काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।
विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो।
घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ।
देशभर ग्यासको अभाव ,यस्तो छ कारण
काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ ।
बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ । गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ ।
चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ । बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ ।
पहुँच हुनेहरूले भने ग्यास विक्रेतालाई बढी पैसा बुझाएर छिटै पाउने गरे पनि निम्न आय भएका सामान्य वर्गका उपभोक्तालाई अझै एक सिलिन्डर ग्यास पाउन निकै सास्ती भोग्नुपरिरहेको अवस्था छ । हाल ग्यास लिन जाने उपभोक्तालाई विक्रेताले सिलिन्डर छोडेको एकदेखि डेढ साताभित्रमा मात्र ग्यास दिन सक्ने बताउँदै आएका छन् ।
यही अभावको मौका छोपेर केही विक्रेताहरूले आफूसँग भएका ग्यास लुकाउने र थप कृत्रिम अभावको बहाना बनाएर उपभोक्तालाई अनावश्यक दुःख दिने र बढी पैसा असुल्ने काम गरिरहेका छन् ।
ढुवानी कमिसन बढाउन माग राख्दै आन्दोलित भएका व्यवसायीले गत ५ देखि १५ चैतसम्म ग्यास ढुवानी नै रोकेका थिए । त्यसको प्रभाव अहिलेसम्म बजारमा देखिइरहेको आमउपभोक्ताको गुनासो छ ।
गत महिना आन्दोलनरत व्यवसायीले पेट्रोल–डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै समायोजन गर्नुपर्ने माग राखेर पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बन्द गरेका थिए ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले आगामी साताबाट बजारमा ग्यास आपूर्ति व्यवस्था सहज हुने बताए । सकेसम्म छिटो सहज बनाउन आपूmहरू लागिपरेको बताउँदै मल्लीले भने, ‘अबको दुई÷चार दिनमा बजारमा ग्यासको अभाव हट्नेछ ।’
व्यवसायीको आन्दोलनका कारण गत चैतमा १० दिनसम्म ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो । सोही आन्दोलनको प्रभावका कारण अहिलेसम्म ग्यासको अभाव कायमै रहेको उनले बताए ।
अहिले ग्यासको आयात बढेर आउन थालेको जानकारी गराउँदै उनले हाल पहिलेभन्दा करिब २० प्रतिशत बढी आयात भइरहेको बताए । संघका अध्यक्ष मल्लीका अनुसार हाल दैनिक १ सय २० देखि १ सय २५ वटा ग्यासको बुलेट आइरहेको छ । यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो । गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएकाले त्योबेला चाप भएको माग धान्न अझै केही समयका लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले जानकारी दिए ।
काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ५०० ले घटेर रु एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला रु एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ले घटेर रु एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।
अनलाइन बाटै पेन्सन पट्टाको तयारी
काठमाडौँ। अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ ।
किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको हो । राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने हो; सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी दिने र कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइनेछ ।
सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको हो । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि विस्तृत विवरण कम्युटरमा निश्चित कोड नम्बर हानेपछि प्राप्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “अबको एक वर्षमा ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइरहेको छौँ ।”
ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विज्ञका रूपमा काम गरिरहनुभएको छ । उहाँले कर्मचारीका सबै कागजात ई–फाइलिङ गर्न लागिएको बताउँदै आगामी दिनमा अवकाश हुने कर्मचारीको ई–फाइलिङ तयार हुँदै जाने जानकारी दिनुभयो ।
“विद्युतीय माध्यमबाट नै कागजात पठाउने कर्मचारीले किताबखाना, कोलेनिका र निवृत्तिभरण कार्यालय धाइरहनुपर्ने अवस्था हँुदैन,” उहाँले भन्नुभयो, “सबै कर्मचारीको अनलाइनमार्फत कागजात आएपछि कसैले भनसुन गर्नुपर्दैन । सबै कर्मचारीले न्याय पाउने छन् । खर्च पनि कम हुनेछ ।” अहिले निजामती सेवामा मात्र एक लाख कर्मचारीले पेन्सन लिने गरेको किताबखानाले जनाएको छ ।
विसं १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो । सङ्घ, प्रदेश र स्थानीय तहका गरी अहिले एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । यो खवर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दवाब
काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् । व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।
व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् ।
गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बिदाई हुँदै गर्दा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए ।
नेम्वाङले मन्त्रीस्तरीय निर्णय गर्दै यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेका थिए । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।
उपभोक्ताकर्मी प्रयोगकर्तालाई मारमा पर्नेगरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गर्न नहुने बताउँदै आएका छन् भने हालै मात्र वृद्धि गरिएको भाडा पुनः बढाउन नहुने बताउने गरेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले नेपाल आयल निगमले घाटामा रहेको भन्दै पटक पटक पेट्रोलियम पदार्थ वृद्धि गर्नुभन्दा पनि सरकारले पेट्रोलियम पदार्थमा लगाएको महँगो कर घटाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् । सरकारले प्रतिलिटर पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा ५८ रुपैयाँ कर लिने गरेको पाइएको छ ।
नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्य वृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । व्यवसायीले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत बढी रहेको बताएका छन् । यो खबर आजको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
बौनिया । बेरोजगार युवायुवतीलाई आर्थिक रूपमा सबल पार्न
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले सीपमुलक व्याण्डबाजा सहितको तालिम प्रदान गरेको छ । आर्थिक तथा सामाजिक हिसाबले न्यून आयस्तर भएका युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यका साथ सीपमुलक व्याण्डबाजा सहितको तालिम प्रदान गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो ।
विशेषगरि थारु समुदायको मौलिक संस्कृतिसँग जोडिएको व्याण्डबाजाको संरक्षण,पहिचानका र यसको प्रयोग र संरक्षणबाट पुग्ने आर्थिक विकासलाई गरिब ,विपन्न तथा बेरोजगार युवायुवतीको जिवनस्तर संग जोडी उनीहरूलाई सबल बनाउन यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय थारु समुदायको मौलिक संस्कृति बोकेको बाजा हराउन थालेको अवस्थामा कला र संस्कृतिको संरक्षणको निम्ति समेत यसले ठूलो फाइदा पुग्ने आशा लगिएको छ । थारु समुदायमा गाउँदेखि सहरसम्म विवाहदेखि भोजभतेरसम्म व्याण्डबाजा निकै प्रयोग हुने गर्दछ ।
परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ । यसैको अपनत्व गरि वडा नम्बर ६ का युवाहरूलाई एक समुह (कल्व) गठन गरि उनीहरूलाई सीप मुलक ब्याण्डाबाजा सहितको तालिम दिइएको वडा अध्यक्ष थारुले बताउनुभयो ।
“हामीले बेरोजगार युवायुवतीलाई आर्थिक रुपले सक्षम बनाउन यहाँका युवाहरूलाई समुहमा आबद्ध गराई व्याण्डबाजा सहितको सीप मुलुक तालिम दिएका छौ ,वडा अध्यक्ष थारुले भन्नुभयो यसको राम्रो व्यवस्थापन र संरक्षणको जिम्मेवारी समेत युवा समुहको हातमा छ । हामीलाई आशा र भरोसा छ, वडा अध्यक्ष थारुले व्याण्डबाजा हस्तान्तरण गर्दै भन्नुभयो – यसको प्रयोग बाट तपाईहरु राम्रो आम्दानी गर्न सक्नुहुनेछ ।
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाए पछी नेपाल आयल निगमले मूल्य वृद्धि गरेको हो ।
नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाएको हो । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।
नमूना ग्रामीण विद्युत सहकारीको साधारणसभा सम्पन्न ,सेयर सदस्यलाई लाभांश कोषबाट आयोनुन र साबुन
मुडा। कैलालीको बर्दगोरिया गाउँपालिका ४ नौनियामा संचालित नमूना ग्रामीण विद्युत सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष महावीर साउदको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ४ का वडाअध्यक्ष पुरन सिंह बीसी प्रमुख अतिथि रहेका थिए । यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य भोजराज डगौरा, चन्द्रा विक, राजकुमारी डगौरा थारु, पुष्कर बिक लगाएत रहेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को कुल ३७,५६,८४९ र ०७८ पौष मसान्तसम्मको ३२,०७,०१५ बराबरको आयव्यय प्रस्तुत गरि अनुमोदन गरिएको थियो ।
कार्यक्रममा संस्थाको लाभांश कोषबाट हरेक सेयर सदस्यलाई एक चक्की लाइफब्वाय साबुन र एक पोका आयोनुन वितरण गरिएको संस्थाका अध्यक्ष साउदले जानकारी दिनुभयो । संस्थामा हालसम्म ६ सय ६४ जना सेयर सदस्य (उपभोक्ता) छ्न ।कार्यक्रमको संचालन संस्थाका सचिब वीरेन्द्र बहादुर थाडाले गरेका थिए ।
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मंगलबार (१८ माघ) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ आठ पैसा र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ आठ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ११ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७४ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९७ पैसा र बिक्री दर ८४ रुपैयाँ ३९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८५ पैसा र बिक्री दर नौ रुपैयाँ ९० पैसा कायम भएको छ ।
काठमाडौ मनपाले किन्यो बीस तलासम्म आगो निभाउने दमकल
काठमाडौँ,। काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।
महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।
जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । “वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भन्नुभयो ।
यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।
साँघुरा सडक भएर आगो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले भन्नुभयो । उहाँले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको भन्नुभयो ।
“काठमाडौँ महानगरपालिकाले १० तल्लामाथिका भवन बनाउन स्वीकृत दिएको छ”, प्रवक्ता डङ्गोलले थप्नुभयो, “त्यहाँ हुन सक्ने जोखिमका कुरालाई ध्यानमा राखेर २० तलासम्ममा लागेको आगो निभाउन वारुणयन्त्र खरिद गरेका छौँ ।” कोभिड अथवा अरू कारणले रोकिएन भने आउँदो फागुनभित्र वारुणयन्त्र काठमाडौँ आइपुग्ने हिसाबले तयारी भइरहेको डङ्गोलले स्पष्ट पार्नुभयो ।
काठमाडौँ महानगरपालिकाको चौथो नगर सभाले तीन वर्षअघि महानगर सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ पारित गरेसँगै दमकल किन्ने बाटो खुला भएको थियो । सोही नगर सभाले वारुणयन्त्र खरिद गर्न १३ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको थियो । (गोरखापत्र दैनिकबाट)