बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
साप्ताहिक राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि राम्रो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि, व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। भोगविलासको मानसिकताले प्रगतिमा बाधा पुग्नेछ। ज्वरो तथा टाउको वा घाँटीकाे समस्याले स्वास्थ्य कमजाेर रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुनेछ। तर, बलियाे शक्तिकाे आडमा काम गर्दा धाेका हुन सक्छ। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। साथीभाइलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। आसन्न यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ। महिनाकाे तेस्राे सातापछि भौतिक साधन प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। समाजमा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार, कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मान पाइनेछ। तर बेसुरको यात्राले समस्या निम्त्याउन सक्छ। खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिएकाले हतियार तथा सवारी उपयोग गर्दा होसियार रहनुहोला। बलजफ्ती गर्ने बानीले शुभचिन्तकहरू टाढिन सक्छन्।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्य लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भूमि तथा वाहनका लागि रकम जुटाउने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गरी फाइदा उठाउने माैका छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश तथा पदाेन्नति हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सम्पादित कामले कीर्तिमानी दिलाउन सक्छ। नोकरी वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा उठाउने समय छ। परोपकारी काम गर्नाले समाजमा ख्याति बढ्नेछ। व्यवसायले मनग्य फाइदा दिनेछ। बहुमूल्य वस्तु हातलागी हुन सक्छ। पुरस्कार, मानसम्मान आदि प्राप्त हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। प्रतिभा प्रदर्शन गरेरै शुभचिन्तकहरू बढाउन सकिनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। भूमि तथा वाहन प्राप्तिकाे याेग रहेकाे छ। पैत्रिक सम्पत्तिकाे उपयाेगबाट मनग्य लाभ उठाउन सकिनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही अवसर प्राप्त भए पनि व्यावहारिक कठिनाइ सामना गर्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। अरूकाे भरपर्दा काममा धोका हुन सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई बुझेर अघि बढ्दा विशेष लाभ उठाउन सकिनेछ। केही जाेखिम उठाउनुपरे पनि आँटले काम लिनेहरूलाई भाग्यले साथ दिनेछ। तेस्रो सातादेखि शुभचिन्तकहरूकाे साथ जुट्नाले परिस्थिति अनुकूल बन्नेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर आए पनि भोगविलासको मानसिकताले काममा पछि परिनेछ। व्यवसाय तथा आयमूलक काममा मन्दी आउनाले अर्थअभाव देखापर्न सक्छ। खराब व्यक्तिको विश्वास गर्नाले काममा धोका पाइनेछ। सामाजिक हिसाबले पनि अलि कमजोर भइनेछ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। तेस्राे सातादेखि स्थितिमा सुधार आउनेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सकिनेछ। सुखद समाचारले आनन्द पाइएला। प्रतिस्पर्धीहरूले हात झिक्नेछन् भने काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ। आफ्ना काममा अरूले अधिकार जमाउन खोज्नेछन्। प्रेममा धाेका हुनेछ। महिनाको अन्त्यतिर पतिपत्नीबीच असमझदारी बढ्न सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो काममा जग बसाउने समय छ। भौतिक साधनहरू पनि सजिलै जुट्नेछन्। दोस्रो सातासम्म स्थिति अनुकूल रहनेछ। तेस्राे सातापछि साझेदारीमा समस्या र सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। आफ्नो उपलब्धि जोगाउन व्यवहारमा पनि सजग रहनुपर्ला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। बलजफ्तीले पारिवारिक असमझदारी बढाउन सक्छ। एकसाथ अनेक काम सुरु भए पनि धेरै काम अधुरै रहनेछन्। कीर्ति राख्ने महत्त्वाकांक्षाले उल्टै क्षति हुन सक्छ, सजग