साँझ सवा ५ बज्यो ।
तर रगत बग्ने क्रम भने घटेको थिएन् अझ धेरै पानीको धारा जस्तै रगत बगीरहेको थियो । भने रंगिलालाई अस्पताल नपुराइँदै उनको साल निस्केको र बच्चा आधी बाहिर आइसकेको थियो । स्त्री रोग विशेषज्ञ तथा प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाह सहितको चिकित्सकको टोलीले रंगिलाको रक्तश्राव रोक्ने प्रयास गर्दा गर्दै बहोस् भइन् ।
डाक्टर शाह भन्छन्,“धारा जस्तै बगीरहेको रगत रोक्न पाइप लगाउँदा लगाउँदै एक्कासि मुटुको चालनै बन्द भयो । मुटुको धड्कन रोकिए पनि हामी रत्तिभर आत्तिएनौ । तर परिवारले आश मारिसकेका थिए । उपचारमै खटिएका नर्स, डाक्टरहरुले (ए) पोजेटिभ रगत दिनुभयो । भने,तत्कालै छात्ती थिचेर कृत्रिम साहस दिने विधि (सिपिआर) तीन चरण सम्म गरेपछि साहस फिर्ता भयो । रंगिलाले पुनर्जन्म पाइन् ।”
उहाँको धड्धन चलेपनि रक्तश्राव नरोकिएपछि (कण्डम टयाम्पोनेट) दिइयो । भने, विभिन्न औषधी प्रयोग गर्नुका साथै भेन्टीलेटरमै पुगेकी रंगिलालाई प्रतिष्ठानका डा.सुरेश चौधरी,डा.प्रविण गिरी,डा.कृष्ण हमाल,डा.पवन बुढाथोकी,नर्स मुगा केसी,डा. टिविन सिवाकोटी,नर्स रेणुसिंह ठकुरी र डा. सागर बुढ्थापा लगायतका चिकित्सकले १० पोका रगत तत्काल दिएपछि रंगिलाले पुनर्जन्म पाएको उपचारमा खटिएका डाक्टर राजिव शाहले जानकारी दिनुभयो ।
डाक्टर शाहका अनुसार सात महिनाको गर्भावस्थामै एक्कासि बच्चाको टाउको मुनि साल बसेका कारण रक्तश्राव भएको हो । डाक्टर शाहले भन्नुभयो,“रक्तश्राव भएर मुटुको चालनै बन्द हुनु जटिल कुरा हो । यद्यपि,अहिले प्रतिष्ठान र विषशज्ञ डाक्टर जुम्लामै नभएको भए रंगिलाले अकालमै ज्यान गुमाउने निश्चित थियो ।
तर उहाँको उपचार सफल भयो । उनी जस्ता सयौँ महिलाका जटिल समस्याको उपचार गर्न प्रतिष्ठान तयार छ ।”१ दिन भेन्टिलेटर र १ दिन आइसियुमा राखेर उपचार गरे पश्चात् हाल रंगिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सोमबार घर पठाउने तयारी छ । यस अघिपनि यस्तै जटिल बिरामी भएकी तातोपानी ७ की १८ वर्षिया लक्ष्मी रावत र जुम्लाकै सुपत्रा हमालले प्रतिष्ठानबाट पनि पुनर्जन्म पाएकी थिइन् ।
पुनर्जन्म पाउने आशौ थिएन्
धाराको पानी जस्तै बगेको रगत हेर्दा र मुटुको चालनै बन्द भएपछि त हामीले बाच्ने आशानै मारिसकेका थियौ । रंगिलाका श्रीमान् गोविन्द रावतले भन्नुभयो,“रगत दिने मान्छे कोही थिएनन्,तर डाक्टरहरू आफै रगत दिएछन् । म आफै बहोस् थिए । श्रीमतीले पुनर्जन्म पाएको खबर सुनेपछि बल्ल होस आयो । हाम्रा लागि डाक्टर भगवान् बनेर आउनुभयो ।”
गाउँमा सडक पुगेपनि तिला नदीमा पुल नभएकोले रिपिबाट ल्याउनै ५ देखि ६ घण्टा लाग्यो । थोरै मात्र ढिला गरेको भए आज श्रीमती गुमाउने रहेछु । यातायातको पहुँच नहुँदा भविष्यमा धेरैले ज्यान गुमाउनु पर्ने स्थिति छ । स्थानीय सरकारले चाडै पुल बनाउनु पर्ने गोविन्द माग छ ।
बुहारी मरी भनेर रुने बाहेक अरू विकल्पनै थिएन् । रंगिलाकी सासु देवलक्ष्मी रावतले भन्नुभयो,“नत पैसा थियो,नत रगत दिने मान्छे । डाक्टरहरुले रगत दिएर अन्य औषधी उपचार गरी बुहारी बचाए ।