पछिल्लो समय जिल्लाका विभिन्न स्थान संगै पालिकामा समेत यो रोगसंग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । पालिकाको पशु सेवा शाखाले आज एक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
यो संगै शाखाले बिरामी परेका वा मरेका बङ्गुरको मासु विक्री वितरण नगर्न र नगराउन आग्रह गरेको छ । पालिकाको वडा नम्बर ६ मा समेत यो रोग संग मिल्दोजुल्दो लक्षण स्थानीय किसानले पालन गरेको बंगुरमा देखा परेको वडा नम्बर ६ को पशु सेवा इकाईका नायव पशु सेवा प्राविधिक युवराज कठरियाले बताए । यता वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले यो रोगको जोखिम बढेसङ्गै सावधानी अपनाउन वडाबासीमा आग्रह गरेका छ्न ।
बङ्गुर र बँदेलमामात्रै लाग्ने यो रोग ती जनावरका लागि निकै खतरनाक रहेको मानिन्छ । यो रोग लागेमा बङ्गुरको मृत्युदर शतप्रतिशत हुने र यसको मासु खादा मानिसमा समेत खतरा हुने गरेको पालिकाको पशु स्वास्थ्य सेवा शाखाका प्रमुख जय प्रसाद कोइराला बताउछ्न ।उनका अनुसार यो रोगको अहिलेसम्म कुनै पनि उपचार छैन। रोग रोकथाम गर्न सकिन्छ। तर, रोग लागिसकेपछि धेरै बङ्गुर मर्छन्।
रोग सङ्क्रमण भएका फर्मका अरू सबै बङ्गुर मारेर कम्तीमा तीन फिट जमिनमुनि गाड्नु पर्ने हुन्छ। सम्पर्क, र्याल, खोकी, श्वासप्रश्वास, खाना लगायतका माध्यमबाट एक बङ्गुरबाट अर्को बङ्गुरमा सर्ने यो रोग लागेमा बङ्गुर पालक किसानलाई ठूलो आर्थिक नोक्सान हुने गरेको छ ।
बंगुरमा अफ्रिकन स्वाइन फिभर लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, धर्मराउने, गर्भ तुहिने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ। यो रोग लागेमा एकै पटक धेरै बङ्गुर मर्ने गरेको बताइएको छ। रोग लागेका बङ्गुरको दुई दिनभित्रै बङ्गुरको मृत्यु हुने गर्दछ ।
अफ्रिकन स्वाइन फिभर रोकथामका लागि रोग देखा परेको फर्मको सबै बङ्गुर मारेर निसङ्क्रमण गर्नु पर्ने, मरेका बङ्गुरको मासु बिक्री र ढुवानी तुरुन्त रोक्नु पर्ने, क्वारेनटाइनमा कडाइ गर्नु पर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला ,पशु सेवा बिज्ञ केन्द्र कैलालीले जनाएको छ ।
केही महिना अगाडिमात्रै कैलालीका बंगुरमा क्लासिकल स्वाइन फिभर देखिएको थियो। त्यो रोग अझै केही पालिकाका बंगुरमा छँदै छ। बंगुरमा लाग्ने अर्को खतरनाक रोग आएपछि व्यावसायिक बङ्गुर पालक किसानदेखि लिएर सरोकारवाला चिन्तित भएका छन्। उनीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६९६ वटा बङ्गुर रहेका छन्। जसमध्ये, कैलालीमा सबैभन्दा बढी २४ हजार र कञ्चनपुरमा १४ हजार बङ्गुर रहेको प्रयोगशालाले जानकारी दिएको छ।
अफ्रिकन स्वाइन फिभरबाट बङ्गुरलाई जोगाउनका लागि अब जैविक सुरक्षाबाहेक अरू उपाय नरहेको प्रयोगशालाले जनाएको छ ।