९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भए प्रेमबहादुर
तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका छन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।
‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उनले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’
घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको २०३२ सालमा निधन भयो । त्यसपछि उनी एकल रूपमा घरमा बस्दै आएका थिए । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् ।
नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’
उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए ।
‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए ।
उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।
‘उहाँ सुरुमा आउँदा अचम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ’, उनले भने, ‘अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।’
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताए ।
काठमाडौं । नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो । अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ ।
तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ र २०७८/७९ मा २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
कक्षा १२ को नतिजा चित्त नबुझे पुनः परीक्षण गराउन सकिने, प्रति विषय ५ सय रुपैयाँ लाग्ने
काठमाडौँ । कक्षा १२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अध्यक्ष शर्माले नतिजामा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने व्यवस्था गरिएको बताए ।
विद्यार्थीले उत्तर पुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ ।
तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ ।
बर्दगोरिया कलेजमा भर्ना खुल्यो, यस क्षेत्रकै नमूना कलेज बनाउछौ : अध्यक्ष कुवर
बर्दगोरिया । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त बर्दगोरिया कलेजमा यसै शैक्षिकसत्रबाट पढाइ संचालन हुने भएको छ । आफ्नै पालिकामा कलेज स्थापनाको भएको हेर्न पाउने बर्दगोरियाबासीको एक ठूलो सपनाका रूपमा रहेको थियो ।
त्रिभुवन विस्वविद्यालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको सम्बन्धन दिएपछि यसै शैक्षिकसत्रदेखि पढाइ हुनेगरी भर्ना अभियान सुरु गरिएको छ । बर्दगोरिया कलेजमा श्रावण २९ गतेदेखि भर्ना अभियान सुरु भएको कलेज प्रशासनले जनाएको छ ।
यसअघि काठमाडौमा संचालित क्लासिक कलेज अफ हाइयर स्टडिज, कलेजको नाम ठेगान परिवर्तन गरि त्रिभुवन विस्वविद्यालय कार्यकारी परिषदले बर्दगोरिया कलेजको सम्बन्धन दिएको हो । स्थानीय सरकारको अथक मेहेनत र प्रयासपछि बर्दगोरिया कलेज स्थापनाको चरणले पुर्णता प्राप्त गरेको हो ।
यसअघि निजि क्षेत्रबाट संचालित अबस्थामा रहेको सो कलेजलाई अब भने बर्दगोरिया गाउँ सरकारले संचालन गर्नेछ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, यहाँका शिक्षाप्रेमी तथा समाजसेवीको अथक प्रयासपछि बर्दगोरियामा क्याम्पस संचालनको कार्यले पुर्णता प्राप्त गरेको हो ।
बर्दगोरियामा यसअघि क्याम्पस नहुदा यहाँका सैयौ विद्यार्थी उच्च शिक्षाका लागि लम्की, घोडाघोडी र जोशीपुर गाउँपालिकामा संचालित क्याम्पस धाउन बाध्य थिए । सोही अबस्थालाई मध्यनजर गरि आफ्नै पालिकामा क्याम्पस संचालनकोलागि थालिएको प्रयास सफल भएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनले बर्दगोरिया कलेजलाई यस क्षेत्रकै नमूना बनाउने दाविसमेत गरे ।
पालिकामा यसअघि क्याम्पस नहुदा आफैलाई पीडा बोधहुने गरेको अनुभव साट्दै पालिका अध्यक्ष कुवरले बर्दगोरिया कलेजलाई उत्कृष्ट बनाउन आफुले कुनै कसुर बाकी राख्ने बताए । लामो मेहेनतपछि बर्दगोरियामा क्याम्पस संचालन गर्न पाएकोमा आफू निकै हर्सित भएको भन्दै उनले अब आफ्नै दाजुभाइ ,दिदिबहिनी आफ्नै घरमाबसी ,आफ्नै पालिकाको क्याम्पसमा पढ्न पाउने भएको हुँदा निकै खुशी लागिरहेको बताए ।
उनले शिक्षा जिवनको सबैभन्दा ठूलो कुरा भएको भन्दै बर्दगोरिया कलेजमा पढ्ने गरिब विपन्न ,जेहेन्दार विद्यार्थीको लागि स्थानीय सरकारले गर्न सक्ने सबै सहयोग गर्ने बताए । उनले उच्च शिक्षाको लागि बसमा कोचाकोच पुर्ण तवरले अरुको पालिका धाउनपर्ने यहाँका विद्यार्थीको समस्या पनि अब सकिएको बताए ।
कक्षा-१२ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने समय भने तोकिएको छैन।
परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले नतिजा प्रकाशन भने अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने,‘प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ,यही दिन प्रकाशित हुन्छ भन्न सकिँदैन,बोर्ड बैठक बस्नुपर्छ,त्यही भएर जुन दिन पनि नतिजा प्रकाशित हुनसक्छ।’