रहनुहोला। माता-पिताको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लगानी गर्दा बेफाइदा हुन सक्छ। तर, तेस्राे सातादेखि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले व्यवसायमा लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर समेत प्राप्त हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। दाजुभाइको सम्बन्ध प्रगाढ हुनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बन्न सक्छ। तापनि प्रयत्न गर्दा अप्ठ्यारै काम समेत सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। केही आरोप लागे पनि मेहनत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।
कोरोना संक्रमण बढ्दै जाँदा जैमिनी डाक्टर विहिन, कोहि अध्ययन विदामा, कसैको करार सकियो
सुजन प्रेमी
बागलुङ २५ बैशाख २०७८ ।
कोरोना संक्रमण बढ्दै जाँदा जैमिनी नगरपालिका भने डाक्टर विहिन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको सम्झौता सकिएपछि बागलुङको जैमिनी डाक्टर विहिन बनेको हो ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि पुन सम्झौता थप गरेर उहाँलाई नै ल्याउने वा अरु खोज्ने भन्ने तयारी भैरहेको जैमिनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । जैमिनीको कुश्मिसेराबाट प्रशारित शुभेक्षा एफ एम ९६.६ मेगाहर्जको कार्यक्रम हाम्रो घर हाम्रो नगरमा कुराकानी गर्दै उहाँले तत्काल आइशोलेसनमा जटिल खालका बिरामीहरु नआउने जानकारी दिँदै यस बिषयमा आफूहरु गम्भीर रहेको बताउनुभयो ।
जैमिनी नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड १९ अस्थाई अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको छ । डाक्टर नभएतापनि अहिले स्वास्थ्य केन्द्रका अन्य स्वास्थ्यकर्मीहरुले नै कोरोना संक्रमितको व्यवस्थापन गर्ने उहाँको भनाई छ ।
सरकारको मापदण्ड अनुसार कोरोना अस्पतालमा कम्तिमा एकजना डाक्टर, एक जना प्यारामेडिक्स् एकजना स्टाफ नर्स र एक जना कार्यलय सहयोगी सहित चारजना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर जैमिनीमा एकजना पनि डाक्टर नहुँदा कोभिड उपचारमा समस्या पर्ने देखिएको छ ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थाई डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आउनुभएको थियो ।
अहिले पनि डाक्टर क्षेत्रीसँग कुराकानी भैरहेको र बिभागमा आवश्यक कागजात पठाएको संयोजक आचार्यले बताउनुभयो । उहाँको सम्झौता थप गरी ल्याउने वा अरु खोज्ने भन्ने बारे नगरपालिकामा पनि छलफल भैरहेको नगरपालिकाले जनाएको छ । भट्टराइकाे करार अवधि बैशाख १४ गते सकिएकाे छ ।
जैमिनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यसँगकाे कुराकानीकाे पूर्ण भाग सुन्नुहाेस्
नुवाकोटमा दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन- चारहजार सिलिण्डिर मौज्दात, अभाव छैन
नुवाकाेट, २५ वैशाख २०७८ ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको प्रालीका सञ्चालक प्रदीपकुमार सेढाईले जानकारी दिनुभयो ।
उहाँको अनुसार कम्पनीको क्षमता आठसय सिलिण्डर गर्नसक्ने भएपनि विद्युत आपूर्तिमा हुने गरेको गढबढीका कारण केही क्षमता भन्दा केही कम उत्पादन भएको हो । कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ । “यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही वैशाख २० गते बसेको उद्योगको सञ्चालक समितिको बैठकले हाल कोरोना सङ्क्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।” उहाँले भन्नुभयो “कम्पनीबाट यसअघि कोही कसैले लगेर खाली बनाएर राखेका खाली सिलिण्डरको खोजी र मौजुदा राखेको भए सङ्क्रमण अवधिको लागी कम्पनीलाई नै उपलब्ध गराउन अपिल गरेको छ ।”
कोरोना सक्रमित बिरामीको लागी एक दिनमा ठूलो सिलिण्डर करिब एकवटा प्रयोग हुने भएकाले जिल्लाको लागि अक्सिजनको माग पूरा भएपछि काठमाडौ लगायत माग भएर आएका अस्पतालमा पठाउने उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार हाल कोरोना रोगको सङ्क्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागि अक्सिजन सहितको सेवा अत्यावश्यक रहेको समयमा चौबिसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहमा केन्द्रित गरिएको छ ।
