काठमाडाैँ, २४ असार २०७८ ।
युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन भएकाे छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको हाे । कम्पनीले अहिले कायम रहेकाे जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको छ ।
कुल निष्काशन मध्ये५ प्रतिशत अर्थात् तीन लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका लागि छुट्याएकाे छ । सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्यार बाँकी रहेकाे ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
कम्पनीले २०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईपीओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले ट्रिपल बी (बीबीबी) रेटिङ पाएको छ ।
आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् ।
Breaking News: जैमिनीमा लकडाउन पुनः थपियो, बैंक तथा बित्तिय संस्थालाई यस्तो व्यवस्था
बागलुङ, ३१ जेठ २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी पुनः थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा असार ७ गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।
सोमबार बसेको सरोकारवालाहरुको बैठकले असार ७ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनाको आधारमा जैमिनीमा रहेका बैंक तथा बित्तिय संस्थाहरु आइतबार, मंगलबार, बुधबार र शुक्रबार खुल्ला हुनेछ ।
सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै असार ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।
बैंक खुलेसँगै कुश्मिसेरामा भिडभाड: काेराेनाकाे जाेखिम बढ्याे, सामान्य कामले पनि मानिसहरु आए
सुजन प्रेमी
बागलुङ, २६ जेठ २०७८ ।
बैंक खुलेसँगै बागलुङको कुश्मिसेरामा भिडभाड बढेको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा बुधबार बैंक खुलेसँगै भिडभाड बढेको हो ।
अत्यावश्यकका सेवाग्राहीहरुको लागि मात्रै सेवा दिन बैंक खुलेको भएपनि सामान्य काम लिएर आउनेहरुका कारण थप भिडभाड बढेको ग्लोबल आइएमई बैंक कुश्मिसेरा शाखाका शाखा प्रवन्धक हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।
बैंकको कार्यलय भित्र बैंकले भिडभाड हुन नदिएपनि बाहिरको भिड रोक्न प्रहरी प्रशासन पनि देखिएका छैनन् । कुश्मिसेरा प्रहरी चौकीले भिडभाड गर्न कुनै चासो नदेखाएको र बैंक खोल्ने जानकारी हुँदापनि सम्भावित भिडलाई कम गर्ने तयारी नगरेको बैंकहरुले गुनासो गरेका छन् ।
कुश्मिसेरामा सबैभन्दा बढि कारोवार हुने ग्लोबल आइएमई बैंक अगाडि बढि भिडभाड देखिएको छ । बैंक खुलेपछि मौका छोप्न खाता खोल्नेदेखि योजनाको काम गर्न बैंकमा आउनेहरुको संख्या बढेका कारण थप समस्या भएको शाखा प्रमुख पौडेलको भनाई छ ।
भिडभाडमा बुद्धिजिविहरु नै फाइल च्यापेर हिँडिरहेको कुश्मिसेरा बासीहरुले गुनासो गरेका छन् । कुश्मिसेरामा कोरोना जोखिम भएका ठाउँबाट पनि मानिसहरु आएको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।
जिल्ला प्रशासन कार्यलय बागलुङले निषेधाज्ञालाई खुकुलो पर्ने भन्दै आइतबार र बुधबार बिहान ७ बजेदेखि १० बजेसम्म बैंक खुल्ने निर्णय गरे अनुसार कुश्मिसेरामा रहेको राष्ट्रिय बाणिजय बैंक, ग्लोबल आइएमई बैंक र एनएमबी बैंकको कुश्मिसेरा शाखा खुलेका छन् ।
बागलुङ, १९ जेठ २०७८ ।
कोरोना संक्रमणका कारण लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) का समयमा आउने स्वास्थ्य र आर्थिक समस्यामा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यहरुको सारथी बन्ने नयाँ अभियान थालेको छ । शेयर सदस्य र तीनका परिवारहरुको फोन मार्फत अवस्था बुझ्ने र समस्या भएमा आवश्यक सहयोग र सहजीकरण समेत गरे पछि आदर्श सञ्चार सहकारीको यो अभियान प्रभावकारी बनेको हो ।
