प्रभावकारी बन्दै पशु सेवा इकाई :एक वर्षमा १३ हजार ७ सय बढी पशुलाई सेवा, २०९ को कृतिम गर्भाधान
बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा पशु सेवा शाखा इकाई स्थापना भएपछि स्थानीय जातका पशुको कृतिम गर्भाधान गरी नश्ल सुधार गर्न कृषक आकर्षित भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मिएका बाच्छा- बाच्छी तथा पाडा पाडीको नश्ल सुधार हुने र दूध तथा मासुको गुणस्तरमा वृद्धि हुने भएकाले किसानको आकर्षण कृतिम गर्भाधानतर्फ बढेको हो।
परम्परागत पशुपालनबाट व्यावसायिकतामा फड्को मार्दै गरेको नेपालको पशुपालनमा कृतिम गर्भाधान सेवा विस्तार भएसँगै पशु गर्भाधानको लागि राँगो तथा साँढेको विकल्पमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।पालिकाको पशुसेवा कार्यालयले गाउँगाउँमा कृतिम गर्भाधान सेवा विस्तार गरेसँगै किसान आकर्षित हँदै गएका हुन् । पशु सेवा इकाई स्थापना भएको एक वर्षको अवधिमा शाखाले १३ हजार ७ सय ८९ पशुलाई सेवा प्रदान गरेको छ ।
बर्दगोरिया ६ स्थित पृथ्वीपुरमा गत असार ८ गते पशु सेवा शाखा स्थापना भएको थियो । शाखाका नायव पशु सेवा प्राविधिक युवराज कठरियाका अनुसार यो एक वर्षको अबधिमा ४ हजार ३ सय ४० किसानले लाभ लिएका छ्न । स्थानीय स्तरमै शाखाबाट सेवा पाउने भएपछि किसानहरु लाभान्वित बनेको उनले बताए । उनकाअनुसार शाखाबाट मुख्यगरी वडा नम्बर ६,५,४, २ र १ नम्बर वडाका किसानले सेवा लिएका छ्न ।
कृतिम गर्भाधानप्रति किसान आकर्षित
पशुको कृतिम गर्भाधान सेवालाई गाउँ-गाउँसम्म पुर्याइएपछि किसान लाभान्वित बन्दै गएका छ्न । आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको शाखाका नायव पशु सेवा प्राविधिक कठरियाले बताए ।
शाखा संचालनको एक वर्षको अवधिमा २०९ पशुको कृतिम गर्भाधान गरिएको छ । हालसम्म १०१ गाई, ७५ भैंसी र ३३ वटा बाख्राको गरि २०९ पशुको कृतिम गर्भाधान गरिएको हो ।कृत्रिम गर्भाधानबाट जन्मेका पशुमा रोग नलाग्ने, गर्भ नतुहिने, बच्चा मर्ने सम्भावना कम हुने र बढी दूधालु हुने हुन्छ ।
कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुने तथा दूध उत्पादन पनि बढ्ने भएपछि किसान कृतिम गर्भाधानप्रति आकर्षित भएको कठरियाले बताए । कृतिम गर्भाधानबाट दूध पनि बढी उत्पादन हुने, दुई÷तीन वर्षसम्म राँगो, साँढे पाल्ने झन्झट नहुने र नश्ल पनि सुधार हुनेभएपछि कृषक यसमा आकर्षित छन् ।
भैंसी चराउन चार महिना वनवास !