ककनीमा रहेको अक्सिजन उद्योगको लागी यहाँको देवीघाट स्थित सवस्टेशनबाट लगिएको प्रशारण लाइनको विद्युतमा दैनिक जसो हुने गढबढीको कारण लक्ष्य अनुसार उत्पादनमा भने कठिन देखिएको छ । “उद्योगको क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन, नियमित विद्युत् आपूर्ति भएमा प्रतिदिन नौ सय सिलिण्डर उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष पाण्डेले भन्नुभयो, “विद्युत्मा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भएमा उत्पादन बृद्धि गर्दै लैजान्छौ ।”
चारहजार २०० सिलिण्डिर मौज्दात
उद्योगसंग रहेका ४७ लि. क्षमताको पाच हजार ठूला सिलिण्डर मध्ये हाल चार हजार २०० सिलिण्डर चालु अवस्थामा छन् । कोरोना बिरामीको लागि अन्य बिरामीको भन्दा अक्सिजन बढी खपत हुने भएकाले ठूला सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । सक्रमित बिरामीको लागि प्रतिघण्टा दश लिटरसम्म अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाइ छ ।
दम तथा अन्य प्रकृतिका बिरामीको लागी प्रयोग गर्ने गरेको १० लि. क्षमताका ३५० वटा र १५ लि. क्षमताको ५० सिलिण्डर पनि उद्योगसँग मौज्दात रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोना सङ्क्रमित बिरामीको लागी भने ठूलो सिलिण्डर नै आवश्यक पर्ने भएकाले कम्पनीले ठूलो सिलिण्डरलाई प्रथामिकता दिएर रिफिल गर्दै आएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले बिरामी तथा अन्य प्रयोजनको लागि लगिएको सिलिण्डर भएमा त्यसलाई खाली नराख्न र आफूलाई सिलिण्डरको आवश्यकता नभए हाल कोरोना रोगको महामारीको समयभरका लागी कम्पनीलाई नै उपलब्ध गराउन आग्रह गरेको छ ।४७ लिटर क्षमताको ठूलो अक्सिजन सिलिण्डरलाई रु पाँचसय शुल्क तोकिएको उद्योगले जनाएको छ । उक्त उद्योग दशवर्ष अघि ३२ लगानीकर्ताले रु १५ करोडमा सुरु गरेका थिए ।
अक्सिजन अभाव छैनः त्रिशूली अस्पताल
त्रिशूली अस्पतालसंग आफ्नै अक्सिजन उद्योग भएका कारण अक्सिजनको अभाव छैन । अस्पतालको अक्सिजन उद्योग मार्फत ६४ वटा प्वाइन्टमा बनाएर बिरामीको श्ययासम्म पाइप मार्फत अक्सिजन उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार अस्पतालले उद्योगमा कम्प्रेसर उपकरण जडानको प्रक्रियामा रहेकाले एक महिनाभित्रै व्यावसायिक उत्पादन (सिलिण्डरमा भरेर कारोबार गर्ने) थाल्न लागिरहेको छ ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
वृष
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको
योग पनि रहेको छ ।
मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कर्कट
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
सिंह
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
तुला
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
वृश्चिक
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
धनु
आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर
आज विद्या र बुद्धिमा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
कुम्भ
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनसक्छ ।
मीन
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
जैमिनी नगरपालिकाः पूर्वाधार प्रगति शून्य
सन्ध्या आचार्य
बागलुङ, २३ बैशाख २०७८ ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहमै सेवा सुविधा पाउन थालेपछि कतिपय कामको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला सदरमुकामको चहलपहल वडा कार्यालय र पालिका केन्द्रमा बढी नै देख्न सकिन्छ । तर हचुवाका भरमा निर्धारण गरिएका कतिपय पालिका केन्द्र नाम मात्रका छन्, जहाँ न्यूनतम पूर्वाधार समेत छैन ।
साँघुरो ठाउँको भिरालो जमिन अनि फैलँदो बस्ती । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराको बिशेषता हो यो ।
नगरपालिकाको केन्द्र घोषणा गरेको तीन बर्षपछि अहिले पनि यो ठाउँमा न्यूनतम सेवा सुबिधा छैन । कतिसम्म भने नगरपालिका घोषणा हुँदा एकईन्च कालोपत्रे सडकसमेत थिएन । कुश्मिसेरा बजारको बाटो अहिले पनि कालोपत्रे हुन सकेको छैन । कुश्मिसेरा बजारमा सबैभन्दा ठूलो समस्या पिउने पानीको छ । पालिका मुकाम भइसकेपछि कम्तिमा पिउने पानीको समस्या समाधान हुनेमा स्थानीय आशाबादी थिए ।