लकडाउनको समयमा संस्थाका शेयर सदस्यहरुलाई पर्न सक्ने समस्याको जानकारीका साथै कोरोनाबाट जोगिन अपनाउनु पर्ने सुझाव लिन संस्थाले शेयर सदस्यसँग सिधा सम्पर्क सहित परामर्श सेवा सञ्चालन गरेको थियो ।
सदस्यहरुलाई फोन गरेर, म्यासेञ्जरमा सन्देश पठाएर तथा फेसबुकमार्फत सञ्चो बिसञ्चो बुझेर समस्या परेको अवस्थामा सहजीकरण गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।
‘हाम्रा कर्मचारीहरुले घरमै बसेर आफ्नो मोबाइलमार्फत सदस्यहरुको स्वास्थ्य अवस्था र दैनिक घर व्यवहारमा परेका अप्ठ्याराका बारेमा पनि जानकारी लिइरहेका छन्, कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा सचेत बनाइरहेका छन्’ अध्यक्ष जिसीले भन्नुभयो, ‘लकडाउन लम्बिदो छ, आर्थिक लगायतका समस्या परेमा संस्थामा जानकारी गराउनुस् भनेका छौ, अभियान निकै प्रभावकारी देखिएको छ, स्वयम् संक्रमित भएका शेयर सदस्य र परिवारमा पनि संस्थागत अपनत्व र उत्साह थपिएको प्रतिक्रिया दिइरहेका छन् ।’
संक्रमित भएर या हुने सन्त्रासमा आफ्नै मान्छेहरु समेत तर्किने र सम्पर्कविहिन भइरहेको अवस्थामा आदर्शले गरेको सम्झना संकटमा अविस्मरणी भइरहेको प्रतिक्रियाले संस्था उत्साहित भएको संस्थाका प्रवन्धक दिपक सापकोटाले बताउनुभयो ।
संस्थामा आवद्ध २ हजार ७ सय जना शेयर सदस्यहरुलाई १५ जना कर्मचारीहरुले टेलिफोन गरेर स्वास्थ्य परामर्श लगायत आर्थिक समस्याका बारेमा जानकारी लिइएको र परामर्श कार्यक्रम प्रभावकारी भएको संस्थाले जनाएको छ ।
अभियानका बारे के भन्छन् शेयर सदस्य ?
सदस्यहरुका समस्याको पहिचान गरी आवश्यक सुझाव, सल्लाह र सहयोग गर्ने संस्थाको निर्णय अनुसार सञ्चालन गरिएको परामर्श सेवालाई लिएर सदस्यहरुले सामाजिक सञ्जालदेखि फोन मार्फत संस्थालाई धन्यवाद दिइरहेका छन् । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा कालिका भगवती गुठीका अध्यक्ष समेत रहनुभएका शेयर सदस्य राजु खड्काले आदर्शले संकटमा गरेको सम्झना सहितको फोन आउँदा सरकार बोले जस्तै लागेको बताउनुभयो । खड्काले आफ्नो फेसबुकमा स्टाटस लेख्नुभएको छ, ‘कोरोनाले मन भारी थियो, आदर्श सञ्चार सहकारीको फोनले आज टेलिकम मार्फत सरकार बोले जस्तै भयो । अहिलेको समयमा शेयर सदस्यको अवस्था बुझ्न र तपाईलाई कुनै आर्थिक कठिनाइ परेमा हामीलाई सम्झनु होला भनेर आएको फोनले उत्साह मिलेको छ, संस्थाको व्यवस्थापन उत्कृष्ट रहेछ ।’ संक्रमण र मृत्युको खबरले दिक्क बनिरहेको र परिवारका सदस्यका लागि आफू मेडिकल जादै गर्दा आएको आदर्शको फोनले स्वतः स्फूर्त उर्जा मिलेको उहाँको कथन थियो ।
संस्थाका शेयर सदस्य तथा रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापाले आफ्नो फेसबुक पेजमा आदर्शको कोरोना अवधिको अभियानका बारेमा लेख्नु भएको छ,– ‘कोरोना महामारीले हामी सबै आक्रान्त रहेको विषम परस्थितिमा हामी सबैलाई सही परामर्श तथा सान्त्वना आवश्यक छ । सानो सहयोग, सही परामर्श तथा सान्त्वनाले मनोबल बढ्न सक्छ, मानवको जीवन रक्षा हुन सक्छ, आदर्शले आफ्ना शेयर सदस्यलाई फोन मार्फत महामारीको अवस्थामा सदस्य र परिवारको स्वास्थ्य अवस्था, आर्थिक सहयोग आवश्यक भएमा सहयोग गर्ने जुन अभियान सञ्चालन गरेको छ, यो निकै प्रशंसनीय कार्य हो ।’
