बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । स्थानीयस्तरमै नागरिकलाई अस्पतालको सेवा प्राप्तिमा सहज होस् भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिएको हो ।
स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति संगै अब नागरिकले दैनिक रूपमा एमबीबीएस डाक्टर सहित ओपीडी सेवा सहज रूपमा लिन पाउने भएका छ्न । स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने नेपाल सरकारको निर्णयसंगै आइतबार एक कार्यक्रमका बीच दोदोधरा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नतिको घोषणा गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनुभएको थियो । यस्तै विशिष्ट अथितिमा गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की तथा अथितिका रूपमा वडा नम्बर २ का अध्यक्ष भेखु चौधरी ,३ का अध्यक्ष करने सुनार ,४ का अध्यक्ष पुरन सिंह बीसी, ५ का अध्यक्ष श्यामकुमारी चौधरी लगाएत रहनु भएको थियो ।
बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा दोदोधरा अस्पतालका इन्चार्ज नृप बहादुर विष्ट,पालिका उपाध्यक्ष भगवती देवि डगौराले मन्तव्य राख्नु भएको थियो । सो क्रममा उहाँहरुले स्वास्थ्यचौकी अस्पतालमा स्त्तोरन्त्ती हुनु समग्र पालिकाबासीका लागि सुखद भएको बताउदै सेवा प्रवाहमा थप जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पालिका अध्यक्ष बलिराम डगौरा थारुले अस्पतालको विकास र नागरिकलाई गुणस्तरीय र प्रभावकारी रूपमा सेवा दिनका लागि कुनै कसुर बाकी नराखी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नागरिकको स्वास्थ्य नै सवैभन्दा ठूलो सम्पत्ति भएकाले सेवा प्रवाह र नागरिक मैत्री स्वास्थ्य सेवामा विशेष ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने नेपाल सरकारको निर्णयसंगै यतिबेला १५ श्ययाको अस्पताल निर्माणको कार्यले तीव्रता लिएको छ ।