उनका अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित पनि हुनसक्छ नभए भदौ महिना पुग्ने सम्भावना पनि छ। कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।
नातिभन्दा पछि बज्यैको नागरिकता
बझाङ,रासस । मष्टा (बझाङ) जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा बस्छिन्, ८९ वर्षीया गिठीदेवी जोशी ।
गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन्भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुन् । उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार थिइनन् जसले उनी सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित थिइन् ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । “आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नु भएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
नातिभन्दा पछि बज्यैको नागरिकता
मष्टा गाउँपालिका–३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए । जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए । तर, उनीबाट सन्तान भएनन् । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएका थिए गौरीलाल । उनी अहिले ६१ वर्षको भए ।
गौरीलालले २०४२ सालमै नागरिकता लिए । गौरीका छोरा छोरीले पनि नागरिकता लिइसकेका छन् । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उनले भने, “सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाइएन ।”
गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए । रासस
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ ले सरसफाइ अभियान थालेको छ । सडक वरपर हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ६ नम्बर वडा कार्यालयले सो अभियान सुरु गरेको हो ।
विशेष गरि वर्षातको समयमा विभिन्न खालका प्रकोप न्यूनीकरण ,सवारी दुर्घटना न्यूनीकरणको लागि अभियान थालिएको हो । अभियान स्वरुप वडाका विभिन्न सडक छेउछाउमा सरसफाइ, सडकमा राखिएका बस्तु हटाउने र झाडी सफाइको काम थालिएको वडा अध्यक्ष भोजराज डगौरा थारुले बताए ।
सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता र सहयोग पाइएको छ । वडा कार्यालयले केही दिन अघिमात्र सडक छेउछाउमा निर्माण सामाग्री नराख्न, पशुचौपाया नबाध्न र सडक छेउछाउ सफा राख्न वडाबासीलाई सुचित गरेको थियो ।
शनिबारदेखि मनसुन थप सक्रिय हुने, बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह
काठमाडौं । देशका अधिकांश भू–भागमा शनिबार (भोलिदेखि) मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । भारतको विहारको उत्तर–पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
आगामी केही दिनसम्म मनसुनको न्यूनचापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । यसका कारण मनसुनी गतिविधि थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शनिबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
“शनिबारदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ,” विभागले भनेको छ, “ठूला तथा साना नदी,नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्नेछ ।”
बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।
ती जिल्लामा विपद्मा परी ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महादेव पन्थले जानकारी दिए ।
उनका अनुसार विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् । यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।
विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएको छ । १९३ घरमा आंशिक क्षति पुगेको छ ।
मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो । रासस
बर्दगोरिया । कैलालीको जोशीपुर गाउँपालिकामा कृषक महिला समुहको सक्रियतामा नाली तथा ढल व्यवस्थापनको काम सुरु भएको छ । पालिकाको वडा नम्बर ६ मा रहेको जीवन ज्योति महिला कृषक समुहको सक्रियतामा सिमरी बजार क्षेत्रमा नाली तथा ढल व्यवस्थापनको काम सुरु भएको हो ।
वर्षातको समयमा बजार क्षेत्रमा हुने ढल निकासीको समस्यालाई मध्यनजर गरि सो महिला कृषक समूहले वडा र पालिकाको कार्यालयसम्म नाली तथा ढल व्यवस्थापनको लागि ध्यानाकर्षण गराउदै आएको थियो । सिमरी बजार क्षेत्रमा हुँदै आएको ढल तथा नाली व्यवस्थापनको समस्यालाई मध्यनजर गरि पालिकाले उपलब्ध गराएको जेसीबीमार्फत बजार क्षेत्रमा यसको व्यवस्थापनको काम सुरु गरिएको महिला कृषक समुहकी सचिब सुशीला कुमारी डगौराले बताउनुभयो ।
ढल निकासीको उचित व्यवस्थापन नहुदा वर्षातको समयमा परेको पानी स्थानीयको घर तथा पसलमा पस्ने र सडकमा आवातजावत गर्नसमेत समस्या हुने गरेको कारण नाली सरसफाइ तथा ढल व्यवस्थापनको काम गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार सिमरी बजार क्षेत्रको आसपास र बजार क्षेत्रभरी सो काम गरिनेछ ।