संस्थाका शेयर सदस्य तथा काठेखोला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष सीता सुवेदी खत्रीले साँच्चिकै आदर्श सञ्चार सहकारीले शेयर सदस्यप्रति देखाएको मायाले धेरै खुशी लागेको बताउनुभयो । ‘अहिले यो सहकारीको सदस्य भएकोमा निकै गर्व महुशुस भएको छ, रोग त आफ्नो ठाउँमा छ तर आदर्शले यस्तो अप्ठ्यारो अवस्थामा यसरी सम्झिँदा हामीहरु भोकले चाही मर्न पर्दैैन भन्ने भयो ।’
संस्थाले सञ्चालन गरेको अभियानका बारेमा धेरै शेयर सदस्यहरुले खुशी प्रकट गरेका छन् । सहकारी भनेको संकटको सारथी हो भन्ने अनुभूति भएको संस्थाका शेयर सदस्यहरुले बताएका छन् ।
कोरोना लकडाउनमा आदर्शको २५ हजार सापटी
संस्थाले स्वास्थ्य परामर्शसंगै लकडाउनका कारण पर्न सक्ने आर्थिक समस्यामा २५ हजारसम्म सापटी दिने अभियान सञ्चालन गरेको छ । स्वास्थ्य उपचार र खाद्यान्न समस्या भएमा सदस्यलाई प्रदान गरिने रकम करिव १ सय ५० जनाले प्राप्त गरेको संस्थाले जनाएको छ । संस्थाले सदस्यको खातामा रकम नभए पनि २५ हजारसम्म सापटी उपलब्ध गराउदै आएको छ ।
सूचना र सञ्चार क्षेत्रमा निरन्तर क्रियाशिल संस्थाले वित्तीय लगायत सहकारी र सञ्चार क्षेत्रको प्रवद्र्धनका कामहरु समेत गर्दै आएको छ । संस्थाले विगत १४ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक, २ वर्षदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ८ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।
सूचना समाचारमा मात्र होइन आदर्श सञ्चार, संकटमा पनि आदर्श सञ्चार भन्ने नाराका साथ कोरोना संक्रमणको समयमा संस्थाले सञ्चालन गरेको परामर्श सेवा र स्वास्थ्य उपचार तथा खाद्यान्नका लागि आर्र्थिक सहयोग अभियानमा सदस्यहरुको सहभागिताले थप उत्साहित बनाएको अध्यक्ष जिसीले बताउनुभयो । सदस्यहरुले सहकारीलाई थप प्रभावकारी बनाउन सुझाव समेत दिनु भएको छ । हामी सदस्यहरुका सुझावका आधारमा आगामी वर्षका लागि योजना बनाउने तयारीमा छौ, जिसीको भनाइ छ ।
धौलागिरी क्षेत्रकै पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३४ करोड बचत र ३३ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
लकडाउनमा पनि सबै बैंक तथा वित्तीय संस्थाहरू खुला रहने
काठमाडौँ, १६ बैशाख २०७८ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।
नेपाल बैंकर्स सङ्घका अनुसार निषेधाज्ञाको समयमा बैंकका साथै सबै वित्तीय संस्थाका शाखाहरू खुला हुने भएका हुन् । । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरीएकाे छ ।
बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न समेत आग्रह गर्नुभयो ।
सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
कोरोना विमाबाट पाएको रकम जैमिनी सस्कृत पाठशालालाई सहयोग
सुवास आचार्य
बागलुङ, ९ बैशाख २०७८ ।
बागलुङको एक सहकारीका कर्मचारीले कोरोना विमा मार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमा बापत पाएको रकम मध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका २ को जैमिनि सस्कृत आधारभूत पाठशालालाई सहयोग गर्नुभएको हो ।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार वराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटा र पाठशालाका प्रधानाध्यापक दिपक न्यौपाने लाई हस्तान्त्रण गर्नु भएको थियो । सो अवसरमा वोल्दै सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकोले सस्कृत भाषाको संरक्षण गर्नुपर्ने वताउनु भयो ।