जुम्ला । जुम्लाको अन्तिम गाउँ चोत्रा चौरदेखि पूर्वमा पर्ने दूधकुण्डली तालछेवैको डाँडाबाट सूर्य पश्चिमतर्फ छलाङ मार्दै छ । जंगलभरि लयबद्ध आवाजमा कराइरहेका गज्याङ किराको आवाजले गोठालालाई गोठतिर भैंसी बटुल्न संकेत गरिरहेको छ ।
वरिपरि घना जंगल, छेउमा कलकल बगिरहेको खोला, खोला किनार रंगीचंगी त्रिपालले छाएका गोठमा झन्डै चार महिना बिताउँछन्, कर्णालीका भैंसी गोठाला ।
जुम्ला र जाजरकोटबाट असार पहिलो साता लेकमा उक्लिएका गोठाला असोजपछि मात्रै बेसी झर्छन् । गाउँमा भिरपाखा बढी छ, घाँस काटेर खुवाउनुपर्छ । लेकमा भने गोठालालाई हाइसुख हुन्छ । गाउँ हुँदा गोठभित्रै थुनिने भैंसी लेकमा भने स्वतन्त्र हुन्छन्, लागेको बेला चर्न पाउँछ ।
नेपालकै गहिरो ताल से–फोक्सुन्डो, जगदुल्ला र दूधकुण्डली पुग्ने यही मनाङ–मुस्ताङ पुग्ने सडकखण्ड भएर यात्रा गर्छन् । पर्यटक आगमन हुँदा सवारी साधनको आवाजले पाडा पाडी तर्सिन्छन्, गोठाला भने दहीदूध बिक्री हुने आशाले खुसी हुन्छन् । पर्यटक भैंसी गोठमा दही दूध खाँदै गन्तव्यमा टुंगो लगाउँछन् ।
गोठाला दैनिक ४ घण्टा हिँडेर दूध, दही बेच्न गाउँ पुग्छन् । चार महिनामा भैंसीगोठबाट भएको आम्दानीले घर खर्च चलाउँछन् । यसबाट महिनामा ४० हजारसम्म आम्दानी हुने जाजरकोटका दलबहादुर चलाउने बताउँछन् । ‘हाम्रो बाल्यकाल लेकबेंसी गर्दै गयो,’ उनी भन्छन्, ‘भैंसी गोठसँग लेक पुग्न थालेको २२ वर्ष पुग्यो ।’
वर्षायामका चार महिनासम्म जुम्ला चोत्रा, गुठीचौर, दुम्मर, तरापीलगायत ठाउँमा भैंसी राखिन्छन् । असोज पहिलो साता यी गोठ बेंसी सारिन्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा भैंसी संख्या ७ हजारको हाराहारी छ । वर्षमा प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले ४७ लिटर मात्रै आपूर्ति भइरहेको छ ।
परम्परागत रूपमा रहेको भैंसीपालन व्यवसायमा रूपान्तरण हुनेक्रम बढिरहेको पशु अस्पताल तथा पशु शाखा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महत बताउँछन् । ‘जुम्लामा पारपाटे र गड्डी जातका भैंसी छन्, भैंसीपालनमा आर्कषित गर्न गोठ निर्माण र भैंसी खरिदमा अनुदान दिँदै आएका छौं,’ उनी भन्छन् ।
जुम्ला खलंगामा आधा दर्जन दूध डेरी सञ्चालन छन् । परम्परागत रूपमा रहेको भैंसीपालन विस्तारै व्यावसायिक बन्दै गएको छ । पाटन र खर्कमा पुगेका आगन्तुक चरा, थरीथरीका फूलसँगै वर्षायाममा लेकाली भेगमा सारिएका गाई, भैंसी र भेडीगोठले शोभा बढाएका छन् । तर, गोठ भने व्यवस्थित छैनन् । चट्याङ, हावाहुरी, असिनापानीबाट बच्ने व्यवस्थित गोठ बनाइदिनुपर्ने गोठालाको माग छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
चट्याङ लागेर ५० बाख्रा मरे
सिमकोट। हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।
रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हँुदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो ।
खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा पशुमा कृत्रिम गर्भाधान सम्बन्धि सरोकारवाला संग बिहीवार एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु सहित सरोकारवाला निकायको उपस्थिति रहेको थियो । वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) रहेका थिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष गिरिले यहाँका किसानको वृद्धि विकास र आर्थिक लाभका लागि यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको हुँदा यसलाई पालिकाको ६ वटै वडाबाट शेवा प्रदान गर्न सके कार्यलाई र लक्ष उपलब्धिमुलक हुने बताए । उनले बेरोजगारीको अन्त्य र आर्थिक विकासको अब एकमात्र विकल्प कृषि र पशुपालन भएको हुँदा यसप्रति सबै सरोकारवाला निकाय गम्भीरतापर्ूवक लाग्नुपर्ने बताए ।
कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने र कृषकलाई आर्थिक लाभ पनि हुने भएकाले यसबारे जानकारी दिन कार्यक्रम गरिएको पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले बताए । पशुमा गरिने कृत्रिम गर्भाधानले पशुको जातीमा पनि सुधार ल्याउन सकिने भएकाले कृत्रिम गर्भाधान महत्त्वपूर्ण भएको उनले बताए । आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसानको निम्ति कृत्रिम गर्भाधान प्रक्रियामा निकै आकषिर्त भएको बताए ।
कार्यक्रमका सहभागीलाई क्षेत्रीय पशु पन्छी एवम् रोग अन्वेषण प्रयोगशाला धनगढीका डा. नरेश प्रशाद जोशीले प्रशिक्षण दिएका थिए । सो क्रममा उनले कृत्रिम गर्भाधान भनेको के हो ? यसबाट किसानलाई हुने फाइदा ,पशुपालनमा देखा पर्ने रोग, तिनको निदान लगाएतका बारेमा जानकारी दिएका थिए ।
कृत्रिम गर्भधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा-बाच्छी उन्नत जातका हुने, थोरै विर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहरबाट लाग्ने र सरुवा रोगबाट बच्न सकिने जस्ता फाइदा हुने गर्दछ ।
