काठमाडौँ,७ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
कैलालीमा पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा
काठमाडौँ, जेठ ७ गते । कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।
यस कार्यमा संलग्न रहेको अभियोगमा आयोगले आइतबार दुवै कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार साबिकको नारायणपुर गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत रहेको कित्ता नं. ९०८ को उक्त जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भए पनि २०६८ सालमा कित्ताकाट गरी व्यक्ति विशेषका नाममा सारिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । उक्त जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलको नाममा सारिएको आयोगले जनाएको छ । मालपोत कार्यालय टीकापुर कैलालीको आर्थिक वर्ष २०८०/८१ को न्यूनतम मूल्याङ्कन अनुसार उक्त जग्गाको मूल्य २४ करोड ६ लाख ६९ हजार रुपियाँ रहेको आयोगले जनाएको छ । उहाँहरू चारै जनालाई २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।यस कार्यमा संलग्न रहेको आरोपमा आयोगले मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उहाँहरूलाई जनही २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ । उक्त जग्गा आफ्नो नाममा नामसारी गराउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उहाँहरूविरुद्ध पनि जनही २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छन् ।
संसद् सचिवालयका अनुसार संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन तातो हावा चल्ने जनाएको छ । आजदेखि आइतबारसम्म तापक्रम बढ्ने र तातो हावा चल्ने विभागको भनाइ छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागको भनाइ छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दामाथि मापन गरिएको विभागले जनाएको छ ।“कम्तीमा आजदेखि तीन दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन हामीले आग्रह गरेका छौँ,” मौसमविद् शान्ती कँडेल बाह्रखरीसँग भन्छिन्, “त्यसैले तराईका भू–भागहरूमा आजदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”
हिजो भैरहवामा अधिकतम ४१.४, नेपालगन्जमा ४०.५, धनगढीमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । “विशेषगरी सुदूरपश्चिम र लुम्बिनीका तराईका भू–भागमा गर्मी धेरै बढ्नेछ । यी स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि नै तापक्रम रहनेछ,” मौसमविद् कँडेल भन्छिन्, “अन्य प्रदेशका तराईका क्षेत्रमा पनि ४० डिग्री सेल्सियसकै हाराहारीमा तापक्रम रहन्छ ।”
पश्चिमी वायु सक्रिय नहुनु र जलवास्पयुक्त वायु विकास गर्ने अन्य कुनै प्रणाली नरहेकाले गर्मी बढेको हाे । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले कताएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन विभागको आग्रह छ । नियमित पानी तथा झोल पदार्थ प्रशस्त पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको आग्रह छ ।
यसैबीच, आज बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार दिउँसो कोसी, मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।
एमालेले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वास मत दिने, तर सरकारमा नजाने
धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रदेश सभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णयसमेत भएको छ ।
मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिंदैछन् । त्यसको लागि बिहान सवा १० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आजको मौसम ;यी भू–भागमा हुनेछ आज हावाहुरीसहित वर्षा
काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बबई नदिमा डुबेर दाजुभाईको मृत्यु
तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । रासस
शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताए ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।
यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ । सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।