सस्कृत पाठशाला अनुशाशीत विद्यार्थी उत्पादन गर्ने केन्द्र भएपनि सस्कृत शिक्षा प्रति आकर्षण कम हुनु दु:खद् पक्ष भएको वताउनुभयो । सहयोग रकम संस्थागत गर्न सघाउने उद्देश्यले पौडेलले सहकारीमा शेयर सदस्य बन्न लाग्ने नगद ४ हजार सहयोग हस्तान्त्रण गर्नु भएको थियो ।
सहयोग दाता न्यौपानेले कोभिड विमा मार्फत प्राप्त गरेको रकम कोरोना बाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताउनु भयो । देशका विभिन्न जिल्लाका २३ जना विद्यार्थीले आवसिय सुविधा सहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको उहाँको भनाई छ । सस्कृत भाषाको संरक्षण होस् भन्ने उद्देश्यले आफुले सहयोग गरेको न्यौपानेले वताउनु भयो ।
न्यौपानेले गरेको सहयोग रकम बाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताउनु भयो । विभिन्न दाताहरुको सहयोगकै भरमा पाठशाला सञ्चालन भैरहेकोले सहयोगलाई सस्थागत र दिको बनाउन अक्षयकोष निर्माण गर्ने सापकोटाले बताउनु भयो
आदर्श सञ्चार सहकारीद्वारा पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित पत्रकारलाई बधाई ज्ञापन
बागलुङ, ६ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको ७ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सहकारीले बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले आदर्श सञ्चार सहकारीसँग महासंघ सधै समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । आदर्श सञ्चार सहकारीले पत्रकारहरु उत्पादन मात्र नगरेर पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन समेत मद्दत गरेको उहाँकाे भनाइ छ । जिल्लामा रहेका क्रियाशील पत्रकारलाई प्रविधि मैत्री पत्रकार बनाउनका लागी आगामी दिनमा महासंघले महत्वपुर्ण भुमीका खेल्ने कँडेलले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी, भाबी योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराउन भएको थियो । उहाँले यो आर्थिक वर्षमा स्वास्थ्य, पर्यटन र कृषिको विषयलाई आदर्शले बढी जोडदिने बताउनु भयो । जिसीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सञ्चारका सामग्रीहरु खरिद गर्नका लागी सहकारीले सहुलियतमा ऋण उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।
बागलुङ, ५ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको हो ।
सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।
बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान र परिचालन गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने भएकाले यसका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।
मानिसको सबै भन्दा ठुलो सम्पत्ती स्वास्थ्य हो, स्वास्थ्य अवस्थालाई व्यवस्थित गराउनका लागि घरेलु स्रोतहरुको अधिकतम उपयोग गर्नु पर्छ, कार्यालय प्रमुख रायले भन्नुभयो– ‘रोग लागि सकेपछि उपचारका लागि दौडनु भन्दा रोग नै लाग्न नदिनका लागि खानपानमा घरेलु जडिबुडीको प्रयोगमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ ।’
हाम्रो क्षेत्रमा खेर गैरहेका औषधीजन्य जडिबुडीहरुको प्रयोगले रोग लाग्न नदिन र रोग लागिसकेपछि उपचारका लागि दीगो समाधान दिने भए पनि चेतनाको अभावले धेरै औषधीजन्य जडिबुटी त्यसै खेर गैरहेको उहाँको भनाइ छ । स्थानीय औषधीजन्य जडिबुटीहरुको पहिचान, उपयोग र परिचालनका विषयमा रायले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले सदस्यहरुको आर्थिक विकासका लागि स्वास्थ्य सतर्कता आवश्यक रहेको बताउनुभयो । सहकारीले पूँजि परिचालनसंगै स्वास्थ्य सचेतना र उपचारमा समेत प्रभावकारी काम गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा सहकारीहरुको ध्यान पुग्नु पर्नेमा उहाँको जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले सहकारीमार्फत स्थानीय उत्पादन बढाउन, स्थानीय वस्तुहरुको उपयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।