नगरपालिका घोषणा हुनासाथ रातारात विकास हुने सपना देखेर बजार झरेकाहरु समस्या जस्ताको त्यस्तै देख्दा कम्ति निराश भएका छैनन् । जैमिनी नगरपालिका ९ पैयुँबाट कुश्मिसेरामा बसाई सरेर आएकी मिना केसी भन्नुहुन्छ, “विकास होला भनेर कुश्मिसेरामा घर बनाइयो अहिले पछुतो लागेको छ ।”
कुश्मिसेरामा बसाई सरेर आउनेको संख्या बढ्दो छ । यसको तथ्यांक नगरपालिकासँग नभए पनि बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीसको भनाइमा पछिल्लो तीन बर्षमा करिव १५० परिवार थपिएका छन् । समितिको तथ्यांकले भन्छ, कुश्मिसेरामा भाडामा बस्नेको संख्या घरधनीकै हाराहारीमा छ ।
नगरपालिकाको केन्द्र बनेपछि सेवा सुविधा पाउने लोभमा कतिले त गाउँको जग्गाजमिन त्यसै छोडेर आएका छन् भने कौडीको भाउमा गाउँको जग्गाजमिन बेचेको पैसाले अधिकांशले सानो टुक्रा जग्गा किनेर घर बनाएका छन् । मापदण्ड कहिँकतै पालना भएको छैन । कतिसम्म भने नगरपालिकामा बनेका करिव ८० घर दुईआना क्षेत्रफलमा बनेका छन्, त्यो पनि निर्माण अनुमती नलिईकन । नगरपालिकाका इन्जिनीयर बिवेक सापकोटा भन्नुहुन्छ, “यसरी बसेकाहरुले न मापदण्डको ख्याल गरे न त नगरपालिकासँग सुझाव नै लिए ।” उहाँको भनाईमा साँघुरो ठाउँ, त्यसमाथि अव्यबस्थित संरचना कुश्मिसेरामा बजार विस्तारको मुख्य चुनौती बनेको छ ।
त्यसो त नगरपालिकाले सुरुमा १८ मिटर बाटो कायम गर्ने सरकारी मापदण्ड लागू गर्न खोजेको थियो । तर स्थानीयको अबरोधपछि उक्त मापदण्ड लागू गर्न नसकिएको स्वीकार्नुहुन्छ् नगरप्रमुख इन्द्रराज पौडेल । स्थानीयका लागि सहज हुने र बस्ती पनि जोगाउने गरी मापदण्ड तयार गरिने उहाँ बताउनुहुन्छ । मापदण्डमा नपरेका संरचनाका सम्बन्धमा सम्बन्धित घरधनी जवाफदेही हुनुपर्ने नगरप्रमुख पौडेलको मत छ । तर स्थानीयले भने निश्चित मापदण्ड बनाएर नगरपालिकाले नक्सापास गरिदिनुपर्ने माग राखेका छन् । नगरपालिकाले मापदण्ड कायम गर्न ढिलाइ गरेकाले समस्या थपिएको बताउने स्थानीय ताराकेशर सापकोटा भन्नुहुन्छ, “मापदण्ड लागू हुनुअघि बनेका घरको प्रकृति हेरेर नक्सापास गरिदिनुपर्छ ।”
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नगरपालिका हुन कम्तिमा पनि पेटीसहितको सडक, विद्युत, सञ्चार, फोहोर व्यवस्थापन, खानेपानी तथा सरसफाई सुविधा, सार्वजनिक शौचालयसहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला लगायत सुविधा हुनुपर्दछ । खानेपानी सुविधा, सार्वजनिक शौचालय सहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला अझै पनि बनेका छैनन् । न्यूनतम पूर्वाधार समेत नभएको ठाउँलाई नगरपालिका बनाउँदा सुरु विन्दुबाटै काम गर्नुपरेको नगरप्रमुख पौडेलको भनाई छ । नगरपालिका क्षेत्रभर नभए पनि कुश्मिसेरा बजारमा भने बल्ल सामान्य पूर्वाधार निर्माणको काम अघि बढेको पौडेलले बताउनुभयो । उहाँका अनुसार टेलिफोन, करिव ३ किलोमिटर कालोपत्रे सडक, सार्वजनिक शौचालय तथा बजारबाट उठाएको फोहोर विसर्जन गर्ने ठाउँको व्यबस्था भइसकेको छ । यो सुबिधा सबै वडामा पुर्याउने योजना उहाँले सुनाउनुभयो ।
मासिदै खेतीयोग्य जमिन
नगरपालिका केन्द्र घोषणासँगै यहाँको उब्जाउ जमिन मासेर घर बनाउने क्रम बढेको छ । जबकि हिजोका दिनमा यहाँको ३०० रोपनी खेतीयोग्य जमिनबाट एक हजार मुरी बढी धान भित्रिन्थ्यो । अधिकांश बलेवाबासीको जग्गा थियो यहाँ । धानमात्र होइन, गहुँ र आलुको उत्पादन कम्ति राम्रो हुदैनथ्यो । खोला नजिक कुलोको पानीले थोरै मेहेनतमा धेरै अन्न उत्पादन हुन्थ्यो । यति राम्रो खेती हुने जमिन अहिले कंक्रिटको जंगल बन्ने क्रममा छ । क्याप्टेन पदमबहादुर श्रीसको भनाईमा बजार विस्तारका कारण २०० रोपनी भन्दा बढी खेतियोग्य जमिन घडेरीका लागि टुक्र्याइएको छ । ५ रोपनी जग्गा त जैमिनी नगरपालिकाले नै ओगटेको छ । यतिमात्र होइन, नगरपालिकाले नै बस्ती बिस्तारको तयारी गरेको छ । १८ रोपनी ७ आना मध्ये जैमिनी नगरपालिकाको लागि ५ रोपनी छुट्याएर १३ रोपनी ७ आना जग्गा प्लटिङ गरेर बस्ती बिस्तार गर्ने तयारी भइरहेको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।
