सुर्खेत । हावाहुरीका कारण सुर्खेतको चौकुने गाउँपालिकामा ठूलो क्षति पुगेको छ । बिहिवार साझ आएको हावाहुरीका कारण चौकुने गाउँपालिकाको वडा नम्बर २ मा ५० बढी स्थानीयको घरमा क्षति पुगेको हो ।तीब्र गतिमा चलेको हावाहुरीले वडा नम्बर २ को धमुमा मात्रै ३० जना बढी स्थानीयको घरमा क्षति पुगेको छ भने वडा नम्बर २ कै बोला गाउँमा समेत केही स्थानीयको घरको छाना उडाएको छ ।
धमुमा स्थानीय पृथ्वी शाहीले दिएको जानकारी अनुसार यहाँका स्थानीयको घरको छाना र गोठ हावाहुरीले उडाएको छ । घरको छाना हुरीले उडाएपछि स्थानीय समस्यामा परेका छ्न । यहाँ अधिकाङ्स स्थानीयका कच्ची घर छ्न । जसमा टीन र खरले छाना छाएको हुँदा बिहिवार साझ चलेको तीब्र हावाहुरीका कारण क्षति पुग्न गएको हो ।
हावाहुरीले घरको छाना सबै उडाए पछि स्थानीय घरमा कसरी बस्ने भन्ने चिन्तामा परेका छ्न । यदी पानी परेका खण्डमा भने झन समस्या सृजना हुने स्थानीयले बताए । उनीहरूले स्थानीय सरकार संग सहयोगको अपेक्षा गरेका छ्न ।
बर्दगोरिया । पछिल्लो केही दिनदेखि चर्को गर्मी अत्यधिक बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाले एकहप्ता विद्यालयमा बिदा दिएको छ । पालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बिहिवार सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाभित्र रहेका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन ।
गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको जनाइएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज गर्नसमेत समस्या हुने गरेको छ।
तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने पुर्वानुमान
काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ ।
तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।
यसैबीच, आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो ।
मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ ।
विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो ।
२४ खर्ब हाराहारीको सार्वजनिक ऋणमा डुब्यो देश !
काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रुपैयाँ ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।
“चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड थप प्राप्त भई कुल ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ,” सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ ।”
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कुल दुई खर्ब ६४ अर्ब ६३ करोडबराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँबराबर साँवाब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर हो ।
यस्तै, साँवाब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँ बराबर भुक्तानी भएको छ ।
गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशतबराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा दुई खर्ब ६५ अर्ब रुपैयाँ ऋण प्राप्ति भएको छ ।
कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत रहेको छ ।”
चालु आर्थिक वर्षका निम्ति सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रुपैयाँबराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब रुपैयाँबराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७०.५७ प्रतिशत बराबर हो । रासस
बर्दगोरिया ३ मा विपन्न वर्गको आयआर्जनको लागि बङ्गुरका पाठापाठी वितरण (तस्बिरमा )
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो।शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए ।पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो क्रममा पालिका अध्यक्ष कुवरले समाजमा रहेका विपन्न वर्गको जिवनस्त्तर माथि उकास्न र व्यवसायीक बन्न सहयोग पुर्याउने उदेश्यले पाठापाठी वितरण गरिएको बताए।
विपन्न वर्गको आर्थिक सशक्तीकरणलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष कुवरले भने, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय भएको हुँदा यसको सही सदुपयोग गर्न आग्रह गरे ।
पालिका अध्यक्ष कुवरले भने – हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला। केही दिन पालेर काटेर खाने होइन”, उनले भने, “हामी निरन्तर अनुगमनमा आउने छौँ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
बर्दगोरियामा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु,एघार माध्यमिक विद्यालयमा संचालन हुने
बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वन वातावरण तथा विपत व्यवस्थापन शाखाको आयोजना र समृद्ध नेपाल ट्रेनिङ्ग सेन्टर प्रालिको सहजीकरणमा पालिकाभित्रका माध्यमिक विद्यालयहरुमा यो कार्यक्रम सुरु भएको हो ।पछिल्लो समय समाजमा युवापुस्ताहरु लागू पदार्थको लतमा फस्नेक्रम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरण गर्ने उदेश्यले विद्यार्थीहरुलाई सचेतना जगाउन कार्यक्रम संचालन गरिएको हो । सोही क्रममा मंगलबार वडा नम्बर ४ मा रहेको श्री मावि कोटातुल्सीपुर र कालिका माध्यमिक विद्यालयमा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी बेस क्याम्प बौनियाका प्रमुख डिएसपी सत्ययम पुरीले प्रशिक्षण दिएका थिए । सो क्रममा उनले लागु औषध ,लागू पर्दाथ भनेको के हो ? यसको लतबाट कसरी बच्ने ? यसको सेवन तथा ओसारपसारले पार्ने असर र कानुनि कारबाहीका बारेमा जानकारी दिएका थिए ।
प्रशिक्षणका क्रममा उनले जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन र संलग्न हुनपुगेको स्थितिका बारेमा समेत चर्चा गरे । पछिल्लो समय राष्ट्र निर्माणको शक्ति युवापुस्ता नै यस्ता दुव्यर्सनको सिकार बन्नु राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको बताए ।उनले जीवनसँग हरेस खाएर, साथिको गलत संगतको कारण तथा मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागूपदार्थको लतमा लाग्ने युवाहरूको सङ्ख्या बढ्दै गएको भन्दै सबै सचेत हुनुपर्ने बेला आएको बताए । उनले यसको दुर्व्यसनीले व्यक्तिको शारीरिक ,मानसिक ,शैक्षिक तथा सामाजिक हिसाबमा समेत नकारात्मक असरपर्ने भएको हुदा लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट आफै जोगिन सक्नुपर्ने बताए ।
उनले कतिपय बालबालिका विद्यार्थीहरु साथी सङ्गिको लहलहैमा लागेर पनि दुर्व्यसनीको बाटोमा लाग्ने गरेको हुँदा यो कुरामा समेत गम्भीरतापर्ूवक सोच्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तथा वन वातावरण विकास समिति संयोहक जगत बहादुर शाहीले आजका विद्यार्थी तथा युवापिढी भोलिका कर्णधार भएको भन्दै लागू पदार्थ दुर्व्यसनी सेवन जस्तो गलत दिशामा लाग्न नहुने भन्दै सचेत रहन सुझाव दिए । उनले गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँने हुदा यस्तो खराव कार्यमा लाग्न नहुने भन्दै यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने बताए ।
वडा अध्यक्ष शाहीले समाज रुपान्तरणको अभियानमा युवापुस्ता र विद्यार्थीको निकै महत्त्वपूर्ण भुमिका आवश्यक रहेको हुदा लागू पदार्थ दुर्व्यशनी जस्ता नकारात्मक प्रवृत्ति न्यूनीकरणमा जुट्नुपर्ने बताए । कार्यक्रममा दुबै विद्यालयका कक्षा ९ र १० मा अध्यन गर्ने ३ सय विद्यार्थी सहभागी थिए ।
नागरिकता कीर्ते प्रकरण ;कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८,काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुुर्जी जारी गरेको छ । नागरिकता कीर्ते मुद्दामा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो ।प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेस सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कुनै पनि विषयमा कसैलाई पनि छानबिन गर्न सकिने तर रिसिईबी साँध्ने काम गर्न नहुने बताएका थिए ।
स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी भएको जनाउँदै पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरेको छ । बाह्रखरीको सहयोगमा