काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउवा अघि बढेका हुन् । सोही रणनीतिअनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलसँगका हरेजसो बैठकमा आफ्नो ‘मुभ’ देखाउँदै आइरहेका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारबिना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिएका थिए । प्रचण्ड र नेपालसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा शुक्रबार छुट्टाछुट्टै वार्ता गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी प्रस्तावमाथि संसद्मा छलफल हुँदै गर्दा आफ्ना सांसदहरू बैठक बहिष्कार गरेर निस्कने र एमसीसी पास गर्न सरकारलाई त्यसले सहयोग पुग्ने प्रधानमन्त्रीसँग भनेका थिए ।
तर, प्रधानमन्त्री देउवा भने एमसीसीलाई अनुमोदन गर्न माओवादी केन्द्र र नेकपा एसको सहयोग नभए विकल्पमा जाने भन्दै विश्वस्त आधारबिना गठबन्धन जोगाउन नसकिने जवाफ दुवै दलका अध्यक्षलाई दिएका हुन् ।
दिनभरजसो सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा छलफलबाट एमसीसी पास गर्ने विश्वस्त आधार गठबन्धनमा नदेखिएको निष्कर्षसहित प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षसँगको संवादका लागि बालकोट पुगेका हुन् ।
कांग्रेस नेताहरूले गठबन्धनका नेताहरूसँगको वार्तापछि देउवा बालकोट जानुले गठबन्धनमा मध्यमार्गी बाटो खोज्ने प्रयास सफल नभएको बताउँदै आएका छन् । पछिल्लो समय देउवाले एमालेसँग निरन्तर संवाद गरिरहेका छन् ।
शुक्रबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी’bout पार्टीको पूर्ववत धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार गठबन्धन पनि जोगाउने र एमसीसीलाई पनि पास गर्नेगरी गठबन्धन लागेको बताइएको थियो ।
ओलीसँगको भेटमा भने देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए । एमालेका तर्फबाट भने महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।
यसअघि बिहीबार दिउँसो संसद् भवनामा देउवा र ओलीबीच छलफल भएको थियो । त्यसपछि बिहीबार साँझ नै बालुवाटारमा ओली र देउवाबीच छलफल भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।