काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।
त्यस्तै, प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन एमालेले चार न्यायाधीशविरुद्ध पनि महाअभियोग ल्याउन तयारी थालिएको स्रोतले बताएको छ ।
गत वर्षमा २३ फागुनमा एमाले र माओवादी केन्द्र एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको हो ।