बस्ती बिस्तारलाई ध्यानमा राखेर बजार क्षेत्रमा ८ मिटरको बाटो कायम गर्ने, संरचना निर्माणअघि अनिवार्य नक्सापास गर्नुपर्ने जस्ता मापदण्ड लागू गर्नुपर्नेमा नगरपालिकाका ईन्जिनियर विवेक सापकोटा जोड दिनुहुन्छ । तर नगरपालिकाले अहिलेसम्म कुनै मापदण्ड बनाएकै छैन । बाटो छोडेर घर बनाउने, निर्माण शुरु गर्नुअघि नक्सापास गर्नुपर्ने भनिएपनि कति प्रतिशत छोड्ने भन्ने निश्चित छैन ।
केन्द्र वरिपरी सेवा सुविधा बिस्तार गरी बजार क्षेत्र फराकिलो बनाउने, जथाभावी संरचना बनाउन नदिने जस्ता नियम कडाईका साथ पालना गराउने नगरपालिकाको तयारी छ । यसका लागि खाका कोर्ने काम भइरहेको नगरपालिकाका इन्जिनीयर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नक्सा पास नगरी घर बनाउन नपाउने, ८ मिटर बाटो छोडेर मात्र संरचना बनाउनुपर्ने, संरचना जोडेर बनाउन नपाइने, निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य लिनुपर्ने, दुई आना भन्दा कम जग्गामा घर बनाउन पाइने छैन ।
व्यवस्थित नभए पनि कुश्मिसेरा बजारको ईतिहास लामै छ । २०२९ सालमा स्थानीय लक्ष्मीनारायण सापकोटाले यो बजारलाई व्यवस्थित बनाउने सोचले विकासका काम अघि बढाउनुभएको थियो । घरेलु उद्योग यहीँ थियो । विजुली बत्ति यहीँबाट निकालिएको थियो । कुश्मिसेरा बजार उतिबेलै झलमल्ल हुन्थ्यो । यो अहिले कथाजस्तो बनेको छ । एक समय राम्रै चर्चा कमाएको बजारमा बस्ती व्यवस्थित हुन सकेन जसले गर्दा पुराना संरचनाले निरन्तरता पाएनन् ।
११८.७१ वर्ग किमि क्षेत्रफलमा फैलिएको जैमिनी नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ३१ हजार ४ सय ३० छ । जिल्ला सदरमुकाम बागलुङको चहलपहल दश ठाउँमा विकेन्द्रिकरण भएको छ । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।
(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिताः रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)
काठमाडाैँ, २४ बैशाख २०७८ ।
पछिल्लाे २४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरीका विभिन्न प्रयोगशालाहरूमा गरीएकाे परीक्षणमा ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका हुन् । १९ हजार ९ सय ८७ नमुनाकाे पीसीआर परीक्षणमा ९ हजार २३ र ४ सय ९५ नमुनाकाे एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा काेराेना संक्रमण निको हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ । नेपालमा सक्रिय संक्रमितकाे संख्या ७८ हजार ६ सय २९ पुगेकाे छ । यस्तै ३ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण थप ५० जनाकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
भारतबाट ५० लाख डाेज खोप खरिदगर्ने भनेपनि तत्काल त्यो खोप आउने अवस्था छैनः मन्त्रालय
काठमाडौं, २४ बैशाख २०७८ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सेरम इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल सरकारले भारतबाट ५० लाख डज कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको समेत दाबी गरेको छ ।
सेरम इन्स्टिच्युटको कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध आएकाले क्षमता बिस्तार हुनेबित्तिकै आपूर्ति गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्ति हेर्नुहाेस्
काठमाडौँ, २४ वैशाख २०७८ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो ।
उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको प्रवक्ता सेढाईंले जानकारी दिनुभयो । सात ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधिको अधिक मूल्य रु पाँच हजार एक सय लिएको नपाइएको जनाइएको छ । रेम्डेसिभिर औषधिको न्यून उपलब्धता, वितरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो ।
यस्तै बिरामीको अनुपातमा उपलब्ध श्यया सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो ।
उक्त अस्पतालको अनुगमनपश्चात् विभागले छानबिनका लागि आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ । पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा चर्काे शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सातवटा अस्पतालको अनुगमन गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।