कार्यक्रममा बोल्दै बर्दगोरिया ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले वैज्ञानिक कृषि प्रणाली अन्तर्गत कृत्रिम गर्भाधानको विधि पनि एक मानिएको बताए । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएको यो प्रविधिलाई स्थानीय निकायहरुले राम्रो सम्बोधन गरि अगाडि बढे किसानलाई निकै फाइदा पुग्ने बताए । प्रविधिलाई आम कृषकहरु समक्ष पुर्याउनका लागि कृषकहरुसँगको समन्वय, छलफल, यसको आवश्यकता, महत्व र सल्लाह, सुझावको आवश्यकता पर्ने बताए ।
कार्यक्रमको समापन गर्दै वडा नम्बर १ का अध्यक्ष /कार्यक्रमका सभाअध्यक्ष मिथुन गौतमले व्यवसायिक हिसाबले आम किसानले यसको महत्त्व र फाइदाका बारेमा आवश्यक जानकारी नपाउदा समस्या पर्ने गरेको बताए ।
बर्दगोरियामा यसरी मनाईयो धान दिवस [ फोटोफिचर ]
बौनिया । धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिकामा १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ ।
बर्दगोरिया गाउँपालिका कृषि विकास शाखा र अखिल नेपाल किसान महासंघ कैलालीको सयुक्त आयोजनामा दिवश मनाईएको हो ।
एमाले कैलाली जिल्ला सचिब डेजि पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट रहेका थिए । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले स्वागत मन्तव्य राखेका थिए ।
असार १५ का दिन कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ।
असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको छ ।
काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।
मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्त्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।
खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ ।
नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।
सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ । मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ । खाद्यान्न आयातमा मुलुकको अर्बौँ रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान्न आयातमा अर्बौँ रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।
त्यस्तै मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।
सोह्र अर्बको मकै आयात
विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको हो । विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ ।
कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ । यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
पाँच अर्बको गहुँ आयात
विभागको विवरणअनुसार गहुँको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु पाँच अर्ब ६३ करोड नौ लाख ४५ हजार बराबरको १७ करोड पाँच लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ । त्यस्तै कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी रु तीन करोड ८२ लाख ६६ हजार मूल्य बराबरको आयात भएको छ ।
यस अवधिमा एक करोड ७९ लाख २५ हजार ६०९ केजी बराबरको जौ रु एक अर्ब २१ करोड ८६ लाख ४८ हजार मूल्य बराबरमा आयात भएको छ । त्यस्तै रु तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ । विभागका अनुसार यस अवधिमा रु १८ लाख २७ हजार मूल्यमा २७ हजार १२९ केजी फापर आयात भएको छ । रासस
सुदूरपश्चिममा ६० प्रतिशत धान रोपाइँ हुन बाकी
सुदूरपश्चिम । रोपाइँ गर्न पुग्ने गरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशमा धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन ।
आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा अझै रोपाइँ हुन नसककेको हो । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । आजसम्म प्रदेशमा धानखेती गरिने क्षेत्रफलको जग्गामध्ये ४० प्रतिशतमा मात्रै रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढी धान उत्पादन हुने कैलाली जिल्लामा आजसम्म ३० प्रतिशत जग्गामा मात्र रोपाइँ हुनसकेको छ । यस्तै कञ्चनपुरमा ४५ प्रतिशत जग्गामा रोपाइँ भएको छ ।
“यसपालि कैलाली र कञ्चनपुरमा रोपाइँ गर्न ढिला भैसक्यो”, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भन्नुभयो, “सिँचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिँचाइ आयोजना ल्याउन जरुरी भइसकेको छ ।” मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । तर आजसम्म प्रदेशमा ठूलो मनसुनी वर्षा हुन सकिरहेको छैन ।
यस वर्ष मनसुन जेठ २२ गते पूर्वी नेपाल प्रवेश गरेको बताइए पनि सुदूरपश्चिममा मनसुन सक्रिय हुनसकिरहेको छैन । गएको एक महिनायता यो प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा निकै कम वर्षा भएको अनुमान छ । मनसुनी वर्षा भएपछि रोपाइँ गरौँला भन्ने आसमा बसेका सुदूरपश्चिम प्रदेशका किसानले आज वर्षा भएपछि भने केही राहत महसुस गरेका छन् ।
भूमिगत र सतह सिँचाइको पानीको सहायतामा रोपाइँ गरिएको खेतको बाली सप्रिन आकाशको पानी आवश्यक पर्ने किसानको अनुभव छ । एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार४०४ हेक्टरमा रोपाइँ हुन्छ ।
अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभपरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ । धान बढी उत्पादन हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा धान आपूर्ति हुन्छ ।
यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा यसको पर्याप्त सुविधा छैन । रासायनिक मल डिएपीको अभावले समस्या झेलिरहेका किसानलाई वर्षा हुन नसक्दा समयमै रोपाइँ गर्न नसकिने अर्को समस्या थपिएको छ ।
रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुुकिछिपीरूपमा कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गर्नुपर्ने वाध्यता किसानको छ । “सरकारले कृषिलाई प्राथमिकतामा राखेको भन्ने सुन्दा खुसी लागेको थियो”, कैलालीका कृषक मीनराज बोहराले भन्नुभयो, “तर चाहिने मात्रामा डिएपी मल कहिल्यै पाइँदैन, यसपालि इन्द्र भगवान्ले पनि समयमै वर्षा गराएनन् ।”
धानको ब्याड तयार भइसकेको भए पनि आफूहरु वर्षा होला र रोपाइँ गरौँला भनेर पर्खिबसेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त समय मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्न सक्ने कृषि प्राविधिकको भनाइ छ ।
हिलाम्मे सडकमा धान रोपाइँ
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँ बजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँ बजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दबाब र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको बताउनुभयो ।
“अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवतजावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाइँ गरिएको हो ।” रणवाङ, नयाँ बजार र सहश्रधाराका २० जनाभन्दा बढीले सडकमा सामूहिक धान रोपेर विरोध जनाएका हुन् ।
पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन बनेका छन् ।
विसं २०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारका रुपमा गत पुसमा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सञ्चालन नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छाँै,” उहाँले भन्नुभयो, “मन्त्रालयमा जानकारी गराएर बिरुवा–काराभानको जमानत जफतका लागि बैङ्कमा पत्राचार गरिएको छ ।”
विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । विसं २०७८ चैतसम्म थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागिसमेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको मङ्गला गाउँपालिका–२ का जीवन कार्कीले बताउनुभयो ।
सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तीव्र गति दिने बताउनुभयो ।
बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीनवटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दूरीको बेनीदेखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।
सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।
बर्दगोरियामा यसवर्ष पनि धान दिवस मनाइने
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यसवर्ष पनि धान दिवस मनाइने भएको छ । पालिकाको कृषि विकास शाखाको आयोजनामा यहि असार १५ गते धान दिवस मनाइने भएको हो । सरकारले वि.सं.२०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यसपालिको धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” रहेको छ । शाखा प्रमुख झङ्कर बहादुर रावतका अनुसार राष्ट्रिय धान दिवश मनाउने सरकारको कार्यक्रमअनुसार बर्दगोरियामा पनि असार पन्ध्रको दिन स्थानीय किसानको माझमा कार्यक्रमसहित दिवस मनाउने, दही च्यूरा खाने ,स्थानीय किसानलाई सम्मान गर्ने कार्यक्रम छ ।
दिवसका अवसरमा वडा नम्बर १ स्थित त्रिपुरा सुन्दरी कृषि फार्ममा विशेष कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा स्थानीय किसान, पालिकाका कर्मचारी ,विषयगत शाखा प्रमुख ,सबै जनप्रतिनिधिको उपस्थिति रहनेछ । यहाँको ३ हजार ३ सय ४४ विगाहा क्षेत्रफल मध्य २५ सय विगाहमा किसानले धान खेती गर्दै आएका छ्न । पालिकाले वडा नम्बर २ लाई मुख्यगरि धानखेतीको लागि पकेट क्षेत्र निर्धारण गरेको छ।
असार १५ को दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ ।
खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।
बौनिया । कैलालीको बर्दगोरोया गाउँपालिका वडा नम्वर ६ राजिपुरमा सिचाइको लागि डिप बोरिङ जडान कार्य शुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा डिप बोरिङ जडान कार्य शुरु भएको हो ।
डिप बोरिङ जडानको कार्य भने उपभोक्ता समितिमार्फत बिहिवार देखि निर्माण कार्य थालिएको हो । अबको केही दिनभित्र मै उक्त कार्य सम्पन्न हुनेछ । डिप बोरिङ जडान पश्चात् करिब ६ हेक्टर बढी जमिन सिंचित हुने बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।
अध्यक्ष थारुले भने – खेतीयोग्य फराकिलो जमिन भएर पनि सिंचाई सुविधा नहुँदा स्थानीय किसानहरु आकासेपानीको भरमा खेती लगाउन बाध्य थिए । अब डिप बोरिङ जडानको काम पुरा भएपछि त्यो समस्या समाधान हुनेछ । यसबाट व्यवसायीक रूपमा कृषि पेशा गर्नेलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।