शेयर सदस्यहरुको तर्फबाट बोल्दै समाजसेवी शेर बहादुर खनालले आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार, वचत तथा ऋणसंगै सदस्यहरुको नेतृत्व विकास, क्षमता विकास लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको र पछिल्लो समय स्वास्थ्य सचेतना र स्थानीय स्रोतको परिचालनका लागि सञ्चालन गरेको अभियानबाट आफु प्रभावित भएको भन्दै संस्थाको उन्नती प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बागलुङ, २७ चैत २०७७ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सदस्य सेवा केन्द्र कुश्मिशेराले शान्ति माध्यामिक विद्यालयमा सिवाइसी सहकारी क्लब गठन गरेको छ । बागलुङ जिल्लाको अग्रणी सहकारीको रुपमा रहेको सिवाईसी साकोसले विहिवार जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा अवस्थित शान्ति माविमा सात सदस्यीय सिवाइसी सहकारी क्लब गठन गरेको हो ।
क्लवको संयोजकमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्तम परियार, सह सयोजकमा प्रतिक थापा, सचिवमा शुवेक्षा विक रहनुभएको छ ।
सदस्यहरुमा दीक्षा पुन, बिनिता नेपाली, प्रतिक नेपाली र ईनाम जिसी रहनुभएको सिवाईसी साकोस जैमिनी सदस्य सेवा केन्द्रका संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभयो ।
क्लवको संरक्षकमा सोही विद्यालयका प्रधानध्यापक याम बहादुर जिसी र फोकल शिक्षकको रूपमा शिक्षक लिलाधर पौडेललाई चयन गरिएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराको संयोजक कृष्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक यम बहादुर जिसीले सिवाईसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराले सहकारी क्लब गठनलाई शान्ति मावि चयन गरेकोमा आभार व्यक्त गर्दै संस्थाले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले सहकारी क्लवको माध्यमबाट शिक्षामा योगदान गर्न थप सहज हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराका परामर्शदाता क्याप्टेन पदम बहादुर श्रीसले कार्यक्रमको वारेमा जानकारी दिँदै सिवाईसी साकोस सहकारी क्लब गठन गर्नुको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो ।
काठमाडौँ, २३ चैत २०७७
आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ । कूल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार बराबर भएको छ ।
कारोवार भएका कूल १३ मध्ये आज सात उपसमूहको शेयर उकालो लागेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ बिन्दुले ओरालो लागेको छ ।
यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ७५ लाख ६८ हजार ९३ बराबरको कारोवार भयो ।
यस्तै, आइएमई जनरल इन्स्योरेन्स रु ३१ करोड ३४ लाख ९६ हजार १७४, नेपाल पूर्वाधार बैंक रु २८ करोड ९४ लाख ६३ हजार ८२८, हिमालयन जनरल इन्स्योरेन्स रु २५ करोड २५ लाख ५२ हजार २९०, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड पाँच लाख ५० हजार ६२९, नबिल बैंक रु १५ करोड ५६ लाख ३९ हजार ६१९, चन्द्रागिरि हिल्स रु १५ करोड १८ लाख ९२ हजार १९६, एनआइसी एशिया बैंक रु १५ करोड एक लाख ६१ हजार १२९, नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए ।
यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ ।